इलामः इलाम मेची क्षेत्रको ‘लाइफ लाइन’ मानिने मेची राजमार्गका केही खण्ड जोखिमपूर्ण बनेपछि इलाम बजारसहित तीन जिल्ला ‘टापु’ बन्ने खतरा बढेको छ। बर्खाको पानीले विशेषगरी मेची राजमार्गको इलाम नगरपालिका ९ स्थित राजदुवालीको करिब आधा किलोमिटर खण्ड पहिरो गएर र बगेर क्षतविक्षत छ। यहाँबाट गाडी पार हुन नसक्दा इलाम बजार, पाँचथर तथा ताप्लेजुङको यातायात सम्बन्ध टुट्छ।  

गत असोज १८ र १९ को भेलबाढीले यो खण्डमा ठूलो क्षति गरेको थियो। पोहोर सालको असोज १२ मुसलधारे पानीले पनि त्यही खण्डलाई धेरै कमजोर बनाएको थियो। यो साल बर्खा लाग्नेबित्तिकैदेखि राजदुवालीसहित इलाम नगरपालिका १ का मिल गोलाई र बञ्चरे गोलाईमा समेत सडक जोखिमपूर्ण छ। इलामकै रोङ गाउँपालिका ४, कोल्बुङको भिरमा माथिबाट पहिरो आउने अनि तलतिर सडक नै पहिरोले चुँडिएर जाने जोखिम छ। यहाँको एक खण्डमा भर्खरै लगाएको करिब २० मिटरको वाल २ दिनअघिको पहिरोसँगै झरिसकेको छ।  

वैकल्पिक सडकहरूको अवस्थासमेत बलियो नहुँदा मेची राजमार्गको तराईका जिल्लाबाट इलाम सदरमुकाम र पाँचथर–ताप्लेजुङ जोडिने मुख्य गौंडा (सडक) बन्दझैं छन्। वैकल्पिक भनिएको निर्माणाधीन केचना–कञ्चनजंघा मार्गका दुई खोलामा लगाइएको बेलीब्रिज बाढीले बगाएपछि सवारी साधन आउ–जाउ बन्द छ। राजदुवालीको विकल्प भनिएको सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत जोगमाई खोलाको ह्युम पाइप पनि बगेपछि असार दोस्रो साता नबित्दै इलाम सदरमुकाम सहज यातायात सम्बन्धबाट टाढा हुन थालेको छ।  

मेची राजमार्ग जोखिमपूर्ण

लगातारको पहिरोले क्षतविक्षत मेची राजमार्गको राजदुवाली खण्डको करिब आधा किलोमिटर सडकमा रातिको पानीले हिलो जमेको छ। पहिरो झर्ने खतरा बढेको छ। गत शुक्रबार बिहानै माथिबाट झरेको ठूलो ढुंगाले एउटा सवारी साधनमा क्षति गरेको थियो। अहिले यो मार्गमा साना गाडी चलिरहेका छन्। तर, ठूला सवारी साधन चलाउन ज्यादै सकस भएको छ। इलामतर्फ आउने राजमार्ग उकालो पर्ने तर यही ठाउँमा ठूलो पहिरो भएका कारण उक्लिन नसक्ने अवस्था भएको छ। जिल्ला प्रशासन कार्यालय र डिभिजन सडक कार्यालयले यो सडकमा राति ठूला सवारी साधन गुडाउन रोक लगाएका छन्।  

गत असोज र अघिल्लो वर्षको असोजको बाढी–पहिरोका कारण राजदुवालीको सडक क्षतविक्षत बनेपछि मर्मत भइरहेको छ। ‘खोलाबाटै पर्खाल उठाएर सडक अड्याउनुपर्ने अवस्था छ,’ सडक डिभिजन प्रमुख पवन भट्टराईले भने, ‘तर, अस्ति बिहीबार राति माइखोलामा आएको बाढीले सडक मर्मतको सामानसमेत बगाइदिएको छ। त्यसयता ढुक्कले काम गर्न पाइएको छैन। काम गर्नै पनि जोखिम छ।’  

