इटहरी: उद्योग वाणिज्य संघ इटहरीको आगामी निर्वाचन नजिकिँदै जाँदा स्वतन्त्र समूहबाट अध्यक्ष पदकी उम्मेदवार गायत्री कटुवाल भण्डारीको चर्चा व्यवसायिक वृत्तमा तीव्र बन्दै गएको छ। इटहरीकी स्थापित महिला व्यवसायीका रूपमा परिचित भण्डारी यसपटक उद्योग वाणिज्य संघ इटहरीको इतिहासमा पहिलो महिला अध्यक्ष बन्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएकी छन्।

यही असार २७ गते हुने निर्वाचनका लागि भण्डारीले स्वतन्त्र समूहको नेतृत्व गर्दै व्यापक घरदैलो अभियान सञ्चालन गरिरहेकी छन्। उनका समर्थकका अनुसार इटहरीका विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीबाट उनले सकारात्मक साथ र समर्थन पाइरहेकी छन्।

यसअघि पनि अध्यक्ष पदमा प्रतिस्पर्धा गरेकी भण्डारीले त्यसबेलाको हारलाई अनुभव र सिकाइका रूपमा ग्रहण गर्दै निरन्तर व्यवसायीहरूको हकहितका विषयमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताइन्छ। उद्योगी–व्यवसायीका समस्या समाधानका लागि निरन्तर आवाज उठाएको उनको दाबी छ।

उद्योग वाणिज्य संघ इटहरीकी पूर्व कोषाध्यक्षसमेत रहेकी भण्डारी रेडिमेड व्यवसायी संघ इटहरीकी संस्थापक अध्यक्ष हुन्। उनी विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध रहँदै सामाजिक सेवामा पनि सक्रिय छिन्। यसपटक उनले व्यवहारिक र कार्यान्वयन गर्न सकिने एजेन्डालाई प्राथमिकतामा राखेर मतदातासमक्ष प्रस्तुत भएकी छन्।

WhatsApp Image 2026-06-21 at 07.38.10 (1)

भण्डारी नेतृत्वको स्वतन्त्र समूहले परिवर्तन, पारदर्शिता र व्यवसायीमैत्री नेतृत्वको प्रतिबद्धता व्यक्त गर्दै चुनावी अभियानलाई तीव्र बनाएको छ। उनका समर्थकहरूले यसपटक उद्योग वाणिज्य संघको नेतृत्वमा महिला नेतृत्व स्थापित हुने विश्वास व्यक्त गरेका छन्।

यद्यपि निर्वाचनमा विभिन्न राजनीतिक दलको साझा समर्थन प्राप्त अध्यक्ष पदका उम्मेदवार नवराज काफ्लेसँग भण्डारीको कडा प्रतिस्पर्धा हुने देखिएको छ। काफ्ले पक्षले पनि आफ्नो प्यानल विजयी हुने दाबी गरिरहेको छ। तर अन्तिम निर्णय भने असार २७ गते मतदाताले गर्नेछन्।

उद्योग वाणिज्य संघ इटहरीको आगामी नेतृत्व कसले सम्हाल्ने भन्ने विषयले अहिले सम्पूर्ण व्यवसायिक समुदायको ध्यान तानेको छ। निर्वाचनको परिणामले आगामी कार्यकालका लागि संघको नेतृत्व र व्यवसायिक एजेन्डाको दिशा तय गर्ने अपेक्षा गरिएको छ।