इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा ५ नम्बर क्षेत्रका उम्मेदवार बालेन शाहको लोकप्रियता सुनसरीमा समेत देखिएको छ। बुधबार बिहानैदेखि मोरङ र सुनसरीका विभिन्न शहरमा आइपुगेका बालेनलाई हेर्नका लागि मात्र भए पनि सडक जाम भएको थियो।
बालेन मोरङको उर्लाबारी, सुनबर्सी, रंगेली, विराटनगर हुँदै सुनसरीको इटहरी आइपुगेका थिए। इटहरीमा बालेनका समर्थक र रास्वपाका कार्यकर्ताहरू उनको स्वागतका लागि सडक अवरोध गरी भेला भएका थिए, जसका कारण पूर्व–पश्चिम राजमार्ग केही समय जाम हुन पुगेको थियो। समर्थक र कार्यकर्ताको भिड नियन्त्रण गर्न सुरक्षा निकायलाई ह्म्मेह्म्मे पर्यो।
इटहरी आएका बालेनले सुनसरी र मोरङका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारसँग भेटघाट समेत गरे। उनले देशव्यापी रूपमा रास्वपाको माहोल राम्रो बनेको बताउँदै उत्साहजनक रूपमा मतदाताहरूमाझ पुग्न र जित हासिल गर्न उम्मेदवारहरूलाई सुझावसहित शुभकामना दिए।
इटहरीको पाल्पसा होटलमा खाना खाएर बालेनले सुनसरी र मोरङका उम्मेदवारसँग छोटो अन्तरक्रिया गरे। अन्तरक्रियापछि उनी इटहरी हुँदै सुनसरी सदरमुकाम इनरुवा जाने कार्यक्रम तय भए पनि सडकमा समर्थक र कार्यकर्ताहरूको अत्यधिक भिडका कारण उनी चतरा हुँदै उदयपुर जिल्ला लागे।
सुनसरीमा बालेनलाई स्वागत गर्न र हेर्नका लागि मात्र भए पनि भेला भएको भिड झापापछिको सबैभन्दा ठूलो रहेको दाबी गरिएको छ । इटहरी मुख्य चोकदेखि पश्चिम टेप्पे स्ट्यान्डसम्मको भिड छिचोल्न बालेनको सवारीलाई एक घण्टाभन्दा बढी समय लाग्यो।
बालेनलाई हेर्न र स्वागत गर्न जम्मा भएका समर्थक र कार्यकर्ताहरूले आगामी प्रधानमन्त्री बालेन शाह नै हुने प्रतिक्रिया दिए। पुराना दलका कारण देश भ्रष्टाचार र गरिबीमा डुबेको र तिनै नेताहरूलाई यो निर्वाचनले सबक सिकाउने उनीहरूको भनाइ छ। जनता सबैभन्दा ठूलो शक्ति भएकाले जनतालाई दुःखकष्ट दिने दल र नेताहरूको अस्तित्व सकिने र नयाँ वैकल्पिक दलको उदय हुनेमा आफूहरू विश्वस्त भएको समर्थक र कार्यकर्ताहरूको धारणा थियो।
यता, सुनसरीको इनरुवामा समेत बालेन पुग्ने कार्यक्रम तय भएको थियो। तर समर्थक र कार्यकर्ताको अत्यधिक भिडले पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमनमा अवरोध हुने भएपछि उनी चतरा हुँदै उदयपुर जिल्ला लागेको रास्वपा सुनसरीले जनाएको छ।
जिल्ला दौडमा सुनसरी आएका बालेन शाहले कतै पनि सम्बोधन गरेनन्। उनी चढेको गाडीमाथिबाट नै आफ्नो पार्टी रास्वपाको घन्टी हल्लाएर बालेनले समर्थकहरूको स्वागत ग्रहण गरेका थिए ।




