बाढीले तारजाली, पाइप, केही मेसिन र अन्य सामग्री बगाइदिएको उनले जनाए। ‘राजदुवालाीबाट साना गाडी जसोतसो चलेका छन् तर वर्षाले मर्मतको काममा पूरै असर गरेको छ,’ प्रमुख भट्टराईले भने, ‘मौसम हेरेर मर्मतको काम निरन्तर भइरहेको छ।’ एक झर अलि ठूलो पानी परे सडक चटक्कै चुँडिने अवस्था छ अहिले पनि। मेची राजमार्गको यो ठाउँका ४ खण्ड एउटै पहिरोले निरन्तर बगिरहेको छ। भिरालो पाखामा गोलाई घुमाएर बनाइएको सडकमा माथिबाट ठूलो पहिरो झर्दा ४ खण्ड एकै तवरले क्षतिग्रस्त भएका छन्।  

राजदुवालीमा पानी पर्ने सिजन सुरु हुनुअगावै पुरानै ठेक्काको काम थालिएको थियो। त्यसअन्तर्गत सडक खण्डमा तारजाली र पर्खाल निर्माण हुँदैथियो। सडक डिभिजनले यहाँका भित्रभित्रै पानी बग्ने समस्या समाधान गर्न ‘ड्रिलिङ’ गरेर पाइप राखी पानी निकाल्ने प्रयत्न गरेको थियो।  

जति मर्मत गरेपनि सुधार नभएको भन्दै स्थानीय असन्तुष्ट छन्। चारैतर्फका सडक भरपर्दा नभएका कारण इलाम टापुमा परिणत हुने भन्दै इलामबासी चिन्तित छन्। ‘अब इलामलाई दुर्गम जिल्ला घोषणा गर्नुपर्छ,’ नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका स्थानीय धीरेन चेम्जोङले भने, ‘इलामजस्तो पर्यटकीय जिल्लाको सडक मर्मतमा किन पर्याप्त काम हुन सकिरहेको छैनरु कसले दिन्छ जबाफ ? ’

मेची राजमार्गकै मिलगोलाई  बञ्चरेगोलाईमा वर्षाले पहिरो झर्दा कुन बेला गाडी रोकिने हो भन्ने टुंगो छैन। यो ठाउँबाट निकै खतरापूर्ण तबरले एकतर्फी रूपमा सवारी साधन चल्दैछन्। अझ ठूलो पानी परेमा यहाँ पनि अवरुद्ध हुने सम्भावना रहेको स्थानीय तथा इलाम नगरपालिका ४ का वडाध्यक्ष नुतनदेव दुलालले बताए।  

फास्ट ट्र्याक पूर्ण अवरुद्ध

झापाको केचनादेखि ताप्लेजुङको कञ्चनजंघा बेसक्याम्प पुग्ने केचना–कञ्चनजंघा मार्ग ९इलाम–झापा फास्ट ट्र्याक० पनि पूर्ण रूपमा बन्द भएको छ। यो खण्डको माइखोला ९बेलासे०को पक्की पुल गत असोज १८ रातिको वर्षाले भास्सिएपछि अहिले भास्सिएको भाग हटाएर पुलको आधा भागका बेली ब्रिज जडान गरिँदैछ। तर, बेली ब्रिज बनाउन तयार गर्दैगर्दा बाढीले बेस नै बगाएको स्थानीयले जनाएका छन्।  

स्थानीय सविन लोक्तामका अनुसार रातिको वर्षाले यहाँ निर्माणाधीन बेली ब्रिजको बेससमेत बगाएको छ। ‘यहाँ पटक–पटक बनाइएको डाइभर्सन बाढीले बगाइसकेको छ,’ उनले भने, ‘सबैभन्दा ठूलो समस्या चाहिँ खोला तर्न नसक्दा यहाँका बालबालिका स्कुल जान सकेका छैनन्।’ उनका अनुसार यहाँका १०–१२ बालबालिका पारिपट्टि रहेको जनता माविमा पढ्न जाने गरेका छन्। तर, खोलो तर्ने अवस्था नहुँदा र स्कुल गएका बेला ठूलो पानी परे घर फर्किने सम्भावना नहुने भएकाले उनीहरू घरमै बस्न बाध्य छन्।  

यही सडकको पुवाखोलाको नयाँ बेली ब्रिज असोज १८ को बाढीले बगाएको थियो। त्यसपछि काठको सानो फड्के बनाएर हिउँदभर साना सवारी र मान्छे हिँडडुल गर्ने गरिएको थियो। नजिकै ठूला गाडीका लागि डाइभर्सनसमेत बनाइएको थियो। तर, बिहीबार रातिको बाढीले यहाँको डाइसभर्सनसमेत बगाएपछि फास्ट ट्र्याकमा सवारी आउ–जाउ पूरै बन्द भएको डिभिजन प्रमुख भट्टराईले जानकारी दिए। पुवाखोलामा पुनस् अर्को बेली ब्रिजसमेत जडान गरिँदैछ।  

