इटहरीः इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको लामो स्टाटसमाथि नगरवासी, व्यवसायी, पत्रकार तथा आफ्नै राजनीतिक पृष्ठभूमिका नेताहरूले कडा प्रतिक्रिया जनाएका छन्। मेयर पौडेलले आफूमाथि योजनाबद्ध रूपमा साइबर आक्रमण, मिडिया ट्रायल तथा चरित्रहत्याको प्रयास भइरहेको दाबी गर्दै आफू गरिब, निमुखा र मेहनती जनताको पक्षमा निरन्तर उभिइरहेको उल्लेख गरेका थिए।
स्टाटसमा उनले विगत तीन दशकदेखि विद्यार्थी राजनीति, पार्टी तथा सामाजिक राजनीतिमा सक्रिय रहँदै आएको उल्लेख गर्दै जनताको सेवामा समर्पित रहेको बताएका छन्। उनले केही प्रभावशाली वर्ग, स्वघोषित बुद्धिजीवी, समाजसेवी, व्यवसायी तथा मिडियाका नाममा आफूमाथि निरन्तर आक्रमण भइरहेको आरोप समेत लगाएका छन्।
मेयर पौडेलले गत निर्वाचनमा आफूलाई पराजित गराउन विभिन्न शक्ति एकजुट भएको तर जनताको विश्वासका कारण उनीहरू सफल हुन नसकेको उल्लेख गरेका छन्। साथै, इटहरीको विकास रोक्न खोज्ने तथा नेतृत्वमाथि नियन्त्रण कायम गर्न चाहने शक्तिहरू सक्रिय रहेको दाबी पनि गरेका छन्।
यद्यपि उनको उक्त अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखिएको छ। आलोचकहरूले मेयर पौडेलले आत्मसमीक्षाभन्दा बढी आफूलाई पीडितका रूपमा प्रस्तुत गर्न खोजेको आरोप लगाएका छन्।
इटहरीका व्यवसायी तथा फेन्सी व्यवसायी महासंघका केन्द्रीय सदस्य महेन्द्र गुरागाईंले मेयर पौडेलको स्टाटसमै टिप्पणी गर्दै लेखेका छन्, “शब्दहरू सुन्दर हुन सक्छन्, तर इतिहासले केवल शब्द होइन, कर्मको लेखाजोखा राख्छ।”
उनले तीन दशकको राजनीतिक यात्राको वर्णन भावुक भए पनि त्यसको मूल्यांकन जनताको जीवनमा आएको परिवर्तनले मात्र गर्ने बताएका छन्। गुरागाईंले आलोचनालाई षड्यन्त्रका रूपमा चित्रण गर्नु लोकतान्त्रिक संस्कार नभएको उल्लेख गर्दै नेतृत्वले आलोचनालाई जवाफदेहिताको ऐनाका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले लेखेका छन्, “आलोचना शत्रुता होइन, जवाफदेहिताको ऐना हो। जो नेतृत्वमा हुन्छ, उसले प्रशंसाभन्दा बढी प्रश्नहरूको सामना गर्नुपर्छ।”
गुरागाईंले व्यक्तिगत पीडालाई सार्वजनिक उत्तरदायित्वमाथि पर्दा हाल्ने माध्यम बनाउन नहुने भन्दै घर जलेको घटनाप्रति सहानुभूति व्यक्त गरे पनि त्यसलाई जवाफदेहिताबाट मुक्त हुने आधार बनाउन नहुने बताएका छन्। उनले इटहरीलाई व्यक्तिपूजाभन्दा संस्थागत सुशासनको आवश्यकता रहेको उल्लेख गर्दै समृद्ध शहर केवल सपनाले नभई जवाफदेही कर्मले निर्माण हुने बताएका छन्।
नेपाल पत्रकार महासंघ सुनसरीका सचिव विनय बाह्रकोटीले पनि मेयर पौडेलको स्टाटसमा प्रतिक्रिया जनाउँदै विगतमा विभिन्न वर्ग र समुदायको साथ तथा समर्थनका कारण पौडेल विजयी भएको स्मरण गराएका छन्।
उनले लेखेका छन्, “कुलीन तथा मध्यम वर्ग, मिडिया, सामाजिक संघसंस्था, घोषित–अघोषित बुद्धिजीवी सबै हजुरको पक्षमा थिए। सबैको मेहनतले हजुर विजयी हुनुभयो।”
