इटहरीः नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् बैठक सञ्चालन थालेकै दिनबाट संसदमा सानो तर सार्थक परिवर्तनको सुरुवात भएको छ । सभामुखले सांसदको भन्दा फरक आसन (कुर्सी) प्रयोग गर्ने संसदीय परम्परालाई भत्काउँदै समान आसन (कुर्सी)मा बसेर बैठक सञ्चालन थालेका छन् ।
२१ फागुनको निर्वाचनपछि सभामुख चयनअघि बसेका २ वटा बैठक सञ्चालन गरेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीका लागि संसद् सचिवालयले परम्परागत आसन नै व्यवस्थापन गरेको थियो । तर सभामुख अर्यालले आङ्खना लागि सांसद बस्ने कुर्सी नै व्यवस्थापन गर्न भनेपछि २०१५ सालयता बैठक सञ्चालन गर्ने सभामुखलाई फरक आसनमा राख्ने अभ्यास तोडिएको छ ।
बैठक कक्षमा सांसदहरू जस्तो कुर्सीमा बसिरहेका छन्, सभामुख अर्यालले सोमबारका बैठक त्यस्तै कुर्सीमा बसेर सञ्चालन गरेका छन् । यसअघि सभामुखका लागि विशेष अर्थात् अरूभन्दा फरक कुर्सी राखिन्थ्यो । तर, त्यो फरक कुर्सी नवनिर्वाचित सभामुख अर्यालले संघीय संसद् सचिवालयका कर्मचारीलाई फेर्न लगाए ।
आइतबार पदभार ग्रहण गरेलगत्तै सभामुख अर्यालले सचिवालयका कर्मचारीलाई कुर्सी फेर्न निर्देशन दिएका थिए । अब अर्याल सभामुख हुँदासम्म बैठक कक्षमा सांसदहरू जस्तो कुर्सीमा बस्छन्, उनी पनि उस्तै कुर्सीमा बस्नेछन् । सभामुखको निजी सचिवालयका अनुसार, सभामुखको चाहनाका आधारमा कुर्सी परिवर्तन गरिएको हो ।
नवनिर्वाचित सभामुख अर्यालले संसदमा आङ्खनो भूमिका पूर्णरूपमा निष्पक्ष रहने तथा संख्याका आधारमा कुनै भेदभाव नहुने र हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार पहिलोपटक सभा सञ्चालन गर्दै उनले सभामुखको पदलाई उच्च बनाउन तटस्थ, समन्वयकारी र निष्पक्ष भूमिका खेल्ने बताए ।
सभामुख अर्यालले संसद्का सदस्यहरूसँगको समन्वयमा सदनको गरिमा बढ्नेमा विश्वास व्यक्त गर्दै पुराना ऐनहरू संशोधन गरेर नयाँ बनाउने तयारीमा तत्पर हुने बताए । ‘सबैको समन्वयमा संसद्को गरिमा बढ्नेमा दुबिधा छैन । मेरो भूमिका निष्पक्ष रहनेछ,’ उनले भने ।
आफूले निर्वाचित सभामुखको रूपमा नीतिगत निर्णयहरूमा पक्षपात नगरी तटस्थ रहँदै संसद् सञ्चालन गर्ने बताएका छन् । उनले सभामुख पदमा आफ्नो भूमिका उच्च बनाउन सदनमा सदस्यहरूको सहयोग आवश्यक रहेको पनि स्पष्ट पारे । यसअघि अर्यालले संसद्को नियम र ऐनका पुराना व्यवस्थाहरूलाई सुधार गर्दै नयाँ नियम निर्माण गर्न सक्रिय हुने बताएका थिए ।
सभामुख अर्यालको तटस्थ र निष्पक्ष दृष्टिकोणले संसद्को कार्यप्रणालीमा पारदर्शिता र प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ । साथै उनले सदनमा संख्याका आधारमा कुनै भेदभाव नहुने र हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । सदनमा दलगत र संख्यागत आधारमा कुनै भेदभाव नहुने स्पष्ट पार्दै उनले भने, ‘संख्याका आधारमा भेदभाव हुँदैन, हुने पनि छैन । दलगत आधारमा भेदभाव हुने छैन । सभामुख पदको गरिमा उच्च बनाउन भूमिका निर्वाह गर्नेछु ।’
उनले संसद्को बैठकलाई सहज र प्रभावकारी बनाउन सांसदहरूको सुझावको अपेक्षा गर्दै यसक्रममा आइपर्ने समस्या समाधान गर्न निष्पक्ष भूमिका निर्वाह गर्ने पनि बताए । उनले सबै राजनीतिक दलबाट रचनात्मक सहयोगका लागि आग्रह पनि गरे ।
उनले नयाँ सरकार, प्रधानमन्त्री र मन्त्रीहरूको सफल कार्यकालको कामना गर्दै जेनजी आन्दोलन र त्यसअघिका लोकतान्त्रिक आन्दोलनको मर्म र बलिदानीलाई उच्च महत्व दिन सबैलाई आग्रह समेत गरेका छन् । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।




















