गैँडाकोटः नवलपुरको गैँडाकोट नगरपालिका–१४ का साढे दुई वर्षीय शिवान तामाङ तीन दिनदेखि हराएपछि गरिएको व्यापक खोजीका क्रममा सकुशल फेला परेका छन् । शंखदेवी सामुदायिक वनमा हराएका शिवान भदौ ४ गते बिहान जंगलको भागर खोलाको सिरानस्थित एक कोप्चेरोमा रुँदै गरेको अवस्थामा भेटिएका हुन् ।

भदौ २ गते बिहान करिब ७ बजे शिवानकी हजुरआमा हेमकुमारी आले च्याउ टिप्न घरनजिकै रहेको शंखदेवी सामुदायिक वनतर्फ लागेकी थिइन् । हसिया र झोला बोकेर जंगलतर्फ गएकी हेमकुमारीलाई उनका साढे दुई वर्षीय नाती शिवान पनि पछ्याउँदै आएको पत्तै भएन ।

घरभन्दा केहीमाथि पुगेपछि एक स्थानीयले शिवानलाई ‘बाबु कता जान लागेको रु हजुरआमा त अगाडि गइसक्नुभयो’ भनेर सोधेका थिए । त्यसपछि शिवान हजुरआमालाई पछ्याउँदै जंगलतर्फ लागेका थिए ।

हेमकुमारी च्याउ टिपेर घर फर्किएपछि मात्रै शिवान घरमा नरहेको थाहा भयो । त्यसपछि परिवार, आफन्त र स्थानीयले खोजी सुरु गरे । सम्भावित बाटोदेखि जंगलका विभिन्न क्षेत्रमा खोजी गर्दा पनि शिवान फेला परेनन् ।

घटनाबारे दिउँसो करिब २ बजे इलाका प्रहरी कार्यालय गैँडाकोटलाई जानकारी गराइएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय रजहर, अस्थायी प्रहरी पोष्ट बेल्डिया तथा सशस्त्र प्रहरीलाई समेत खबर गरी खोजी अभियान तीव्र पारिएको थियो ।

पहिलो दिन नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिब ५० जना तथा स्थानीय करिब दुई सय गरी झण्डै २५० जनाको टोली परिचालन भयो । टोलीले राति ८ बजेसम्म टर्चको सहायताले जंगलका विभिन्न क्षेत्रमा खोजी गरे पनि शिवानको अवस्था पत्ता लागेन ।

भदौ ३ गते पनि करिब २५० जनाको टोलीले जंगलको कुना–कुना खोज्यो । दोस्रो दिन पनि कुनै सुराक फेला नपरेपछि परिवार र खोजीमा खटिएका टोली थप चिन्तित बने ।

भदौ ४ गते बिहान पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीसहित ठूलो संख्यामा टोली परिचालन गरिएको थियो । खोजीका क्रममा बिहान करिब १० बजे शिवानलाई शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलाको सिरानमा रहेको एक कोप्चेरोमा रुँदै गरेको अवस्थामा फेला पारियो ।

तीन दिनदेखि जंगलमा हराएका बालक सकुशल भेटिएपछि खोजीमा खटिएका प्रहरी, स्थानीयवासी र परिवारका सदस्यमा खुसी छाएको थियो । उद्धारपछि शिवानलाई तत्काल भरतपुरस्थित सरकारी अस्पताल लगेर स्वास्थ्य परीक्षण गरिएको थियो ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार शिवानको स्वास्थ्य अवस्था सामान्य रहेको छ । शरीरका केही भागमा फोका देखिए पनि अन्य कुनै गम्भीर समस्या नदेखिएको उनले बताए ।

‘म भर्खरै शिवानलाई भेटेर आएको हुँ । उहाँ ठीक हुनुहुन्छ, स्वास्थ्य अवस्था राम्रो छ । चिन्ता मान्नुपर्ने अवस्था छैन,’ प्रहरी निरीक्षक गिरीले भने ।

तीन दिनसम्म घना जंगलमा हराएका साढे दुई वर्षीय बालक सकुशल भेटिएपछि परिवारले राहतको महसुस गरेको छ भने खोजीमा निरन्तर खटिएका स्थानीय तथा सुरक्षाकर्मीको प्रयासको पनि प्रशंसा गरिएको छ ।