इटहरीः ७ वर्ष अघिबाट हँुदै आएको हिसान स्पोर्टस मिट यस वर्ष पनि भोलिदेखि शुरु हुने भएको छ । स्पोर्टस मिटमा सुनसरीका ३३ विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने ६ हजार बढी विद्यार्थीहरू सहभागी हुने भएका छन् ।

माघ १२ गतेसम्म सञ्चालन हुने स्पोर्टस मिटमा फुटबल, भलिबल, क्रिकेट, बास्केटबलका खेलहरू समावेश गरिएको शनिबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक एवम् हिसान सुनसरीका सदस्य सागर भट्टराईले जानकारी दिए ।

स्पोर्टस मिटमा हाजिरीजवाफ र नृत्य प्रतियोगिता समेत आयोजना गरिने भट्टराईले बताए । समावेश गरिएका प्रतियोगिताहरू धरान र इटहरीमा आयोजना गरिने जनाइएको छ । उनका अनुसार फुटबल खेल धरानस्थित एन्फा कम्प्लेक्समा, बास्केटबल डिपो माविमा र हाजिरीजवाफ धरान कलेज अफ म्यानेजमेन्टमा सञ्चालन गरिने छ ।

इटहरीमा क्रिकेट र भलिबल प्रतियोगिता सञ्चालन हुने भएका छन् । क्रिकेट डिभिएम स्कुलको मैदानमा र भलिबल इटहरी रङ्गशालामा हुने भट्टराईले जानकारी दिए ।

सम्बन्धित खेलका प्रतियोगिताहरू सम्पन्न गर्न जिल्ला सङ्घका खेलकुद पदाधिकारीलाई वयवस्थापनको जिम्मा दिइएको भट्टराईले जानकारी दिए ।

भलिबलका लागि पूर्वाञ्चल भलिबल सङ्घका सदस्य विक्रम थापा, क्रिकेटका लागि सुनसरी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सीपी पौडेललाई जिम्मेवारी दिइएको छ । त्यस्तै, बास्केटबलका लागि सुनसरी जिल्ला बास्केटबल सङ्घका सचिव विकास चाम्लिङ राई र फुटबलका लागि सुनसरी जिल्ला खेलकुद विकास समितिका सदस्य गोपाल कार्कीलाई व्यवस्थापनको जिम्मेवारी तोकिएको बताइएको छ ।

सुनसरी जिल्लाका हिसानमा आबद्ध ३३ विद्यालयले भाग लिने स्पोर्टस मिटमा १ हजार भन्दा बढी विद्यार्थीले प्रत्यक्ष रूपमा सहभागिता जनाउने र ६ हजारभन्दा बढी विद्यार्थी अप्रत्यक्ष रूपमा सहभागी हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगता सम्पन्न गर्न १० लाख रुपैयाँ खर्च लाग्ने र सो खर्च हिसान सुनसरी आफैँले आन्तरिक रूपमा सङ्कलन गर्ने हिसान सुनसरीका सचिव पेशल पोखरेलले बताए ।

एक सातासम्म हुने प्रतियोगिताको समापन धरानस्थित नेशनल कलेजमा गरिने आयोजकले जनाएको छ ।