इटहरी : उद्योग वाणिज्य संघ इटहरीको आगामी असार २७ गते हुने निर्वाचनका लागि पुराना स्थापित युवा व्यवसायीहरूको साझा समूहबाट अध्यक्ष पदका उम्मेदवार नवराज काफ्ले यतिबेला चुनावी अभियानलाई तीव्र बनाइरहेका छन्।

सहयोगी स्वभाव, इमान्दारिता र व्यवस्थापकीय क्षमताका आधारमा व्यवसायीहरूको सहमतिबाट साझा समूहको नेतृत्व गर्दै उनी अध्यक्ष पदको प्रतिस्पर्धामा उत्रिएका हुन्। नेपाली कांग्रेस, नेकपा एमालेलगायतका राजनीतिक दलहरूको समर्थन रहेको साझा प्यानलका तर्फबाट उम्मेदवारी दिएका काफ्ले इटहरीको आर्थिक तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएको परिवारका सदस्यका रूपमा पनि परिचित छन्।

निर्वाचन नजिकिँदै जाँदा काफ्ले नेतृत्वको टोली मतदाताको घरदैलो अभियानमा सक्रिय छ। नयाँ सोच, ऊर्जाशील नेतृत्व र युवा सहभागितालाई प्राथमिकता दिएको उनको प्यानलमा अधिकांश उम्मेदवार युवा व्यवसायी रहेका छन्। यसले विशेषगरी युवा व्यवसायीमाझ सकारात्मक चर्चा पाएको दाबी गरिएको छ।

काफ्ले यसअघि उद्योग वाणिज्य संघ इटहरीका तीन कार्यकाल विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका अनुभवी व्यवसायी हुन्। विशेषगरी भवन निर्माण समितिको कोषाध्यक्षका रूपमा उनले निर्वाह गरेको भूमिकालाई व्यवसायीहरूले स्मरण गर्ने गरेका छन्। संघको सुविधासम्पन्न भवन निर्माणमा आफ्नो योगदान रहेको उनी बताउँछन्।

कम बोल्ने तर जिम्मेवारी पूरा गर्ने स्वभावका रूपमा परिचित काफ्ले हालसम्म कुनै विवादमा नजोडिएको दाबी गर्दै विभिन्न सामाजिक तथा व्यावसायिक संस्थामार्फत पनि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

व्यवसायिक रूपमा उनी इँटाभट्टा, होटल, कृषि र ट्रेडिङ क्षेत्रमा संलग्न छन्। बुवा जीवनाथ काफ्लेले स्थापना गरेको इँटाभट्टा व्यवसायबाट व्यावसायिक यात्रा सुरु गरेका उनले पछिल्लो समय विभिन्न क्षेत्रमा लगानी विस्तार गरेका छन्। बहुआयामिक व्यवसायिक अनुभवका कारण व्यवसायीका समस्या नजिकबाट बुझेको र समाधानमुखी नेतृत्व दिन सक्ने विश्वास उनका समर्थकहरूले व्यक्त गरेका छन्।

काफ्लेले अध्यक्षमा उम्मेदवारी केवल व्यक्तिगत चाहनाका लागि नभई व्यवसायीहरूको आग्रह र विश्वासका आधारमा दिएको बताएका छन्। उनले संघलाई प्रविधिमैत्री बनाउने, अनलाइनमार्फत सदस्यता तथा नवीकरण प्रणाली लागू गर्ने, व्यवसायी राहत कोष स्थापना गर्ने, सेवा प्रवाहलाई छिटो र पारदर्शी बनाउनेलगायतका एजेन्डा सार्वजनिक गरेका छन्।

यसअघि पाएका जिम्मेवारी सफलतापूर्वक पूरा गरेको अनुभवलाई आधार बनाउँदै काफ्लेले उद्योग वाणिज्य संघ इटहरीलाई अझ प्रभावकारी, पारदर्शी र व्यवसायीमैत्री संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।