इटहरीःः पछिल्लो एक महिनामा दैनिक भान्साका अत्यावश्यक तरकारी, फलफूल तथा खाद्यवस्तुको मूल्यमा भारी वृद्धि भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको गत असारको बजार मूल्य विश्लेषण प्रतिवेदन अनुसार हरियो तरकारी र फलफूलको मूल्य २५३ प्रतिशतसम्म महँगिएको हो । 

उक्त प्रतिवेदनका अनुसार सबैभन्दा बढी मूल्यवृद्धि सानो गोलभेँडा (लोकल) मा देखिएको छ । वैशाख र जेठमा भन्दा स्थानीय सानो गोलभेँडाको मूल्य २५३ प्रतिशतले बढेको छ भने टनेलमा उत्पादन गरिएको सानो गोलभेँडाको मूल्य १५८.६ प्रतिशतले वृद्धि भएको छ । 

यस्तै सो अवधिमा दैनिक उपभोग्य बुलेट हरियो खुर्सानीको मूल्यमा १७९/४ प्रतिशतले वृद्धि भएको छ । अत्यधिक मूल्य बढेका वस्तुमा आँप (दसहरी) १६० प्रतिशत, पिँडालु १५७ प्रतिशत, रायोको साग र तनेबोडी १५० प्रतिशतसम्म मूल्य बढेको छ । हरियो खुर्सानी १७९।४ प्रतिशतले वृद्धि देखिएको छ भने पिँडालुको मूल्य वैशाख र जेठको तुलनामा असारमा १५७ प्रतिशतले बढेको छ । 

उत्पादनमा कमी, ढुवानी खर्चमा वृद्धि र बिचौलियाको चलखेलका कारण तरकारीको मूल्यमा यस्तो तीव्र उतारचढाव आएको विश्लेषण गरिएको छ । च्याउ (सिताके) र छ्यापी जस्ता केही वस्तुको मूल्य भने स्थिर रहेको पाइएको छ । 

खाद्यान्नतर्फ निश्चित प्रकारका चामल, दाल, गेडागुडी तथा उपभोग्य तेलको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । खाद्यान्नतर्फ वैशाख र जेठको तुलनामा असारमा सोना मन्सुली, स्टिम जिरा र मोटा चामलको मूल्यमा प्रतिकेजीमा २० रुपियाँ वृद्धि भएको छ । प्रतिवेदन अनुसार असारमा चिनीको खुद्रा मूल्य प्रतिकेजी ११० रुपियाँमा कारोबार भएको थियो । यस अवधिमा मासुको मूल्य सामान्यतः स्थिर देखिए पनि अन्डाको मूल्यमा भने वृद्धि भएको छ । बर्डफ्लुको त्रासका कारण ब्रोइलर कुखुराको मूल्यमा केही सहरमा सामान्य गिरावट आएको प्रतिवेदनमा उल्लेख छ । दुग्धजन्य पदार्थतर्फ घिउ र पनिरको मूल्यमा सहर अनुसार फरक फरक अवस्था देखिएको छ । 

पूर्वसचिव कृष्णहरि बाँस्कोटाले महँगीको कारक इन्धन र डलर बजार मूल्यलाई प्रभाव पार्ने मुख्य तìवमा पेट्रोलियम पदार्थको स्थिर तर उच्च मूल्य र अमेरिकी डलरको विनिमयदरमा उतारचढाव आएको बताए । छिमेकी राष्ट्र भारतमा खाद्यान्न तथा तरकारीको मूल्यमा भएको वृद्धि र त्यहाँबाट आपूर्ति शृङ्खलामा देखिएका समस्याले नेपालको बजारलाई प्रत्यक्ष प्रभाव पार्ने गरेको र त्यसको प्रभाव देखिएको उनको भनाइ छ ।

उनका अनुसार असारमा पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य घट्न नसक्दा ढुवानी र उत्पादन लागत बढ्न गई उपभोक्ता मूल्यमा चाप परेको हो । यसै गरी अमेरिकी डलरको विनिमय दरमा भएको उतारचढावले आयातित वस्तुको मूल्यमा समेत प्रत्यक्ष प्रभाव पारेको छ ।

विभागका निर्देशक अनिल किराँतीले अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न सरकारले मूल्य स्थिरीकरण कोष र बजार अनुगमनलाई तीव्रता दिँदै आएको जानकारी दिए। साथै विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्नेलाई तत्काल कारबाही गर्ने चेतावनीसमेत दिएको उनको भनाइ छ ।