इटहरीः उद्योग वाणिज्य संघ इटहरीको नवगठित कार्यसमितिले युवा व्यवसायी दिनेश धमलालाई कोषाध्यक्षको महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ। गत असार २७ गते सम्पन्न निर्वाचनमा वाणिज्य सदस्यतर्फ लोकप्रिय मतसहित विजयी भएका धमलालाई बुधबार सम्पन्न ११औँ पदस्थापन समारोहपछि बसेको पहिलो कार्यसमिति बैठकले कोषाध्यक्षमा चयन गरेको हो।
निर्वाचनअघि उद्योगी–व्यवसायीबीच लोकप्रिय छवि बनाएका धमला रेडिमेड व्यवसायी संघ इटहरीका कोषाध्यक्षसमेत हुन्। स्नातकोत्तर (मास्टर्स) अध्ययन गरेका उनी इमानदार, सक्रिय र जिम्मेवारी बहन गर्न सक्षम भएकाले कोषाध्यक्षको जिम्मेवारी दिइएको बताइएको छ।

इटहरी उपमहानगरपालिका क्षेत्रभित्रका उद्योगी–व्यवसायीको प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य संघको कोष सञ्चालन गर्नु सामान्य जिम्मेवारी होइन। पछिल्ला वर्षहरूमा देखिएको आर्थिक मन्दीका कारण संघको आम्दानीमा समेत प्रत्यक्ष असर परेको छ।
यसअघि हरेक वर्ष करिब ७ हजारदेखि ९ हजारसम्म उद्योगी–व्यवसायीले सदस्यता नवीकरण गर्ने गरे पनि निर्वाचन नजिकिँदा अध्यक्ष पदका उम्मेदवारहरूले आफ्नै खर्चमा सदस्यता नवीकरण गरिदिने प्रवृत्ति मौलाएको थियो। उक्त अभ्यास अन्त्य गर्न निवर्तमान अध्यक्ष जीवन पराजुलीले पहल गरेपछि यस वर्ष करिब २ हजार ३ सय व्यवसायीले मात्र सदस्यता नवीकरण गरेका थिए। यसले संघको आर्थिक अवस्थामै असर परेको थियो।

अब कोषाध्यक्ष धमलाको काँधमा व्यवसायीलाई स्वयं सदस्यता नवीकरण गर्न प्रेरित गर्दै संघको आम्दानी वृद्धि गर्ने महत्वपूर्ण जिम्मेवारी आएको छ। साथै, अघिल्लो कार्यसमितिबाट हस्तान्तरण भएका आर्थिक दायित्व व्यवस्थापन गर्ने, निर्माणाधीन संघ भवनका बाँकी संरचना सम्पन्न गर्न आर्थिक स्रोत जुटाउने तथा संघलाई आर्थिक रूपमा सबल बनाउने चुनौती पनि उनकै जिम्मामा छ।
नवनिर्वाचित अध्यक्ष गायत्री कटुवाल भण्डारीले निर्वाचनका क्रममा घोषणा गरेको अक्षयकोष स्थापना गर्ने अभियानलाई सफल बनाउने जिम्मेवारी पनि कोषाध्यक्ष धमलाकै काँधमा आएको छ। अध्यक्ष कटुवालले पदस्थापनकै दिन अक्षयकोषका लागि रु. ८ लाख ८ हजार ८ सय ८८ सहयोग घोषणा गर्दै अभियानको सुरुआत गरिसकेकी छन्। अब उक्त कोषलाई नेपालकै उद्योग वाणिज्य संघहरूमध्ये उदाहरणीय बनाउने लक्ष्य पूरा गर्न दाताहरूको विश्वास जित्दै थप सहयोग जुटाउनु पर्ने चुनौती रहेको छ।
यससँगै संघलाई ऋणमुक्त बनाउने, आम्दानीका नयाँ स्रोत खोज्ने, दैनिक आय–व्ययको पारदर्शी अभिलेख राख्ने, अनावश्यक खर्च नियन्त्रण गर्ने तथा वित्तीय अनुशासन कायम गर्ने जिम्मेवारी पनि कोषाध्यक्षको भूमिकासँग जोडिएको छ।
नवनियुक्त कोषाध्यक्ष दिनेश धमलाले आफूलाई दिइएको जिम्मेवारी इमानदारी, पारदर्शिता र उत्तरदायित्वका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उद्योगी–व्यवसायीको विश्वास जित्दै उद्योग वाणिज्य संघ इटहरीलाई आर्थिक रूपमा अझ बलियो र संस्थागत रूपमा सक्षम बनाउने आफ्नो प्राथमिकता रहने उनको भनाइ छ।




















