इटहरीः इटहरी उपमहानगरपालिकाका नगर प्रमुखलाई सम्बोधन गर्दै सामाजिक अभियन्ता कोविद जंग कार्कीले नगरको दिगो विकास, सुशासन र समृद्धिका लागि विभिन्न सुझावसहित खुला पत्र सार्वजनिक गरेका छन्।
पत्रमा कार्कीले नगर प्रमुखले इटहरीको विकास, सुशासन र समृद्धिका लागि निर्वाह गरिरहेको भूमिकाप्रति सम्मान व्यक्त गर्दै बढ्दो जनसंख्या, तीव्र शहरीकरण तथा नागरिक अपेक्षासँगै नगरका चुनौतीहरू पनि बढ्दै गएको उल्लेख गरेका छन्। उनले जिम्मेवार नागरिकका रूपमा इटहरीको समग्र विकासका लागि आठवटा महत्वपूर्ण सुझाव प्रस्तुत गरेका छन्।
कार्कीले इटहरीको विकास तत्कालीन आवश्यकतामा मात्र सीमित नभई आगामी २५–३० वर्षलाई दृष्टिगत गरेर दीर्घकालीन शहरी योजना निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। सडक विस्तार, पार्किङ व्यवस्थापन, हरित क्षेत्र संरक्षण, बसपार्क तथा सार्वजनिक संरचनाहरूको दीर्घकालीन गुरुयोजना तयार गर्नुपर्ने उनको सुझाव छ।
त्यस्तै, व्यापारिक केन्द्रहरूमा बढ्दो सवारी चापका कारण दैनिक समस्या उत्पन्न भइरहेको उल्लेख गर्दै उनले व्यवस्थित पार्किङ क्षेत्र, स्मार्ट ट्राफिक व्यवस्थापन तथा पैदलयात्रीमैत्री सडक निर्माणमा विशेष ध्यान दिन आग्रह गरेका छन्।
शिक्षा र युवामा लगानीलाई प्राथमिकता दिनुपर्ने बताउँदै कार्कीले इटहरीलाई ‘शैक्षिक हब’ का रूपमा विकास गर्न सामुदायिक विद्यालयहरूको गुणस्तर सुधार, प्राविधिक शिक्षा विस्तार तथा युवालाई सीपमूलक तालिमसँग जोड्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखेका छन्।
वातावरण संरक्षण र सरसफाइलाई विकासको आधारका रूपमा प्रस्तुत गर्दै उनले फोहोर व्यवस्थापन, नदी तथा खोलाको संरक्षण, वृक्षारोपण अभियान र हरित सार्वजनिक स्थलहरूको विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। विकास र वातावरणबीच सन्तुलन कायम गर्नु वर्तमान समयको आवश्यकता भएको उनको भनाइ छ।
डिजिटल सुशासनतर्फ नगरपालिकाका सेवाहरू क्रमशः डिजिटल माध्यमबाट उपलब्ध गराउने, गुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने तथा निर्णय प्रक्रियामा नागरिक सहभागिता बढाउने कार्यले जनविश्वास अझ मजबुत बन्ने कार्कीको विश्वास छ।
यसैगरी, स्वास्थ्य तथा सार्वजनिक सुरक्षाका क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवाको पहुँच विस्तार, विपद् व्यवस्थापनको पूर्वतयारी तथा सडक सुरक्षासम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव पनि उनले दिएका छन्।
पर्यटन, संस्कृति र स्थानीय पहिचानको संरक्षण तथा प्रवर्द्धनमार्फत नगरको आर्थिक गतिविधिलाई थप सशक्त बनाउन सकिने उल्लेख गर्दै कार्कीले धार्मिक स्थल, पार्क तथा मनोरञ्जन क्षेत्रहरूको संरक्षण र विकासमा ध्यान दिन आग्रह गरेका छन्।
खुला पत्रमा उनले विकास सरकारको मात्र जिम्मेवारी नभएको उल्लेख गर्दै नागरिक, निजी क्षेत्र, शैक्षिक संस्था तथा सामाजिक संघसंस्थासँग सहकार्य गरेर अघि बढेमा विकास दिगो र प्रभावकारी बन्ने बताएका छन्।
पत्रको अन्त्यमा कार्कीले विगतका उपलब्धिहरूको समीक्षा गर्दै कमजोरी सुधार र भविष्यको स्पष्ट दृष्टिकोणसहित अगाडि बढ्न सके इटहरी पूर्वी नेपालको मात्र नभई सम्पूर्ण नेपालकै नमुना सहर बन्न सक्ने विश्वास व्यक्त गरेका छन्। उनले जनताले आलोचनाभन्दा परिणाम, आश्वासनभन्दा कार्यान्वयन र भाषणभन्दा सुशासनको अपेक्षा गरेको उल्लेख गर्दै इटहरीलाई स्वच्छ, सुरक्षित, व्यवस्थित, समृद्ध र अवसरयुक्त सहर बनाउने अभियानमा नगर प्रमुखको नेतृत्व अझ प्रभावकारी बन्ने शुभकामना व्यक्त गरेका छन्।
उनले पत्रको अन्त्यमा लेखेका छन्, “समृद्ध इटहरी केवल सपना होइन, साझा प्रतिबद्धता र सही नेतृत्वबाट सम्भव हुने यथार्थ हो।”




















