इनरुवाः  सुनसरीको इनरुवालाई मुख्य आधारक्षेत्र बनाएर अवैध रुपमा करोडौ हुण्डी रकमको कारोबार गरिहेका व्यत्तीहरुलाई कानुनी कारवाहीबाट जोगाउन मिलापत्र कागज गरेर उन्मुक्ती दिने गरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा पछिल्लो समय हुण्डी कारोवारीले ठगी गरेर रकम बैक खातामा जम्मा गर्न लगाएर रकम नदिएको भन्दै इनरुवाका आधा दर्जन व्यत्तीले उजुरी दिएका थिए ।

पिडित पक्षको उजुरीपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवामा हार्डवेयर तथा स्वीट हाउस संचालक, थान तथा रेडिमेड कपडा संचालक, विभिन्न प्रकारका भाडावर्तन र स्टिलका सामग्री उत्पादन गरिरहेका एक व्यापारी र औषधीको थोक कारोवार गरिरहेका बिक्रेतासहितलाई पक्राउ गरि दुईदिनसम्म अनुसन्धानका नाममा थुनामा राखेको थियो ।

पक्राउ परेका मध्ये केहीलाई २०८२ चैत १२ गते प्रहरी कार्यालयमा उपस्थीत हुने गरि सहमतीमा परिवारको जिम्मा लगाएर छाडिएको थियो ।

प्रहरीले पक्राउ परेका दुईजनाको हकमा भने उजुरीलाई लेनदेन निवेदनमा परिणत गरि १५ दिनभित्र कारोबार मिलाएर दुईपक्ष मिलापत्र गर्न आउने गरि छाडिदिएको थियो ।

हुण्डी कारोवारीहरुले एकसातादेखि भारतको दिल्लीमा रकम ठगिएका पिडित उजुरीकर्ताहरुको रकम लेनदेन मिलाएर बिहिवार बिहान सुनसरी फर्किए लगतै दुई पक्षिय मिलापत्र गराएर छाडनका लागि उजुरी फिर्ता लिने तयारी गरिएको पाइएको छ ।

उजुरी दिनेहरु विभिन्न पेशा व्यवसाय गर्नुका साथै घरजग्गाको कारोवारी र निमार्ण व्यवसायी तथा समिल संचालक रहेको खुलेको छ ।

इनरुवामा विभिन्न व्यापार व्यवसायको आवरणमा अवैध रुपमा हुने करोडौ हुण्डी रकमको कारोबार हुने केन्द्रविन्दु बन्दै गएको तथ्य उजुरीपछि बाहिरिएको थियो ।

देश तथा विदेशमा रकम लेनदेन गर्नका लागि कारोवारीहरुले हुण्डी कारोवार संचालन गर्दा बिचौलियाको समन्वयमा प्रहरीमा परेका उजुरी अदालत र राजश्व अनुसन्धान कार्यालयसम्म नपुगी बिचमा मिलापत्र गराउदै आएका छन ।

इनरुवा ६ मधेशा घर भएका खेमराज खडकाले जिल्ला प्रहरी कार्यालय सुनसरीमा इनरुवा बजारमा बलाजी इम्पोरियम नाम गरेको कपडा व्यवसाय गर्ने सौरभ अटलले आफुलाई २ करोड ठगी गरेको आरोपमा उजुरी दिएका थिए ।

प्रहरीले खडकाको उजुरीका आधारमा सौरभ अटलसहित केही व्यापारी युवाहरुलाई पक्राउ गरि एक दिन रात अनुसन्धानका लागि थुनामा राखेको थियो ।

पक्राउ परेका व्यापारीहरुको तर्फबाट एकजना बिचौलियाले प्रहरीसँग चलखेल गरेर उनीहरुलाई तत्काल हाजिर जमानीमा छुटाएका थिए ।

प्रहरीले उजुरीकर्ता र पक्राउ परेका मध्ये सौरभ अटल बिचमा एकम लेनदेन बिषयमा सहमती कागज गराएर उनलाई छाडेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको मुद्धा फाँटमा कार्यरत प्रहरी निरिक्षक हेमराज ओलीले इनरुवा १ नम्बर वडा घर भई व्यापार व्यवसाय गरिरहेका सौरभ अटल नाम गरेका व्यत्तीको बैक खातामा विभिन्न व्यत्तीहरुको नामबाट अस्वभाविक रुपमा रकम जम्मा भएको पाइएकाले अनुसन्धान थालिएको बताए ।  

प्रहरी निरिक्षक ओलीले घटनाका बिषयमा प्रहरीले अनुसन्धान गर्ने क्रममा सौरभ अटलको खातामा आएको रकम खेमराज खडकासहितका विभिन्न व्यत्तीहरुबाट प्रयोजन र कारोवारको व्यहोरा नखुली अस्वभाविक रुपमा आएको पाइएको बताए ।

उनले दुईपक्ष बिच मिलापत्रको कागज भएको स्वीकार गर्दै अनुसन्धानको क्रम भने जारी रहेको बताए । सुनसरीमा ठु्लो रकम हुण्डी कारोवार मार्फत हुदै आएको छ ।

हुण्डी मार्फत रकम लिने उक्त समुहले इनरुवाका विभिन्न बैकमा रकम जम्मा गरि अन्यत्रैको बैकबाट रकम निकालेर कारोवार गर्दै आएको स्रोतले दावी गरेको छ ।

भारतको सुपौल र अररिया जिल्लाका केही भारतिय व्यापारीको समेत हुण्डी कारोवारमा लगानी र संलग्नता रहेको स्रोतले जनाएको छ ।  भारतिय निर्माण व्यवसायी बब्लु गुप्तका आफन्त रहेका उनी बिहारको मधुवनी जिल्ला अन्तर्गत जयनगरस्थित विद्युत् कार्यालयमा कार्यरत ‘एक्ज्युकेटिभ इन्जिनियर’ मनोज कुमार रजक ले १०० करोड भारतीय रुपैयाँभन्दा बढीको सम्पत्ति आर्जन गरेको रकम सुनसरीमा रहेको खुलेपछि वेपत्ता भएको स्रोतले जनाएको छ ।

विभिन्न व्यत्तीहरुले यिनै व्यापारीको माध्यमबाट हुण्डीको रकम बैकमा जम्मा गरेर एक ठाँउको रकम अर्को शहर बजार तथा विभिन्न मुलुकबाट लिने गरेका छन ।

यस समुहको संञ्जाल भारतको दिल्लीसम्म रहेको खुल्न आएको छ । भारतका हुण्डी कारोवारीहरुले यिनै व्यत्ती मार्फत नेपालबाट भुत्तानी दिलाउने र भारतको भुत्तानी नेपालबाट लिने गरेको पाइएको छ ।

स्रोतका अनुसार इनरुवा तथा सुनसरीका विभिन्न स्थानमा रहेका व्यत्तीहरु बिच हुने मिटर व्याज ठगी, चेक वाउन्स र ठगीका उजुरी निवेदनका मुद्धाहरु प्रहरी प्रशासनमा समन्वय गरि मिलापत्र गराएर दुई पक्षिय लेनदेन हुने गरेको छ ।