महेन्द्र गुरागाईं

वि.सं. २०७२ सालमा केही उत्साही रेडिमेड व्यवसायीहरूको पहलमा स्थापना भएको रेडिमेड व्यवसायी संघले १२ वर्षको अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको छ। प्रारम्भमा गायत्री भण्डारीको नेतृत्वमा २० सदस्यीय जम्बो कार्यसमिति गठन गरिएको थियो। जसमा अध्यक्ष गायत्री भण्डारी, उपाध्यक्षद्वय दीपेश रिजाल र विनोद चोच्छे, सचिव सिताराम सापकोटा, कोषाध्यक्ष बुद्ध सुवेदी, सह-कोषाध्यक्ष अनिल सुब्बा लगायत सदस्यहरू रहेका थिए।

यसरी सुरु भएको संघ आज व्यवसायीहरूको साझा आवाजको रूपमा स्थापित हुँदै गएको छ।

मिति २०७६ पौष २४ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभाबाट सिताराम सापकोटाको नेतृत्वमा ३२ सदस्यीय कार्यसमिति चयन गरिएको थियो। सो कार्यसमितिमा विनोद चोच्छे, बुद्ध सुवेदी, परशुराम आचार्य लगायतका सदस्यहरू तथा महासचिवमा नगेन्द्र विष्ट र कोषाध्यक्षमा यमबहादुर खड्का रहेका थिए। यद्यपि ठूलो कार्यसमिति भए पनि अपेक्षित उपलब्धि हासिल गर्न नसकेको गुनासो व्यवसायीहरूबीच देखियो।

२०७९ पौष २८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट विनोद चोच्छेको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति गठन गरिएको थियो। यस कार्यसमितिमा परशुराम आचार्य, बुद्धिकान्त सुवेदी, नगेन्द्र विष्ट, महासचिव टिकाराज श्रेष्ठ, सचिव दामोदर रिमाल लगायत सदस्यहरू रहेका थिए। प्रारम्भमा इटहरी उद्योग वाणिज्य संघको निर्वाचनसँग जोडिएका विवादका कारण संघले गति लिन सकेन। तर करिब ८ महिनापछि संघले गति लिँदै सदस्यता विस्तार र विधान संशोधनमा केही सफलता हासिल गरेको देखिन्छ।

संघको प्रारम्भिक चरणमा सदस्यता विस्तार गर्न निकै कठिनाइ भए पनि हाल संघप्रति आकर्षण बढ्दै गएको छ। हाल संघमा ८९ जना आजीवन सदस्य र १२६ जना साधारण सदस्य आबद्ध छन्। आजीवन सदस्यता शुल्क रु. ३,२०० र साधारण सदस्यता शुल्क रु. ६०० निर्धारण गरिएको छ।

संघको आयस्रोत सदस्यता शुल्कबाट संकलित रु. ३,६०,४०० रहेको छ। साथै, राहतकोषका लागि रु. ५०,००० छुट्याइएको छ। आकस्मिक अवस्थामा व्यवसायीलाई अधिकतम रु. १०,००० सम्म सहयोग गर्ने कार्यविधि बनाउने निर्णय सकारात्मक कदमका रूपमा लिन सकिन्छ।

संघले व्यवसायीहरूको हकहित संरक्षण, एकता सुदृढीकरण तथा व्यावसायिक अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

हाल संघ नयाँ नेतृत्व चयनको चरणमा पुगेको छ। २०८२ साल चैत्र १२ गते हुने १०औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनका सन्दर्भमा अबको नेतृत्वले स्पष्ट दृष्टिकोण, लक्ष्य र कार्ययोजना प्रस्तुत गर्नु अत्यावश्यक देखिन्छ।

नयाँ नेतृत्वका लागि सुझाव

१. दृष्टिकोण (Vision)

संघलाई दीर्घकालीन रूपमा सशक्त, विश्वसनीय र उदाहरणीय संस्था बनाउने लक्ष्य राखिनुपर्छ।

  • स्थानीय बजारलाई दिगो र व्यवस्थित बनाउने
  • सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिने
  • इटहरीको व्यापारिक पहिचान राष्ट्रिय स्तरमा स्थापित गर्ने

