इटहरीः मध्यपूर्व (पश्चिम–एसिया)मा बढ्दो सैन्य तनावका बिच युएईको राजधानी अबुधावीस्थित जायेद अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक नेपालीको ज्यान गएको छ । इरानले शनिबार राति गरेको ड्रोन प्रहारमा ड्युटीमा रहेका नेपालीको मृत्यु भएको युएईस्थित नेपाली दूतावासले पुष्टि गरेको हो । मृतकको पहिचान भने अझै खुलाइएको छैन । घटनामा नेपालीसँगै बंगलादेश र पाकिस्तानका एक–एक नागरिकको पनि मृत्यु भएको जनाइएको छ ।

युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले ड्रोन प्रहारमा एक नेपालीले ज्यान गुमाएको पुष्टि गर्दै युएई सरकारसँग विस्तृत विवरण मागिएको बताए । ‘ड्रोन आक्रमणमा एयरपोर्टमा ड्युटीमा रहेका एक नेपालीको दुःखद निधन भएको खबर आएको छ । हामीले युएई सरकारसँग विस्तृत विवरण मागेका छौँ,’ उनले टेलिफोनमा भने, ‘व्यक्तिको पहिचान र अन्य विवरण संकलन गर्ने काम भइरहेको छ ।’

अमेरिका–इजरायल र इरान युद्धका कारण मध्यपूर्व ९पश्चिम एसिया०का १६ मध्ये १३ देशमा १७ लाख २९ हजार २८८ नेपाली नागरिक प्रभावित भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार युद्धका दुई पक्ष मुलुक इजरायलमा ६ हजार ५ सय र इरानमा ६ जना नेपाली छन् । युद्धका दुई पक्षधर इरान र इजरायलमा रहेका नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार जोखिमपूर्ण मुलुक इरानमा ६ जना र इजरायलमा ६ हजार पाँच सयजना नेपाली कार्यरत छन् । ‘इरानमा १० जना नेपाली रहेकामा ६ जना इरानी भूमिमा हुनुहुन्छ,’ परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने । नेपाली कार्यवाहक राजदूत ओम भण्डारीले इजरायलका नेपालीहरू सुरक्षित रहेको बताए । ‘इजरायलमा नेपालीहरू सुरक्षित हुनुहुन्छ । हामी उहाँहरूसँग सम्पर्कमा छौँ । नेपालीहरूको सुरक्षा हाम्रो प्राथमिकतामा छ,’ कार्यवाहक राजदूत भण्डारीले टेलिफोनमा भने, ‘अहिलेसम्म यहाँ चिन्ता गर्नुपर्ने अवस्था छैन । हामी इजरायल सरकारसँग पनि सम्पर्कमा छौँ ।’

सम्भावित जोखिमबाट उद्धारका लागि सरकारले पनि गृहकार्य थालेको छ । मन्त्रिपरिषद् बैठकमा आइतबार मध्यपूर्वमा विकसित परिस्थिति र नेपालीहरूको सुरक्षाबारे छलफल भएको छ । आइतबारै मुख्यसचिव सुमन अर्यालले सरोकारवाला मन्त्रालयमा सचिवहरूसँग पनि यही विषयमा छलफल गरेका छन् । परराष्ट्रको पश्चिम तथा मध्य एसिया र अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काका अनुसार मध्यपूर्वमा रहेका नेपाली १७ लाख २९ हजार २८८ छन् । ‘आइतबार मुख्यसचिवको समन्वयमा सरोकारवाला मन्त्रालयका सचिवसहितको बैठकमा नेपालीहरूको अवस्था र सम्भावित परिस्थितिबारे छलफल भयो,’ खड्काले भने, ‘नेपालीहरूका लागि भविष्यमा उद्धार गर्नुपर्ने अवस्थालाई समेत मध्यनजर गर्दै अनलाइन रजिस्ट्रेसन प्लेटफर्म बनाउने र कन्सुलर विभागबाट एउटा एप्स पनि सार्वजनिक गर्नेबारे छलफल भएको छ ।’

