इटहरीः नेकपा एमालेले सुनसरी क्षेत्र नं २ बाट सुजन लामालाई चुनावमा उठाएको छ । यो त्यही ठाउँ हो, जहाँबाट नेकपा एमालेले जित हाँसिल गर्दै आएको थियो । यस क्षेत्र अन्तर्गतका पालिकामा पनि एमालेको राम्रो उपस्थिती छ । त्यस्तै अहिले एमालेभित्रको गुट विवाद नभएको र पार्टी एकढिक्का भएकोले पनि जित निकाल्न सकिने भन्दै एमाले उत्साहित छ । युवा संघ कोसी प्रदेश संयोजक लामाको यो पहिलो चुनाव हो । त्यसैले उनी आफूलाई नयाँ, युवा र थोरै बोलेर धेरै काम गर्ने उम्मेदवारका रुपमा परिचय गराउँछन् ।
यस्तो छ, सुनसरी क्षेत्र नं २ मा एमालेको अवस्था
अघिल्ला चुनावबाट उत्साहित
२०७९ मा भएको निर्वाचनमा एमालेका भीम आचार्यले ३२ हजार २४ मत ल्याएर जित निकाल्दै गर्दा नेपाली काँग्रेसका रामप्रसाद महतोले २६०६८ मत ल्याएका थिए । पहिलो पटक चुनावमा होमिएको रास्वपाका लालबिक्रम थापाले १९ हजार ३९१ मत ल्याएका थिए । यस्तै चौथो बनेको राप्रपाले ४२६९ मत ल्याएको थियो ।
त्यसअघि २०७४ को चुनावमा भने नेपाली काँग्रेसका सीताराम महतोले सर्वाधिक ४१४९५ मत ल्याएर चुनाव जितेका थिए । नेकपा एमालेले सघाएका माओवादीका डम्बर (हिमाल) सुवेदीले दोस्रो सर्वाधिक मत ३५३४९ ल्याए भने फोरमका तेजनारायण चौधरीले ४८३४ मत ल्याएका थिए । त्योभन्दा अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट एमालेका धर्म निरौलाले जित हात पारेका थिए ।

स्थानीय तहमा दह्रो उपस्थिती
यस निर्वाचन क्षेत्रअन्तर्गत पाँच वटा पालिका पर्छन् । सुनसरी निर्वाचन क्षेत्र नं २ अन्तर्गत देवानगञ्ज गाउँपालिकाको सबै ७ वटा वडा, हरिनगर गाउँपालिकाको वडा नं ३, रामधुनी नगरपालिकाको वडा नं १, २, ३, ५, ८ र ९, इनरुवा नगरपालिकाको वडा नं १, २, ५, ६, ९ र १० तथा इटहरी उपमहानगरपालिकाको वडा नं १ देखि ५ तथा १६–२० समेटिएको छ । जम्मा ३० वटा वडा पर्ने यो निर्वाचन क्षेत्रमा एक लाख ५८ हजार मतदाता छन् ।
जसमा सबैभन्दा धेरै जनसंख्या भएको इटहरी र रामधुनी नगरपालिका एमाले मतदाता बढी भएको ठाउँ हो । यो क्षेत्रको जितको टुंगो यिनै पालिकाले लगाउँछन् । यस्तै इनरुवामा पनि राम्रो मत एमालेको छ । त्यसैले यो क्षेत्रमा एमाले मतदाताको संख्या बढी छ ।
एक भएको एमाले
तर एमालेको मुख्य समस्या गुटगत भोट हो । अघिल्लो पटक पनि भीम आचार्य उठ्दा एमालेको एउटा समुहले भोट दिएन । तर पनि उनले भारी मतका साथ जित हात पारे । स्थानीय चुनावमा पनि यस्तै हुँदै आएको छ । एमालेजनहरु भन्छन्, ‘एमालेका कटिबद्ध कार्यकर्ताहरुले भोट दिने हो भने धेरै राम्रो मतले चुनाव जित्छौं ।’

यो पटक भने गुटगत लडाई देखिँदैन । उम्मेदवार सुजन लामालाई जिताउनका लागि सबै नेताहरु एक ठाउँमा उभिएका छन् । अघिल्लो पटकको जस्तो टिकटको लडाई यो पटक भएन । जसले गर्दा ‘टिकट पाएका सुजनलाई असहयोग गर्ने कुनै कारण एमालेमा छैन,’ व्यक्तिहरु असन्तुष्ट भएपनि समुह नै असन्तुष्ट नभएको दावी गर्दै एक एमाले नेता भन्छन्, ‘यो पटक पार्टी विभाजन छैन ।’
भ्रष्टाचारविरोधी छवि बनाएका एमाले पुर्वमेयर छन् ढुक्क
चुनावी कमाण्डर तोकिएका इटहरीका पुर्वमेयर तथा सुनसरीका पुर्व एमाले अध्यक्ष द्वारिकलाल चौधरी सुजनले अघिल्लो पटकको भन्दा बढी मत ल्याउने दावी गर्छन् । ‘एउटा त युवा, त्यसमाथि एमालेको उम्मेदवार धेरै भाषण गर्ने होइन, काम गर्ने उम्मेदवार चाहिएको हो पार्टीलाई,’ उनी भन्छन्, ‘पहिलेभन्दा बढी मत ल्याएर एमालेले यो क्षेत्रमा चुनाव जित्छन् ।’
चौधरी इटहरीका मेयर हुँदा भ्रष्टाचारविरोधी छवि बनाएका कारण चर्चित थिए । उनको लोकप्रियता अघिल्लो पटकको निर्वाचनमा उनी प्रदेश सांसद उठ्दासमेत देखिएको थियो । त्यतीबेला उनी माओवादीबाट उठेका थिए । माओवादीले ११८५२ मत ल्याएर तीन हजार मतले एमालेका पुर्व सभासद् रेवतीरमण भण्डारीसँग पराजित भएका थिए ।