२. मिशन (Mission)

“एकता, विकास र सामाजिक उत्तरदायित्वमार्फत समृद्ध वातावरण निर्माण”

  • एकता: व्यवसायीहरूबीच सहकार्य, विश्वास र समन्वय बढाउने
  • विकास: सीप, प्रविधि, व्यवस्थापन र मार्केटिङ सुधार गर्ने
  • सामाजिक उत्तरदायित्व: शिक्षा, स्वास्थ्य र सामाजिक सेवा कार्यक्रम सञ्चालन गर्ने
  • समृद्ध वातावरण: सुरक्षित र व्यवस्थित व्यापारिक वातावरण निर्माण गर्ने

३. लक्ष्यहरू (Goals)

“व्यवसायी सशक्तिकरण, बजार विस्तार र सामाजिक सेवा”

(क) व्यवसायी सशक्तिकरण

  • तालिम, सेमिनार र कार्यशाला सञ्चालन गर्ने
  • नयाँ प्रविधि र ज्ञानको पहुँच विस्तार गर्ने
  • सदस्यहरूको हक–हित संरक्षण गर्ने

(ख) बजार विस्तार

  • स्थानीय व्यवसायको प्रचार–प्रसार गर्ने
  • नयाँ बजार र ग्राहक खोजी गर्ने
  • गुणस्तरीय सेवा मार्फत प्रतिस्पर्धात्मक क्षमता बढाउने

(ग) सामाजिक सेवा

  • शिक्षा, स्वास्थ्य र सरसफाइमा योगदान गर्ने
  • महिला, युवा, अपाङ्ग र पिछडिएका वर्गलाई प्राथमिकता दिने
  • जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने

२ वर्षभित्र कार्ययोजना (Action Plan)

पहिलो वर्ष: आधार निर्माण

  • सदस्यता विस्तार र डिजिटल डाटाबेस तयार गर्ने
  • व्यवसाय व्यवस्थापन, ग्राहक सेवा र डिजिटल मार्केटिङ तालिम सञ्चालन गर्ने
  • “Shopping Festival” जस्ता कार्यक्रम आयोजना गर्ने
  • समस्या समाधान संयन्त्र (Help Desk) स्थापना गर्ने
  • सरसफाइ, रक्तदान र सामाजिक कार्यक्रम सुरु गर्ने

दोस्रो वर्ष: विस्तार र प्रभाव

  • ब्रान्ड पहिचान विकास गर्ने
  • वेबसाइट तथा फेसबुक पेज सञ्चालन गर्ने
  • इटहरीलाई “Shopping Hub” का रूपमा प्रचार गर्ने
  • अन्य संघ–संस्थासँग सहकार्य विस्तार गर्ने
  • सहकारी वा सहयोग कोष स्थापना गर्ने
  • उन्नत तालिम तथा अनुभव आदान–प्रदान कार्यक्रम सञ्चालन गर्ने
  • स्वास्थ्य शिविर, छात्रवृत्ति जस्ता ठूला सामाजिक कार्यक्रम सञ्चालन गर्ने

अपेक्षित उपलब्धि

  • अधिकांश व्यवसायी संघमा आबद्ध हुने
  • व्यवसायीहरूको सीप र ज्ञान वृद्धि हुने
  • बजार व्यवस्थित र आकर्षक बन्ने
  • संघको सकारात्मक सामाजिक छवि बन्ने
  • संघ बलियो र प्रभावशाली संस्था बन्ने

निष्कर्ष

अबको नेतृत्वले व्यक्तिगत भन्दा सामूहिक सोचलाई प्राथमिकता दिनुपर्छ। साझा एजेण्डा बोकेको, स्पष्ट योजना भएको र कार्यान्वयन गर्न सक्ने नेतृत्वलाई अघि बढाउनु आजको आवश्यकता हो।

अन्त्यमा, सम्पूर्ण व्यवसायी साथीहरूलाई आग्रह छ—सक्षम, इमानदार र दूरदर्शी नेतृत्व चयन गर्न सहकार्य गरौँ।