इटहरीः धेरै जसो पृथक कार्यक्रम गरेर देशभरी नै सन्देश प्रवाह गर्दै आएको इटहरी १६ हर्दियामा रहेको बालग्राम टोल विकास समितिले संभवत नेपालमै पहिलो पटक बुधबार मतदातासँग उम्मेदवार अन्तरक्रिया कार्यक्रम गरेको छ ।
आउने २१ फागुनमा सम्पन्न हुन गईरहेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट बिभिन्न पार्टी र स्वतन्त्र गरि उम्मेदवारी दिएका २८ जना उम्मेदवारहरुलाई मतादाताहरुसँग प्रत्यक्ष संवाद गराउने उद्धेश्यले बालग्राम टोल विकास समितिले यस्तो खालको कार्यक्रमको आयोजना गरेको हो ।
बोलाइएका २८ उम्मेदवारहरु मध्ये १२ जना उम्मेदवारहरु मात्र जनतासंग प्रत्यक्ष संवादमा सहभागी भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), श्रम संस्कृति पार्टी लगायतका १६ जना प्रत्यक्ष तर्फका उम्मेदवारहरु जनतासंगको संवादमा सहभागी भएनन् ।

अन्तरक्रिया कार्यक्रम शान्तिपुर्ण, अनुशासित र सौहार्दपुर्ण तरिकाले भब्यरुपमा सम्पन्न भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका तर्फबाट सुनसरी २ बाट प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवारी दिएका सुजन लामा, उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवारी दिएका गोपाल तामाङ, जनमत पार्टीका उम्मेदवार महावीर मेहता, राप्रपाका दिनेश बस्नेत, नेपाली कांग्रेसका राजीव कोईराला, नेकपा संयुक्तका अतित नेपाल, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट ताजिना बिष्ट, राष्ट्रिय मुक्ति पार्टीबाट सन्तोष कुमार मेहता, जसपाका रामचन्द्र मेहता, स्वतन्त्रबाट फरक क्षमता भएका उम्मेदवार देवेन्द्र पौडेल, नेकपाकी रामकुमारी चौधरी र राष्ट्रिय निर्माण दल नेपालबाट आदित्य आर्चाय सहभागीभई मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए ।

अन्तरक्रियामा सहभागी सबै उम्मेदवारहरुले बालग्राम टोल विकास समितिले नेपाल नौलो कार्यक्रमको थालनी गरि मतदाताहरुका सामु वहाँहरुकै साँझ प्रश्नमाथि बहस र संवादमा सहभागी गराएकोमा आयोजक समितिलाई धन्यवाद समेत दिएका थिए ।
बालग्राम टोल विकास समितिले सुनसरी २ का समग्र मतदाताहरुबाट आएका साँझ प्रश्नलाई एकतित्र गरि सहभागी १२ जना उम्मेदवारलाई जवाफ मागेको थियो ।
मतदाताबाट आएका प्रश्नहरुलाई विज्ञ कहाँ पठाई साँझ मुद्धाका साँझा प्रश्न बनाई अन्तरक्रियामा सहभागी उम्मेदवारहरुलाई सोध्नुका साथै मतदाताबिचमा आफ्ना पूरा गर्ने प्रतिवद्धता राख्ने अवसर प्रदान गरिएको थियो ।
विज्ञमार्फत टोल विकास समितिले फाइनल गरेका दिर्घकालिन दृष्टि, शिक्षा र स्वास्थ्य, कृषि र रोजगार, भ्रष्टाचार र सुशासन, विकासका हार्डवेयर र सफ्टवेयरका पक्षहरु , निर्वाचित भएपछि आफ्ना क्षेत्रमा गर्ने विकासका योजनाहरु लगायतका प्रश्नहरु सबै उम्मेदवारहरुलाई राखिएको थियो । हरेक उम्मेदवारलाई बुँदागत रुपमा १० मिनेटभित्र आफ्ना धारणा र प्रतिवद्धता व्यक्त गर्न समय प्रदान गरिएको थियो ।

उम्मेदवारहरुले पार्टी र आफ्ना विचारहरु समयसिमा भित्र नै रहेर राखेका थिए । सहभागी मतदाताहरुका लागि लिखित रुपमा अन्तरक्रिया भईरहेको स्थलबाटै लिने काम समेत गरिएको थियो ।
मतदातासँग उम्मेदवार अन्तरक्रिया कार्यक्रमलाई दुईचरणमा सम्पन्न गरिएको थियो । पहिलो चरणमा उद्घाटन गरि समितिको परिचयसँगै उसले गरेका कार्यहरुको संक्षिप्त जानकारी सहित कार्यक्रममाथि प्रकाश पार्ने कार्य समितिका अध्यक्ष तथा अन्तरक्रिया कार्यक्रमका सभापति लोकबहादुर बिष्टले प्रस्तुति दिएका थिए । अन्तरक्रियामा सहभागी उम्मेदवार र मतदाताहरुलाई समितिका उपाध्यक्ष लक्ष्मिप्रसाद बन्जराले स्वागत गरेका थिए । अन्तरक्रिया कार्यक्रमको उद्घाटन बिषेश अतिथि माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले व्यानर पढेर गरेकी थिइन् । अन्तरक्रिया किन गर्न पर्यो भन्ने बिषयमा समितिका सल्लाहाकार बासुदेव निरौंलाले आफु र आम जनताले भोगेका साँझ भोगाईलाई उदाहरणका रुपमा प्रस्तुत गर्दै थप प्रकाश पारेका थिए ।
अन्तरक्रिया कार्यक्रमको पहिलो चरणको उद्घाटन शत्रको संचालन समितिकी सचिव तारा लुईटेलले गरेकी थिइन् ।

पहिलो चरणको कार्यक्रम पछि दोस्रो चरणको मुल अन्तरक्रिया कार्यक्रमको सहजकर्ताका रुपमा समितिका निर्वतमान अध्यक्ष देवीप्रसाद भट्टराईले भूमिका निर्वाहा गरेका थिए । अन्तरक्रिया कार्यक्रममा सहभागी मतदाताहरुबाट लिखित जिज्ञासा संकलन कार्यको सहजिकरण देवराज अधिकारी र शान्तिराम अधिकारीले गरेका थिए ।
फागुन २ गते नै मतदातासँग उम्मेदवार अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने योजना अनुसार शान्ति सुरक्षासँगै अनुमतिका लागि इलाका प्रहरी कार्यालय पकलीमा निवेदन दिएपनि कार्यालय प्रमुखले शान्ति सुरक्षाको ग्यारेण्टी गर्न नसक्ने भन्दै पन्छिएका थिए । तर, सुनसरीका प्रमुख जिल्ला अधिकारीले ६ गते अर्थात बुधबारका लागि अनुमति प्रदान गरि इलाका प्रहरी कार्यालय पकलीलाई पत्राचार गरेका थिए । पत्राचारपछि शान्तिपूर्ण रुपमा कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रमलाई सफल बनाउन विभिन्न सामाजिक संस्था र टोल बिकास संस्थाहरुले स्वयंसेवकको भुमिकामा सहयोग पुर्याएका थिए ।अन्तरक्रिया कार्यक्रमको प्रत्यक्ष प्रशारण प्रदेश पोर्टल डटकमको आधिकारिक फेसबुक पेंजबाट गरिएको थियो । अन्तक्रिया कार्यक्रमको भिडियो अहिले तपाईले प्रदेश पोर्टलको फेसबुक पेंजमा गएर हेर्न र सुन्न सक्नु हुने छ ।























