इटहरीः यही असार २७ गते हुने उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा वाणिज्य सदस्य पदका उम्मेदवार युवा व्यवसायी दिनेश धमलाले आफ्नो उम्मेदवारी पद प्राप्तिका लागि नभई उद्योगी–व्यवसायीको सेवा गर्ने उद्देश्यले दिएको बताएका छन्।
अंग्रेजी विषयमा स्नातकोत्तर (मास्टर्स) अध्ययन पूरा गरेका धमला नवीन सोच र सकारात्मक कार्यशैली भएका युवा व्यवसायीका रूपमा परिचित छन्। व्यवसायीका समस्या नजिकबाट बुझेका उनले उद्योग वाणिज्य संघलाई व्यवसायीको साझा हित र अधिकारका लागि अझ प्रभावकारी संस्थाका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताए।
निर्वाचनको मिति नजिकिँदै जाँदा इटहरी बजार क्षेत्रमा धमलाको पक्षमा सकारात्मक माहोल बन्दै गएको उनका समर्थकहरूको दाबी छ। व्यवसायीहरूसँग निरन्तर भेटघाट र छलफलमा सक्रिय रहेका धमलाले साना तथा ठूला सबै व्यवसायीका समस्यालाई समान रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले व्यवसायीको हकहित, सहज व्यवसायिक वातावरण, पारदर्शी कार्यशैली तथा समयअनुकूल योजनामार्फत उद्योग वाणिज्य संघलाई थप प्रभावकारी बनाउने आफ्नो प्राथमिकता रहेको बताए।
"म पदका लागि होइन, व्यवसायीहरूको सेवाका लागि उम्मेदवार बनेको हुँ," धमलाले भने, "व्यवसायीको जुनसुकै समस्या पर्दा पनि म सतिसालझैँ साथमा उभिनेछु।"
२७ गते हुने निर्वाचनमा व्यवसायीहरूको विश्वास र साथ प्राप्त हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।




















