धरानः माघ दोस्रो सातादेखि धरान–६ स्थित पानबारीमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

धरानको पानबारीस्थित सिमल चौरीमा रहेको मैदानमा प्रतियोगिता आयोजना हुने आयोजक ब्वाइज युनियन क्लबले जानकारी दिएको छ । क्लबका महासचिव केदार बस्नेतका अनुसार यस पटक प्रतियोगितामा प्रदेशभरका १२ वटा टिम सहभागी हुने भएका छन् । गत वर्ष १० वटा टिम सहभागी थिए । गत वर्ष विभागीय टिम नेपाल प्रहरीले उपाधि हात पारेको थियो । आयोजक ब्वाइज युनियन क्लब गत वर्ष उपविजेता बनेको थियो ।

शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगितामा आयोजक क्लबसँगै सहभागी अन्य टिमको घोषणा गरिएको हो । भोजपुर भलिबल क्लब, १ नं प्रदेश प्रहरी विराटनगर, नेपाली सेनाको पूर्वी पृतना इटहरी, डाँडाबजार भलिबल क्लब धनकुटा, झापा टाइगर, डुम्राहा क्लब रामधुनी, युवा भलिबल टिम याङशिला मोरङ सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ७५ हजार रुपैयाँसँगै ३० तोला चाँदीको ट्रफी पाउनेछन् । उपविजेताले नगद ४१ हजार पाउने आयोजकले जनाएको छ ।

यस्तै, उत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट स्पाइकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट खेलाडीलाई जनही १० हजार पुरस्कार दिइने आयोजकले जनाएको छ । त्यसैगरी, प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीले जनही नगद ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।