बाह्रकोटीले लोकप्रिय नेतृत्वबाट दीर्घकालीन तथा प्रभावकारी कामको अपेक्षा गरिए पनि ती अपेक्षा पूरा नभएको उल्लेख गरेका छन्। उनले घर जलेको विषयलाई संवेदनशील विषयका रूपमा उल्लेख गर्दै त्यसलाई राजनीतिक विषयभन्दा शक्ति र प्रेरणाका रूपमा उपयोग गर्न सुझाव दिएका छन्।
यस्तै, नेकपाका पुराना नेता मुक्तिनाथ रिजालले मेयर पौडेललाई जिताउन प्रयोग भएको उत्साह र जनसमर्थन अहिले कमजोर बनेको टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, “इटहरीले जुन आशा बोकेको थियो, त्यो निराशामा परिणत भएको सत्य हो। फिल्डमा गुनासा धेरै छन्। खासै नयाँ, रचनात्मक र दीर्घकालीन योजना इटहरीले तपाईँको कार्यकालमा पाएको जस्तो लागेन।”
रिजालले मेयर पौडेलले सही व्यक्तिहरूको सुझाव लिन नसकेको र केही सीमित व्यक्तिको प्रभावमा परेको आरोप पनि लगाएका छन्। उनले मेयर निर्वाचित भएपछि आम नागरिक र कार्यकर्तासँगको दूरी बढेको गुनासो समेत गरेका छन्।
सामाजिक अभियन्ता विकास भण्डारीले भने मेयर पौडेलको कार्यशैलीलाई अहमता, व्यक्तिवाद र संकुचित सोचबाट प्रभावित भएको आरोप लगाएका छन्।
उनले टिप्पणी गर्दै लेखेका छन्, “सुशासन र पारदर्शितामा शून्य प्रतिशत उपलब्धि हासिल गर्ने कार्यशैलीले बिचौलिया, माफिया र यशमेनहरूलाई मात्रै खुसी बनाएको छ।”
भण्डारीले नगरलाई आर्थिक भार बोकाउने, विपक्षी र आफन्तलाई अवसर प्रदान गर्ने, नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गर्ने तथा प्रशासनिक संरचनालाई कमजोर बनाउने काम भएको आरोप लगाएका छन्।
इटहरीका नारायण गोदार थापाले पनि मेयर पौडेललाई सामाजिक सञ्जालमा समय खर्च गर्नुभन्दा नगरका टोल–टोलमा पुगेर अनुगमन गर्न सुझाव दिएका छन्।
उनले लेखेका छन्, “नगरपालिका भित्र रहेका सबै टोलमा एकपटक घुमेर फिल्डमा के भइरहेको छ हेर्नुहोस्, कति विकास भएको छ भन्ने थाहा भइहाल्छ।”
यसैबीच, मेयर पौडेलले आफ्नो स्टाटसमा आलोचनात्मक टिप्पणी गर्ने केही व्यक्तिहरूको कमेन्ट हटाएको तथा उनीहरूलाई फेसबुकबाट ब्लकसमेत गरेको आरोप लागेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आलोचनालाई स्वीकार गर्नुको सट्टा असहमत मतलाई हटाउने र आलोचकलाई ब्लक गर्ने प्रवृत्तिले लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको बताएका छन्।
मेयर पौडेलले आफ्नो स्टाटसमा सामाजिक सञ्जालमा उठाइने हरेक आरोपको जवाफ दिन आवश्यक नठान्ने उल्लेख गरेका छन्। उनले अन्तिम मूल्यांकन जनताले, इतिहासले र समयले गर्ने बताएका छन्।
तर पछिल्ला प्रतिक्रियाहरूले भने इटहरीको राजनीतिक तथा सामाजिक वृत्तमा मेयर पौडेलको नेतृत्व, कार्यशैली, सुशासन, पारदर्शिता र जनअपेक्षाका विषयमा गम्भीर बहस सुरु भएको देखिएको छ। आलोचकहरूले नेतृत्वले आत्मसमीक्षा, जवाफदेहिता र संवादलाई प्राथमिकता दिनुपर्ने बताएका छन् भने समर्थकहरूले मेयरमाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको दाबी गर्दै आएका छन्।
इटहरीको विकास, सुशासन र नेतृत्वको प्रभावकारिताबारे उठेका प्रश्नहरूको उत्तर आगामी दिनमा हुने काम, जनमत र राजनीतिक घटनाक्रमले दिने देखिन्छ।



