 परराष्ट्रसचिव अमृतबहादुर राईको नेतृत्वमा गृह, श्रम मन्त्रालयका सचिवहरूसमेत रहेको बहुपक्षीय सरोकारवालाहरूको आपतकालीन उद्धार टिम गठन गर्न लागिएको पनि खड्काले बताए । ‘हामी छिमेकी देशहरूको उद्धार योजनालाई पनि हेर्छौँ, त्यहाँ विकसित भएको र हुने घटनाक्रमसमेत हेरेर उद्धार योजना बनाउँनेछौँ,’ खड्काले भने । कन्सुलर सेवा विभागले नेपालीहरूलाई आफ्नो अवस्थाबारे टिपाउन हटलाइन सम्पर्क स्थापित गर्न लागेको छ । परराष्ट्रले अन्तर्राष्ट्रिय आप्रवासन संगठन ९आइओएम० सँग पनि समन्वय गरिरहेको छ । 

परराष्ट्र मन्त्रालयका वरिष्ठ सहसचिव कृष्णप्रसाद ढकालले बाहिर रहेका नेपाली र उनका परिवारलाई नआत्तिन र धैर्य गर्न अनुरोध गरेका छन् । ‘नेपालीहरू सुरक्षित हुनुहुन्छ । उहाँहरूको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ । हामी सहयोग गर्छौँ । सरकारी सूचनाहरूको पालना गर्नुहोला । उपयुक्त समयमा सरकारले आवश्यक सबै कदम चाल्ने गरी तयारी भइरहेको छ,’ ढकालले भने ।संयुक्त अरब इमिरेट्स ९युएई० मा करिब सात लाख नेपाली रहेको परराष्ट्रको तथ्यांक छ । प्रमुख श्रम गन्तव्य मुलुक युएईमा श्रम स्वीकृतिसँगै भिजिट भिसामा प्रवेश गरी रोजगारी गरेर बस्नेको संख्यासमेत उल्लेख्य रहेको छ ।

साउदी अरेबियामा तीन लाख ८४ हजार ८६५ नेपाली कार्यरत छन् । कतारमा तीन लाख ५७ हजार ९१३ जना छन् । सरकारी क्षेत्रमा १० हजार १०, अर्धसरकारी क्षेत्रमा चार हजार ५४६, निजी कम्पनीमा तीन लाख ४० हजार ८४४ र व्यक्तिगत स्पोन्सरमा २५ नेपाली पुगेका छन् । सन् २०२२ मा कतारमा विश्वकप फुटबल सकिएपछि नेपाली कामदारहरूको आपूर्ति कम भएको मन्त्रालयले जनाएको छ । 

कुवेतमा एक लाख ७५ हजार नेपाली रहेकामा ७५ प्रतिशत महिला घरेलु कामदारका रूपमा कार्यरत छन् । जोर्डनमा रहेका तीन हजार नेपाली घरेलु कामदार र गार्मेन्ट उद्योगमा कार्यरत छन् । जोर्डनमा अधिकांश महिलाहरू जाने गरेका छन् । बहराइनमा २८ हजार रहेकामा २४ हजार पुरुष र चार हजार महिला रहेका छन् । 

ओमानमा २५ हजार नेपाली कार्यरत रहेको र यसमध्ये ८० प्रतिशत महिला घरेलु कामदारका रूपमा छन् । लेबनानमा १५ सय र इराकमा ३० हजार नेपाली रहेका छन् । साइप्रसको घरेलु कामदार र सेवा क्षेत्रमा १७ हजार नेपाली कार्यरत रहेको मन्त्रालयले जनाएको छ । इजिप्टमा मेडिकल अध्ययन र रोजगारीका लागि ५ सय विद्यार्थी रहेका छन् । इजिप्टमा घरेलु कामदार र औद्योगिक मजदुरका रूपमा पनि केही कार्यरत छन् । १३ मुलुकमा रहेका नेपालीहरूलाई मध्यपूर्वका १० नेपाली कूटनीतिक नियोगमा सम्पर्क गर्न भनिएको छ । नियोगहरूले पनि नेपालीहरूसँग सम्पर्क राखेका छन् । पछिल्लोपटक १ फागुनमा परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपालीहरूलाई तत्काल देश छाड्न यात्रा एड्भाइजरी जारी गरेको थियो । 

सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मानमा नेपालको जोड, कूटनीति र संवादमार्फत मतभेद समाधान गर्न पनि आह्वान 

इरानमाथि अमेरिका–इजरायलले हमला गरेपछि उत्पन्न परिस्थितिबारे चिन्ता जनाउँदै नेपालले राष्ट्रहरूको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मानमा जोड दिएको छ । नेपालले कूटनीति र संवादमार्फत मतभेद समाधान गर्न पनि आह्वान गरेको छ । ‘नेपालले मध्यपूर्वमा विकसित भइरहेको परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ र घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ,’ आइतबार जारी परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा छ । परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पनि आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपालको यही धारणा सुनाएका थिए । 

‘नेपाल सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन, थप तनाब बढ्न नदिन तथा सर्वसाधारण नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ, मतभेदहरू कूटनीति र संवादमार्फत समाधान गर्न आह्वान गर्छ,’ परराष्ट्रले भनेको छ, ‘संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनअनुसार सबै राष्ट्रहरूको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान हुनुपर्छ भन्नेमा नेपाल जोड दिन चाहन्छ । नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने दायित्व कायम राखिनुपर्छ भन्नेमा नेपालको विश्वास छ ।’

आइतबार मन्त्रिपरिषद् बैठकमा पनि नेपालीहरूको सुरक्षाबारे छलफल भएको छ । बैठकपछि परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपाली नागरिकलाई परेको असर र समाधानबारे पनि छलफल भएको बताए । ‘अहिले सबैतिर हवाई उडान बन्द भएको हुनाले कसैलाई पनि फर्काउन सक्ने अवस्था छैन । जो जहाँ हुनुहुन्छ, उहाँहरू सुरक्षित भएर रहने र हामीले सम्भव भएसम्म सहयोग गर्ने भन्ने भएको छ,’ परराष्ट्रमन्त्री शर्माले भने ।

१२ देशमा श्रम स्वीकृति स्थगित

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वका १२ देशमा श्रम स्वीकृति रोकेको छ । मन्त्रालयका अनुसार अमेरिका–इजरायल र इरानबिचको द्वन्द्वका कारण प्रभावित बनेका साउदी अरेबिया, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति रोक्ने निर्णय भएको हो । श्रम स्वीकृति रोकिएका अधिकांश देशहरू प्रमुख श्रम गन्तव्य मुलुकहरू हुन् । वैदेशिक रोजगार विभागका उप–महानिर्देशक चन्द्रबहादुर सिवाकोटीले मध्यपूर्वमा देखिएको तनावअनुसार निर्णय लिइएको बताए । ‘मध्यपूर्वमा रहेका नेपालीहरूको सुरक्षा नै अहिलेको प्रमुख चिन्ताको विषय हो । त्यसैले थप कामदार ती देशहरूमा पठाउनु उचित नहुने देखेर श्रम स्वीकृति रोकिएको हो,’ उनले भने । 

दैनिक १५ सय नेपाली वैदेशिक रोजगारीका लागि जाने गरेकोमा मध्यपूर्वमा मात्रै एक हजारभन्दा बढी जाने गरेको व्यवसायीको तथ्यांक छ । वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव महेशकुमार बस्नेतले मध्यपूर्वका विभिन्न देशहरूमा भिसा लागेर टिकटसमेत काटेका करिब ५ सय कामदारहरू शनिबार विमानस्थलबाट फर्किएका छन् । आइतबार टिकट लिएका कामदारहरूको भने ‘रि–सेड्युल’ भएको उनले बताए । यो खबर आजको नयाँ पत्रिकामा प्रकाशित भएको छ ।