इटहरी: भाषणमा नेतृत्व तहमा महिलाहरूलाई अगाडि बढाउनुपर्छ भन्ने तर सोच र व्यवहारमा पुरुषवादी भएका उद्योग वाणिज्य संघ इटहरीको नेतृत्व गरिसकेका केही नेताहरू फेरि पनि महिला नेतृत्व छेक्न दिलोज्यान दिएर लागेको पाइएको छ ।
यही असार २७ गते हुन गइरहेको उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा इटहरीको व्यावसायिक इतिहासमा इमानदारीपूर्वक योगदान पुर्याउँदै आएकी क्षमतावान नेतृ गायत्री कटुवाल भण्डारीलाई हराउन पुरुषवादी सोच भएका नेताहरू हात धोएरै लागेको आरोप सार्वजनिक रूपमा उठ्न थालेको छ।
स्वतन्त्र रूपमा अध्यक्ष पदमा उम्मेदवारी दिएकी भण्डारीलाई हराउन केही नेताहरू नै फेरि पनि सक्रिय भएको पाइएको छ। आफ्ना व्यक्तिगत फाइदामा रमाउने ती नेताहरूले केही साताअघि मात्र भण्डारीलाई साथ दिने भन्दै बजार पिटेका थिए।

तर एकाएक क्याम्प नै परिवर्तन गरी कांग्रेस, एमाले पार्टी निकटका व्यवसायीहरूको नेतृत्व रहेको नवराज काफ्लेको टिमलाई समर्थन गरेका छन्। ती नेताहरूले दुई वर्षअघिदेखि नै अबको उद्योग वाणिज्य संघ इटहरीको नेतृत्व भण्डारीबाहेक विकल्प नै नरहेको दाबी गर्दै भोट माग्न समेत लागिपरेका हालको समितिमा रहेका महिलाहरूलाई पनि तीन दलको गठबन्धन टिममा लैजान सफल भएका छन्।
यति मात्र होइन, अघिल्लो दिन भण्डारीको सचिवालय उद्घाटनमा खादा र माला लगाएर अतिथि आसनमा बसेका मेडिकल व्यवसायीहरूलाई समेत फकाएर भोलिपल्ट साँझ गठबन्धन टिममा लैजान ती नेताहरू सफल भएको आरोप छ।
इटहरीका व्यवसायीहरू सामु रहेका समस्याभन्दा पनि उद्योग वाणिज्य संघ इटहरीको नेतृत्व लिएर पहिलो पटक इतिहास लेखाउने उत्कट अभिलाषा र व्यवसायीहरूको हितमा काम गर्ने हुटहुटी बोकेकी भण्डारीलाई फेरि पनि कसरी हराउन सकिन्छ भन्ने योजनाअनुसार दैनिक हुने कोठे बैठकमा गठबन्धनको नेतृत्वमा रहेका नेताहरू लागिपरेको स्पष्ट देखिएको छ।
आगामी निर्वाचनले इटहरी उद्योग वाणिज्य संघमा महिला नेतृत्व स्थापित हुने कि परम्परागत शक्ति केन्द्रहरूको प्रभाव कायम रहने भन्ने बहसलाई थप तीव्र बनाएको छ।



















