कप्तानगञ्ज गोलीकाण्डको प्रतिवेदन सार्वजनिक नहुँदै नाम जोडेर प्रचार गरिएको भन्दै सांसद थापाको आपत्ति
भदौ ३, २०८३
प्रदेश पोर्टल
इटहरीः सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जको गोलीकाण्डसँग जोडेर आफूलाई कारबाही सिफारिस गरिएको भन्दै भइरहेको प्रचारप्रति सुनसरी क्षेत्र नं २ का सांसद लालबिक्रम थापालेगम्भीर आपत्ति जनाएका छन्।
आधिकारिक प्रतिवेदन सार्वजनिक नै नभइसकेको अवस्थामा आफ्नो नाम जोडेर भ्रमपूर्ण सूचना फैलाइएको थापाको दाबी छ। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले आफू अपराधी नभएको र घटनामा संलग्न दोषीलाई कानुनी कठघरामा उभ्याउन आफू सक्रिय रहेको बताएका छन्।
‘आमा १ म अपराधी होइन । अपराधीलाई कानूनको कठघरामा उभ्याउने तपाईंको बहादुर छोरो हुँ,’ थापाले लेखेका छन्।
थापाले आफूविरुद्ध भइरहेको प्रचारलाई झुटो, आधारहीन र योजनाबद्ध भएको आरोप लगाएका छन्। उनले सुनसरी–४ का सांसद दीपक शाह र उनको सचिवालयसँग सम्बद्ध केही कर्मचारीले सरकारी प्रतिवेदनको नाम दुरुपयोग गरी आफ्नो नाम जोडेर भ्रमपूर्ण प्रचार गरेको दाबी गरेका छन्।
सरकारी प्रतिवेदनका रूपमा प्रचार गरिएको सामग्री आधिकारिक नभएको र आफैं चार पाना तयार पारेर सार्वजनिक गरिएको उनको आरोप छ।
‘सुनसरी क्षेत्र नं। ४ का सांसद दीपक शाह र उहाँको सचिवालयसँग सम्बद्ध केही कर्मचारीहरू मिलेर सरकारी प्रतिवेदनको नाम दुरुपयोग गर्दै आफैं चार पाना लेखेर मेरो नाम जोडेर भ्रमपूर्ण प्रचार गराउनु अत्यन्तै गम्भीर र निन्दनीय विषय हो,’ थापाले भनेका छन्।
उनले आफूविरुद्ध समाचार प्रकाशन तथा प्रसारण गर्ने सञ्चारमाध्यम र सञ्चारकर्मीलाई समाचार सम्प्रेषण गर्नुअघि तथ्य पुष्टि गर्न आग्रह गरेका छन्। सम्बन्धित निकायसँग आधिकारिक जानकारी लिएर मात्रै समाचार प्रकाशन तथा प्रसारण गर्नुपर्ने उनको भनाइ छ।
‘मेरो लेख्दा कुनै आपत्ति छैन । मेरो आपत्ति त झुटा र भ्रामक सूचना योजनाबद्ध रूपमा उत्पादन तथा प्रचार गर्नेहरूप्रति मात्र हो,’ थापाले स्पष्ट पारेका छन्।
आफूमाथि विगतमा पनि पटक–पटक यस्ता आरोप र प्रचार हुने गरेको उल्लेख गर्दै उनले यस्ता गतिविधिले सर्वसाधारणमा भ्रम सिर्जना गर्न सक्ने भएकाले संवेदनशील बन्न आग्रह गरेका छन्।थापाले आफूविरुद्ध झुटा तथा भ्रामक सूचना उत्पादन र प्रचारमा संलग्न व्यक्तिविरुद्ध प्रचलित कानुनबमोजिम कानुनी उपचार खोज्ने चेतावनीसमेत दिएका छन्।
‘सत्यलाई केही समय भ्रमले ढाक्न सकिएला, पराजित गर्न सकिँदैन । कानूनको कठघरामा सत्य र असत्यबीचको फैसला अवश्य हुनेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
देवानगञ्ज गोलीकाण्डपछि घटनाको अनुसन्धान, दोषीमाथिको कारबाही तथा विभिन्न व्यक्तिको भूमिकाबारे फरक–फरक दाबी सार्वजनिक भइरहेका छन्। यही क्रममा सांसद थापाले आफूलाई घटनासँग जोडेर भइरहेको प्रचार तथ्यहीन रहेको दाबी गर्दै त्यसको कानुनी र तथ्यगत रूपमा प्रतिवाद गर्ने बताएका हुन्।