इटहरीः कार्यवाहक निर्वाचन प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । आशंका नै आशंकाको बिचमा सबैको सहयोगमा निर्वाचन सुनिश्चित भएको बताउँदै आइतबार मध्यरातबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने तथा सबै तयारी अन्तिम अवस्थामा भएको बताएका छन् ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन अवधिमा आचारसंहिता उल्लंघन गरेर चुनाव जितेमा विजयी पद निलम्बनसहित ६ वर्षसम्म निर्वाचनमा भाग लिन नपाइने निर्णय गर्नसक्ने समेत बताए । निर्वाचनमा नगद चलखेल हुनसक्ने भएकाले त्यस्तो भएमा उम्मेदवारी रद्द, विजयी भइसकेको घोषणा भएपनि खारेज हुनेलगायतका कारबाही हुने बताएका हुन् ।

आइतबार नेपाल प्रेस काउन्सिल र अनलाइन पत्रकार संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै भण्डारीले मौन अवधिमा निर्वाचन सामग्री र नगद एकैठाउँमा बरामद भए त्यस्ता उम्मेदवारको उम्मेदवारी नै खारेज हुने चेतावनी दिएका हुन् । उनले निर्वाचनमा नगद चलखेल भए आगामी ६ वर्षसम्म त्यस्ता उम्मेदवारले निर्वाचनको कुनै पनि प्रक्रिया भाग लिन नपाउने व्यवस्था गरिएको बताएका छन् ।

नगद चलखेलको प्रमाण प्राप्त भएमा विजयी घोषणा भएपनि उम्मेदवारी खारेज हुने बताए । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले निर्वाचन आचारसंहिताको परिपालनामा शून्य सहनशीलताको नीति लिएको पनि बताए ।

फर्जी मतदान असम्भवस् गृहमन्त्री

गृहमन्त्री ओमप्रकाश अर्यालले फर्जी मतदान असम्भव भएको बताएका छन् । विगतका निर्वाचनमा मृत्यु भइसकेका नाममा समेत मतदान भएको घटनालाई स्मरण गर्दै यसपटक स्वर्गबाट आएर मतदान असम्भव भन्दै ठट्यौलो पारामा फर्जी मतदान असम्भव भएको निश्चिन्त गराए ।

आसन्न निर्वाचनको सुरक्षा तयारी र व्यवस्थापनको अवस्था बुझ्न सुदूरपश्चिम पुगेका गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षा प्रणाली सुनिश्चित र दृढ भएको बताए । अर्यालले विगतका निर्वाचनमा देखिएका धाँधली, अरूको नाममा मतदान, मृतकका नाममा मत हाल्ने तथा बुथ क्याप्चरजस्ता गतिविधि यसपटक दोहोरिन नदिइने प्रस्ट्याएका हुन् ।

३४ वर्षदेखि सेनाको सुरक्षामा निर्वाचन

नेपाली सेनाले चुनावी सुरक्षाको ३४ वर्षे इतिहास सम्झाउँदै सुरक्षामा ढुक्क हुन आग्रह गरेको छ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन पूर्ण प्रतिबद्ध रहेको जनाउँदै मतदानस्थलको सुरक्षा, मतपेटिकाको ढुवानी तथा गणनास्थलको सुरक्षालाई सेनाले उच्च प्राथमिकता दिएको जनाएको छ ।

नेपाली सेनाले २०४८ सालको आमनिर्वाचनदेखि निर्वाचन सुरक्षा दिँदै आएको स्मरण गराउँदै विज्ञप्ति जारी गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आइतबार विज्ञप्ति जारी गर्दै नेपाली सेनाले एकीकृत सुरक्षा योजना–२०८२ अनुसार सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य गरी निर्वाचन सुरक्षा व्यवस्था मिलाइरहेको जनाएको छ ।

विगतका निर्वाचनहरूझैँ यसपटक पनि मतदान सम्पन्न भएपछि स्थापित प्रोटोकलअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधि तथा नेपाली सेनासहितको संयुक्त टोलीले मतपेटिका ढुवानी गर्ने कार्य हुने नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले मतदानस्थलको सुर क्षा, काठमाडौंस्थित केन्द्रदेखि देशभरका जिल्ला निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी, मतदान अवधिभर बाहिरी घेरामा सुरक्षा प्रदान गर्ने तथा मतदान सम्पन्न भएपछि संयुक्त टोलीमार्फत मतपेटिका सुरक्षित रूपमा मतगणनास्थलसम्म पु¥याउने जिम्मेवारी निर्वाह गर्ने विज्ञप्तिमार्फत प्रस्ट्याएको छ ।