सुजन भन्छन्, ‘काम गर्छु, निराश बनाउँदिन’
यता उम्मेदवार सुजन लामा आफूले मौका पाए काम गर्ने र निराश नबनाउने बताउँछन् । ‘मैले अहिलेसम्म पार्टीमा पाएको जिम्मेवारी कुशलतापूर्वक दिन रात गरी निभाएको छु,’ उनी भन्छन्, ‘अब यस क्षेत्रका एमाले मतदाताहरुले र समग्र मतदाताहरुले मलाई जिताउनुभयो भने मनै लगाएर काम गर्छु ।’
उनले भाषण गर्ने भन्दा पनि काम गर्ने नेता मतदाताले चाहेको बताउँदै आफू काम गर्नकै लागि अघि सरेको बताउँछन् । ‘नयाँ र युवा भन्ने कुरा आइरहँदा म नयाँ उम्मेदवार हुँ र युवा पनि छु,’ उनी भन्छन्, ‘विद्यार्थी, युवादेखि ज्येष्ठ नागरिकहरुको भावना बुझ्छु र जसरी हुन्छ, आफ्नो क्षेत्रको विकासका लागि मतदाताले दिएका एजेण्डा र समस्या बोकेर लबिङ गर्छु ।’
यस्ता छन् अन्य दल र उम्मेदवार
यो निर्वाचन क्षेत्रमा अघिल्लो चुनावमा तेस्रो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति अहिले आकर्षण बढेको देखिन्छ । यस क्षेत्रमा रास्वपाका प्रदेश महामन्त्री लालविक्रम थापा उम्मेदवार छन् । जसले अघिल्लो चुनावमा तेस्रो स्थान ल्याएका थिए । व्यक्ति भन्दा पनि चुनाव चिन्हका कारण उनले लोकप्रिय मत ल्याएका थिए ।
यो पटकको चुनावमा थापा केही विवादका कारण नैतिक दबाबमा छन् । जनता स्कुलको जग्गा भाडामा लिएर नतिरेको कारण उनी मुद्धासमेत खेपिरहेका छन् । यस्तै पछिल्लो एक कार्यक्रममा रामधुनी र इनरुवालाई हेप्ने गरी अभिव्यक्ति दिएको भन्दै उनको आलोचना भएको छ । जसका कारण व्यक्ति हेरेर भोट दिने मतदाताले उनलाई सजिलै नपत्याउने देखिएको छ । यस्तै रास्वपाभित्र अन्तरविरोध समेत देखिएको छ ।
यता नेपाली काँग्रेस विगतमा यो क्षेत्रको अर्को ठूलो पार्टी हो । अहिले अनुभवी राजनीतिज्ञ र काँग्रेस सुनसरी दुई कार्यकाल सभापति भएका उनी पुर्व प्रदेश सांसदसमेत हुन् । काँग्रेसभित्र अन्तरविरोध अहिले नभएको काँग्रेस नेता बताउँछन् । तर उनलाई उनकै नगर इनरुवा र रामधुनीमा स्वतन्त्र उम्मेदवारहरुबाट समस्या छ भने रास्वपामा जाने शुभेच्छुक मतदाता जोगाउन गाह्रो पर्ने देखिन्छ ।
यस्तै नेकपाबाट पुर्व सांसद तथा पुर्व राज्यमन्त्री रामकुमारी चौधरी उम्मेदवार छिन् । उनी पुर्वसांसदसमेत हुन् । अघिल्लो चुनावहरुलाई हेर्ने हो भने यस क्षेत्रमा नेकपाको मत त्यती देखिँदैन । तर यो पटक अघिल्लो चुनावको अंक गणितले काम नगर्ने नेकपा नेता केशव विष्टले बताउँदै आएका छन् ।
यस्तै इटहरीको केही वडामा सक्रियता देखाएको श्रम संस्कृति पार्टीबाट चेतन राई उम्मेदवार छन् । कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपालबाट इटहरी वडा नं ३ का गोपाल तामाङ उम्मेदवार छन् । सम्भवतः उनी कान्छा उम्मेदवार हुन् ।




















