इटहरीःउद्योग वाणिज्य संघ इटहरीको शनिबार हुने निर्वाचनअघि गरिएको एक प्रारम्भिक मत सर्वेक्षणले अध्यक्ष पदकी स्वतन्त्र उम्मेदवार गायत्री कटुवाल भण्डारी अग्रस्थानमा रहेको संकेत गरेको छ।

प्रदेश पोर्टलले व्यवसायीहरूमाझ गोप्य रूपमा गरेको दाबी गरिएको प्रारम्भिक मत सर्वेक्षणअनुसार अध्यक्ष पदमा भण्डारीको पक्षमा उल्लेख्य समर्थन देखिएको जनाइएको छ। सर्वेक्षणमा सहभागी अधिकांश व्यवसायीहरूले अध्यक्ष पदका लागि भण्डारीलाई मतदान गर्ने मनसाय व्यक्त गरेको बताइएको छ।

सर्वेक्षणअनुसार अध्यक्ष पदमा भण्डारीलाई विभिन्न राजनीतिक दलप्रति आस्था राख्ने व्यवसायीहरूको समेत समर्थन प्राप्त हुने देखिएको छ। अन्य पदहरूमा भने मिश्रित नतिजा आउन सक्ने अनुमान गरिएको छ।

इटहरी उपमहानगरपालिकाका विभिन्न वडाका मुख्य बजार क्षेत्रमा गरिएको भनिएको यो सर्वेक्षणमा धेरै व्यवसायीहरूले यसपटक नेतृत्व परिवर्तनको पक्षमा मत दिने मनस्थिति बनाएको दाबी गरिएको छ। उद्योग वाणिज्य संघलाई सीमित समूह वा व्यक्तिको प्रभावबाट मुक्त गरी विशुद्ध व्यवसायीहरूको साझा संस्थाका रूपमा अघि बढाउनुपर्ने धारणा व्यवसायीहरूबीच बलियो बन्दै गएको सर्वेक्षणको निष्कर्ष रहेको जनाइएको छ।

WhatsApp Image 2026-07-10 at 22.23.36

सर्वेक्षणका क्रममा केही व्यवसायीहरूले बाहिरबाट साझा समूहका उम्मेदवारलाई समर्थन गरेको देखिए पनि गोप्य मतदानमा भने स्वतन्त्र उम्मेदवार भण्डारीलाई मत दिने वातावरण रहेको दाबी गरिएको छ। अध्यक्ष पदसँगै केही सदस्य पदमा पनि स्वतन्त्र समूहका उम्मेदवारलाई मतदान गर्नुपर्ने सन्देश सामाजिक सञ्जालमार्फत आदान–प्रदान भइरहेको दाबी समेत गरिएको छ। यद्यपि, यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन।

साझा समूह निकट एक व्यवसायीलाई उद्धृत गर्दै सर्वेक्षणमा अध्यक्ष पदमा भण्डारीले १५० देखि २६० मतसम्मको अन्तरले विजयी हुन सक्ने अनुमान गरिएको उल्लेख छ। उनका अनुसार कतिपय व्यवसायी सार्वजनिक रूपमा अर्का उम्मेदवारको पक्षमा देखिए पनि गोप्य मतदानमा फरक निर्णय गर्न सक्ने अवस्था रहेको छ।

सर्वेक्षणले करिब २ हजार ३ सयभन्दा बढी मतदाता रहेको निर्वाचनमा १ हजार ७ सय ५० हाराहारी मत खस्ने अनुमान गरेको छ। केही मत बदर हुन सक्ने आकलनसहित करिब ८ सय मत प्राप्त गर्ने उम्मेदवारले अध्यक्ष पद जित्ने सम्भावना रहेको उल्लेख गरिएको छ। सर्वेक्षणअनुसार सो मत संख्याभन्दा माथि पुग्ने सम्भावना भण्डारीको पक्षमा देखिएको दाबी गरिएको छ।

यदि निर्वाचन परिणाम सर्वेक्षणअनुसार आएमा गायत्री कटुवाल भण्डारी उद्योग वाणिज्य संघ इटहरीको पहिलो निर्वाचित महिला अध्यक्ष बन्नेछिन्।मतदान भोली बिहान ९ बजेबाट इटहरी ५ को ज्योती माविमा हुने छ ।