क्यानाडा नेपाल डटकमका सम्पादकीय नेतृत्वकर्ता ढकालविरुद्ध साइबर अपराधको उजुरी, विभिन्न अनियमितताबारे लेख्दै आएका थिए
इटहरी :जनता माध्यमिक विद्यालय इटहरीका व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगालको उजुरीका आधारमा क्यानाडा नेपाल डटकमका सम्पादकीय नेतृत्व गरिरहेका पत्रकार विनोद ढकाललाई प्रहरीले काठमाडौंस्थित डेराबाट पक्राउ गर्नु अघि उनले प्रयोग गर्दै आएको ल्यापटप र मोबाइलसमेत जफत गरेको बुझिएको छ।
उनकी श्रीमति पुजा गौतम ढकालका अनुसार श्रीमान्लाई पक्राउ गरेपछि ठूलै अपराधी झै घरमा प्रहरीले अनावश्यक खानतलासी गरेको तर केही फेला नपारेपछि ल्यापटप र मोबाईल जफत गरेर लगेको उनले जानकारी दिइन् ।
परिवारका सदस्यका अनुसार दैनिक समाचार लेख्ने, सम्पादन गर्ने तथा विभिन्न कागजात र सूचना संकलनका लागि प्रयोग गरिने ल्यापटप जफत गरिनुले प्रहरीको नियतमाथि नै प्रश्न उठेको छ। उनीहरूले पत्रकारितासँग सम्बन्धित सामग्री तथा प्रमाणहरू नियन्त्रणमा लिन खोजिएको आशंका व्यक्त गरेका छन्।
पक्राउ पर्नुअघि नै पत्रकार ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूसँग विभिन्न भ्रष्टाचार तथा अनियमिततासम्बन्धी प्रमाण रहेको उल्लेख गर्दै आफूले प्रयोग गर्ने ल्यापटप र मोबाइल कुनै पनि बेला जफत हुन सक्ने आशंका व्यक्त गरेका थिए।
ढकालले यसअघि प्रहरी संगठनभित्रका विषयमा समेत टिप्पणी गर्दै प्रहरी नेतृत्वमाथि आलोचनात्मक स्टाटस लेखेका थिए। त्यसैगरी इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलका विषयमा समेत केही महत्वपूर्ण प्रमाण आफूसँग रहेको दाबी गर्दै सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरेका थिए।
उनले जनता माविका व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगालसँग सम्बन्धित विषयमा पनि पटक–पटक लेख्दै आएका थिए। विद्यालयसँग सम्बन्धित सम्पत्ति तथा भाडा व्यवस्थापनमा अनियमितता भएको आरोपसहित उनले समाचार तथा फेसबुक स्टाटसमार्फत प्रश्न उठाएका थिए।
ढकालले पछिल्लो समय विद्यालय व्यवस्थापनसँग सम्बन्धित थप प्रमाण प्राप्त भएको तथा अध्ययनका क्रममा अनियमितता देखिएको दाबी गर्दै सामाजिक सञ्जालमा जानकारी सार्वजनिक गरेका थिए। सोही विषयसँग सम्बन्धित एक स्टाटसलाई आधार बनाएर दंगालले इटहरी प्रहरीमा साइबर अपराधसम्बन्धी उजुरी दिएको बताइएको छ।
स्रोतका अनुसार पत्रकार ढकालले पछिल्लो समय सार्वजनिक रूपमा प्रश्न उठाएका तथा अनियमितताको आरोप लगाएका व्यक्तिहरूकै दबाब र सक्रियतामा उजुरी प्रक्रिया अगाडि बढाइएको दाबी गरिएको छ। साथै उनीहरूले प्रयोग गर्ने ल्यापटप र मोबाइल जफत गर्न समेत प्रभाव परेको आरोप स्रोतले लगाएको छ।
यद्यपि, यस विषयमा प्रहरी, उजुरीकर्ता तथा सम्बन्धित पक्षको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन। आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ भने अनुसन्धान प्रक्रिया जारी रहेको बताइएको छ।
















