धनकुटाः धनकुटा नगरपालिका–१ र ३ लाई जोड्ने निबुवा खोलामा वर्षौंदेखि झेल्दै आएको यातायात समस्याको अन्त्य भएको छ। स्थानीय समाजसेवी द्रोर्ण प्रसाद गुरागाईंको आर्थिक तथा भौतिक सहयोगमा खोलामा होम पाइप जडान गरिएपछि स्थानीय बासिन्दाले ठूलो राहत महसुस गरेका छन्।

धनकुटाको बिहिबारे हाट–मालबासे–मधुगंगा सडकखण्ड अन्तर्गत पर्ने यस खोलामा विगत लामो समयदेखि स्थायी संरचना नहुँदा स्थानीयले सास्ती भोग्दै आएका थिए। विशेषगरी वर्षायाममा खोलामा पानीको बहाव बढ्दा आवतजावत पूर्ण रूपमा प्रभावित हुने गरेको थियो। यसअघि स्थानीयले बाँसको अस्थायी पुल निर्माण गरेर जोखिमपूर्ण तरिकाले वारपार गर्दै आएका थिए।

तर, समाजसेवी गुरागाईंको पहलपछि अहिले उक्त समस्याको दीर्घकालीन समाधान सम्भव भएको छ। उहाँले आवश्यक निर्माण सामग्री खरिद गर्नुका साथै ढुवानी खर्च समेत व्यहोरेपछि खोलामा दुईवटा होम पाइप जडान गरिएको हो। पाइप जडानका लागि करिब ३९ फिट लम्बाइमा संरचना तयार पारिएको छ भने बीच भाग ८ फिट र दुवै छेउतिर १३ फिट चौडाइमा ढलान गरिएको छ।

निर्माण कार्यमा स्थानीयको उल्लेखनीय सहभागिता देखिएको छ। एक सयभन्दा बढी स्थानीय बासिन्दाले श्रमदानमार्फत वाल निर्माण र पाइप जडान कार्य सम्पन्न गरेका छन्। यसले सामुदायिक एकता र सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

WhatsApp Image 2026-04-03 at 20.42.39 (1)

समाजसेवी गुरागाईंले आफ्नो जन्मथलोप्रतिको जिम्मेवारी बोध गर्दै यो कार्य गरेको बताउनुभयो। उहाँका अनुसार, “यो मेरो पूर्खौली गाउँ हो। यहाँका बासिन्दाले सहज रूपमा खोलामा वारपार गर्न सकून् भन्ने उद्देश्यले मैले यो सानो सहयोग गरेको हुँ।” उहाँले आफ्नो खर्च विवरण सार्वजनिक नगरी सेवा भावनाबाट प्रेरित भई काम गरेको समेत उल्लेख गर्नुभयो।

यस क्षेत्रका लागि धनकुटा नगरपालिकाले यसअघि करिब २० लाख रुपैयाँ लागत अनुमानसहित स्टिमेट तयार पारेको थियो। तर बजेट अभावका कारण काम अघि बढ्न सकेको थिएन। समाजसेवी गुरागाईंको पहलमा आवश्यक सामग्री उपलब्ध भएपछि बाँकी निर्माण कार्य स्थानीयले श्रमदानमार्फत सम्पन्न गरेका हुन्।

स्थानीय यातायात व्यवसायी तथा सर्वसाधारणले यस कार्यप्रति खुसी व्यक्त गरेका छन्। टेम्पो चालक नेत्रबहादुर घिमिरेका अनुसार, “पहिले पानी बढ्दा खोलामा गाडी लैजान निकै डर लाग्थ्यो। अहिले पाइप बनेपछि सहज रूपमा यात्रु ओसारपसार गर्न सकिएको छ।”

WhatsApp Image 2026-04-03 at 20.54.28

त्यस्तै, स्थानीय डम्बर राना मगरले सरकारी निकायबाट अपेक्षित सहयोग नपाए पनि स्थानीयहरू आफैं जुटेर विकास निर्माणमा सक्रिय भएको बताए। “हामी हप्तामा एक दिन श्रमदान गर्दै पाइप मर्मत तथा सडक सरसफाइमा लागिरहेका छौं,” उनले भने।

यो सडक मध्यमार्गी भए पनि धार्मिक दृष्टिले महत्वपूर्ण मधुगंगा धाम जाने मुख्य मार्ग भएकाले यसको स्तरोन्नति आवश्यक रहेको स्थानीयको माग छ। हाल यस सडक हुँदै दैनिक १५ देखि २० वटा टेम्पो तथा ४–५ वटा साना सवारी साधन सञ्चालन हुने गरेका छन्।

होम पाइप निर्माणपछि करिब ६ सय घरपरिवार प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ। यसले न केवल आवतजावत सहज बनाएको छ, बल्कि स्थानीयको आर्थिक, सामाजिक र धार्मिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

WhatsApp Image 2026-04-03 at 20.42.39