मोरङ । मोरङको सुन्दरहरैचा–४ का ५० भन्दा बढी जेनजी युवाहरू नेपाल तरुण दलमा आबद्ध भएका छन्। नेपाल तरुण दल सुन्दरहरैचा–४ र नेपाली कांग्रेस युवा परिचालन समिति क्षेत्र नं. ६ को आयोजनामा सम्पन्न टोल प्रचार–प्रसार समिति गठन कार्यक्रममा युवाहरू स्वस्फूर्त रूपमा संगठनमा जोडिएको तरुण दल सुन्दरहरैचा–४ का सभापति रोशन दाहालले जानकारी दिए ।
उक्त कार्यक्रममा वडा कार्यसमिति सुन्दरहरैचा ४ का सह-सचिव तथा तरुण दल वडा ४ का युवा परिचालन संयोजक दिलीप राई र सह–संयोजक तथा क्षेत्रीय प्रतिनिधि विकास लिम्बुको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रमका फदिन्द्र खड्का, रबिन चौधरी, बाबु राई, कपिल बस्नेत, सुयोग ढकाल लगायत १६ जना युवालाई टोल प्रचार–प्रसार समितिको संयोजकका रूपमा मनोनयन गरिएको छ।
उनीहरूलाई मोरङ क्षेत्र नं. ६ का काँग्रेस उम्मेदवार शेखर कोइरालालाई जिताउन वातावरण बनाउनुको साथै आफ्नै टोलमा गई पार्टीको विचार, नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पु¥याउने जिम्मेवारी प्रदान गरिएको जनाइएको छ।
प्रमुख अतिथि दिलीप राईले देशको वर्तमान अस्थिर राजनीतिक परिस्थितिमा सुशासन, पारदर्शिता र आर्थिक अवसरको खोजी तीव्र भइरहेका बेला जिम्मेवार नेतृत्व लिन नेपाली कांग्रेस र युवाहरू अग्रसर हुनुपर्ने धारणा राखेका छन् । युवाहरूको ऊर्जा, उत्साह र सिर्जनशीलतालाई संगठन सुदृढीकरणमा उपयोग गरिने राईको भनाई थियो । त्यसैगरी, विकास लिम्बुले युवाहरूको सक्रिय सहभागितालाई लोकतान्त्रिक आन्दोलनको निरन्तरतासँग जोड्दै यो जोश र जागरलाई आगामी निर्वाचनमा मतमार्फत अभिव्यक्त गर्न आह्वान गरेका छन् ।
सयौँको संख्यामा तरुण युवाहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको समापन मन्तव्य राख्दै नेपाल तरुण दल सुन्दरहरैचा–४ का सभापति रोशन दाहालले नवआबद्ध तरुणहरूलाई संगठनभित्र अवसर, मार्गदर्शन र निरन्तर साथ–सहयोग प्रदान गर्दै सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमले मोरङ क्षेत्र नं. ६ का काँग्रेस उम्मेदवार शेखर कोइरालाले चुनाव जित्ने थप आधार बनेको र सुन्दरहरैचा–४ मा युवापुस्ताबीच नेपाली कांग्रेसप्रति आकर्षण र समर्थन कायम रहेको बताइएको छ ।
कार्यक्रम अघि तरुण दलले ४ नं. वडा परिक्रमा गदै कार्यक्रमको समापन बलिया चोक नजिक कोणसभा आयोजना गरी गरिएको थियो।





