राजदुवालीको वैकल्पिक सडक पनि बन्द

बारम्बार पहिरो झरिरहने र मर्मत भइरहने राजदुवालीको मेची राजमार्गको विकल्प भनिएको सिमलगोलाई–जोगमाई–तिल्केनी सडकमा पनि अहिले गाडी चल्ने अवस्था छैन। यहाँ लगाएको अर्को नयाँ बेली ब्रिज पनि गत असोज १८ को बाढीले बगाएको थियो। त्यसपछि बनाइएको डाइभर्सनसमेत बाढीले बगाएको छ। अहिले खोलामा बाढी आएका कारण मान्छे हिँड्ने र सवारी साधन चल्ने अवस्था नरहेको स्थानीय तथा इलाम नगरपालिका १० का वडाध्यक्ष दिलीप प्रधानले जानकारी दिए। जोगमाई खोलामा पनि नयाँ बेली ब्रिज बन्नेक्रममा छ। तराईबाट इलाम आउन अरू कुनै भरपर्दो सडक छैन। यी मुख्य सडकसमेत बर्खा सुरु हुँदै बन्द हुँदा अबका केही महिना इलाम, पाँचथर र ताप्लेजुङबासीले सास्ती खेप्नुपर्ने सम्भावना देखिएको छ।  

असोज १८ र १९ को बाढी–पहिरोले जिल्लामा १२ अर्ब रुपैयाँको भौतिक संरचना क्षति गर्दा सबैभन्दा बढी ७ अर्बका सडक र पुल नै थिए। ३९ जनाको मृत्यु हुनेगरी भएको घटनापछि इलामलाई ३ महिनाका लागि ‘विपद् संकटग्रस्त’ जिल्ला घोषणासमेत गरियो। तर, सरकारले समयमै बजेट व्यवस्था नगर्दा मर्मतमा ढिलाइ भएर बर्खा लागेपछि काम सुरु भएको  छ। भारतबाट बेली ब्रिज ल्याउनेक्रममा प्रक्रियागत ढिलाइका कारण २ सातासम्म नाकामै रोकिएका सामग्री करिब साताअघि ल्याइपुर्याइएको थियो।

‘अहिले एउटा बेली ब्रिजका लागि सामान आएकाले बेलासेको माइखोलामा सबैभन्दा पहिला जडान हुनेक्रमममा छ,’ डिभिजन प्रमुख भट्टराई भन्छन्, ‘समयमै बजेट र सामग्री व्यवस्था गरिएको भए समयमै काम सकिने थियो।’

गत पुसमा संघीय सरकारले बाढी–पहिरोले गरेको क्षतिमा मर्मत गर्न २ अर्ब १९ करोड रुपैयाँको स्रोत सुनिश्चित ९सहमति० गरेको थियो। अर्थ मन्त्रालयले मेची राजमार्गका लागि डेढ अर्ब, मेची राजमार्गकै राजदुवाली पुलका लागि २० करोड, केचना–कञ्चनजंघा सडकका लागि १४ करोड, यही सडकअन्तर्गत माई खोलाको बेलासे पुलका लागि २५ करोड, पुवाखोला पुलका लागि ५ करोड र गोदकको सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत जोगमाई खोला पुलका लागि ५ करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो। यसमध्ये चालु आर्थिक वर्ष ५४ करोड रुपैयाँको काम हुनेछ अनुमान गरिएको सडक डिभिजनको भनाइ छ।

असोज १८ र १९ को बाढी–पहिरोले इलाममा  ३९ जनाको मृत्युसहित १ बेपत्ता, २६ घाइते, ४ सय ४९ परिवार विस्थापित, ८ सय २८ घरमा आंशिक क्षति र अर्बौंको भौतिक संरचना ध्वस्त भएको थियो। संघीय सरकारले गत भदौ २३ मा इलामलाई ३ महिनाका लागि ‘विपद् संकटग्रस्त’ घोषणा गरेको थियो। असोज २५ मा मन्त्री कुलमान घिसिङसमेत इलाम आएर पुनर्निर्माणको आश्वासन दिएका थिए।यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।