इटहरीः उद्योग वाणिज्य संघको मिति २०८३ असार २७ गते हुने निर्वाचन नजिकिँदै जाँदा अध्यक्ष पदकी उम्मेदवार गात्रयी कटुवाल भण्डारीको पक्षमा आम व्यवसायीहरूको समर्थन र माहोल दिनप्रतिदिन बलियो बन्दै गएको दाबी गरिएको छ। यसैबीच, उनको बढ्दो जनसमर्थनलाई कमजोर बनाउन केही पक्षबाट विभिन्न किसिमका भ्रमपूर्ण सूचना र अफवाह फैलाउने प्रयास भइरहेको आरोप समेत लगाइएको छ।
व्यवसायीहरूको भनाइअनुसार अहिलेका अधिकांश मतदाता शिक्षित, सचेत र आफ्नो विवेकले निर्णय गर्न सक्ने अवस्थामा पुगेकाले कुनै पनि किसिमका भ्रम, अफवाह वा आश्वासनका आधारमा प्रभावित नहुने वातावरण बनेको छ। निर्वाचनको अन्तिम समयमा मतदातालाई अन्योलमा पार्ने उद्देश्यले मत बदर सम्बन्धी विभिन्न हल्ला फैलाइए पनि त्यसमा विश्वास नगर्न व्यवसायीहरूले एकअर्कालाई आग्रह गरिरहेका छन्।
यतिबेला विशेषगरी मत बदर सम्बन्धी विषयलाई लिएर विभिन्न चर्चा र टिकाटिप्पणी भइरहेका छन्। उद्योग वाणिज्य संघको विधानको परिच्छेद–७, दफा २१(५) मा मतदान गोप्य प्रणालीबाट हुने, निर्वाचन आयोगले तोकेको मिति, समय र स्थानमा मतदान गरिने तथा प्रत्येक मतदाताले अध्यक्ष पदमा १ जना र वाणिज्यतर्फ ९ जना उम्मेदवारसम्म मतदान गर्न सक्ने व्यवस्था उल्लेख गरिएको छ। तर, उक्त दफामा सबै उम्मेदवारलाई अनिवार्य रूपमा मतदान गर्नुपर्ने वा कम उम्मेदवारलाई मतदान गर्दा मत बदर हुने भन्ने कुनै स्पष्ट व्यवस्था उल्लेख नभएको दाबी गरिएको छ।

यस विषयमा उद्योग वाणिज्य संघका पूर्व कार्यसमिति सदस्य तथा विधान संशोधन समिति सदस्य दिलीप पराजुलीसँग गरिएको छलफलमा अघिल्लो निर्वाचनमा समेत वाणिज्यतर्फ सबै उम्मेदवारलाई मतदान नगरी १ वा २ जना उम्मेदवारलाई मात्र मतदान गर्दा पनि मत बदर नभएको नजिर रहेको जानकारी प्राप्त भएको छ।
व्यवसायीहरूको भनाइमा निर्वाचनको अन्तिम समयमा मतदातालाई भ्रममा पार्ने उद्देश्यले विभिन्न व्याख्या र प्रचारबाजी गरिनु स्वस्थ निर्वाचन संस्कृतिअनुकूल नभएको उल्लेख गरिएको छ। उनीहरूले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन तथ्यमा आधारित सूचना मात्रै सार्वजनिक गर्न तथा आधारहीन प्रचारप्रसारबाट टाढा रहन सबै पक्षलाई आग्रह गरेका छन्।
यता, मतदाता व्यवसायीहरूले निर्वाचन समितिसँग पनि मतदान प्रक्रिया तथा मत बदर सम्बन्धी विषयमा आवश्यक परे थप आधिकारिक स्पष्टिकरण जारी गर्न माग गरेका छन्, ताकि मतदानका दिन कुनै अन्योल वा भ्रम सिर्जना नहोस्। व्यवसायीहरूको विश्वास छ कि अन्ततः मतदाताको विवेक, संघको विधान र लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्दै हुने मतदानले उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन गर्नेछ।



















