काठमाडौंः पढाइमा ‘निकै तगडा’ मानिएका एक बालकले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका थिए तर एउटा विषयको परीक्षा उनले लेख्न सकेनन्। कारण थियो– त्यस दिन उनले ‘डोज’ लिन पाएनन्। अर्थात्, लागुऔषध प्रयोग गर्न पाएनन्।

अरू सबै दिन परीक्षा लेखे पनि एउटा विषयले उनलाई परीक्षा नतिजामा मात्रै क्षति गरेन, लागुऔषध कसरी बालबालिकामा फैलिरहेको छ भन्ने पनि देखायो। एउटा बालकमा लागुऔषधको ‘डोज’ नपुग्दा ऊ परीक्षा दिन स्कुल जानै नसक्नुले उसको अवस्था सामान्य देखाउँदैन।

इलाम बजारनजिककै एक बालकले आधारभूत तहसमेत पार नगरी स्कुल छाडे। सामान्य आर्थिक अवस्था रहेको परिवारबाट ‘डोज’ पुग्ने पैसा आउन छाडेपछि उनी गाउँघरमा चोरीचकारीमा समेत लागे। जसको घरमा जे भेटिन्छ, त्यही चोरी गरेरअरूलाई सस्तो दाममा बेचिदिने अनि आएको पैसाबाट लागुऔषधको आवश्यकता पूरा गर्नु उनको दिनचर्या बन्यो। केही समयअघि इलाम नगरकै अर्का बालक कक्षामा सामान्य रूपमा रहेका बेला विस्तारै उनको व्यवहारमा परिवर्तन आउन थाल्यो। उनले अनुशासन उल्लंघन गर्न थाले। एकान्त मन पराउने र डराउने गर्न थाले। केही सातापछि स्कुल आउन छाडेका उनी पनि लागुऔषध प्रयोगमै लागेको परिवारजनले थाहा पाए। परिवारजनले थाहा पाउँदा उनी लागुऔषधका प्रयोगकर्ता मात्र थिएनन्, चोरीमा समेत लागिरहेका थिए।

यहींका एक बालकलाई केही वर्षअघि सुधार गृहमै राख्नुपर्ने अवस्था आयो। लागुऔषधमै फसेर स्कुल छाडिसकेका उनलाई स्कुलले सुधार गृहमै परीक्षा दिने व्यवस्थाचाहिँ मिलाइदिएको त्यस स्कुलमा प्रधानाध्यापकले बताए। सदरमुकामकै निजी स्कुलकी एक बालिकाको पनि अवस्था उही बन्यो। उनले पनि स्कुलको पढाइ लागुऔषध प्रयोगकै कारण छाडिन्।

इलाम सदरमुकाम, जिल्लाका बजार क्षेत्र, आसपासका कतिपय बालक र किशोर मात्र होइन, बालिका र किशोरीसमेत लागुऔषधमा फसिरहेका छन्। इलामका प्रायः बजार क्षेत्र र कतिपय गाउँमा लागुऔषध प्रयोगकर्ताको संख्या ‘चुनौतीपूर्ण’ रूपमा बढिरहेको स्थानीय अगुवा बताउँछन्।

 प्रयोगकर्ता मात्र नभई यसका कारोबारीको चहलपहलसमेत धेरै छ, तर स्कुल विद्यार्थी यसमा नराम्रोसँग जकेडिँदै गएका छन्। कतिपय बालक र किशोरले मावि तह नपुग्दै पढाइसमेत छाडेका छन्। घरपरिवारको आर्थिक अवस्था कमजोर भएका बालक र किशोर लागुऔषध प्रयोगका लागि पैसा जुटाउन चोरीमा लाग्ने गरेको देखिएको छ।  

‘गाउँमा खोरबाटै कुखुरा हराउने, झर्के थाल चोर्ने, आफ्नै घरका सामानसमेत कतिपय बालकले चोरी गरेको पाइएको छ’, इलाम नगरपालिका बरबोटेका एक अगुवा भन्छन्, ‘बाहिर खास देखिँदैन, बालक र किशोरहरू नराम्रोसँग लागुऔषधमा फस्ने क्रम निरन्तर छ।’

उनले लागुऔषधका कारण हुने गरेका धेरैजसो घटना प्रहरीमा नपुग्ने गरेको बताए। ‘प्रहरीमा पुगेपछि आफ्नो सन्तान र आफूसमेत कानुनी झन्झटमा फस्नुपर्ने डरले अभिभावकले पनि प्रहरीलाई भन्दैनन्’, उनले भने, ‘घटना भित्रभित्रै लुकाउने गर्नाले पनि बालक र किशोरमा लागुऔषध भुसको आगो झैं सल्किरहेको छ।’

लागुऔषध कुलतको सञ्जालले सामुदायिक र संस्थागत दुवैखाले स्कुलका विद्यार्थीलाई छोएको छ। कतिपय स्कुलमा बाहिर देखिने घटना भएका छन् भने कतिपयमा सुषुप्त अवस्थामा यसको असर फैलिइरहेको सदरमुकामकै निजी स्कुलका एक शिक्षक बताउँछन्। ‘विद्यार्थीमा चुरोट त अहिले सामान्य झैं भइसकेको छ, लागुऔषध प्रयोगले विद्यार्थीलाई सोझो असर गरिरहेको छ’, उनले भने, ‘भित्रभित्रै सल्किरहेको यो आगो बेलैमा निभाउन सकिएन भने सबैलाई पिरोल्ने देखिएको छ।’

इलाम बजार, टुँडिखेलछेउछाउ, पोखरी स्कुलछेउछाउ, चियाबारी, बिब्ल्याँटे, फिक्कल, माई नगरपालिका, चुलाचुली र सूर्योदयलगायत दर्जनौं स्थानमा अहिले लागुुऔषध प्रयोगकर्ता भेटिने गरेका छन्। प्रहरीले पनि बेलाबेला लागुऔधष प्रयोगकर्तालाई नियन्त्रणमा लिने गरेको छ, तर जसरी सहरदेखि गाउँसम्म लागुऔषध फैलिरहेको छ, यसको नियन्त्रणमा पर्याप्त ध्यान पुग्न सकेको छैन। ‘सामुदायिक स्कुलका विद्यार्थी पनि यसको कुलतमा छन्’, इलामका एक प्रधानाध्यापक भन्छन्, ‘स्कुलकै वरपर लागुऔषधका धेरै घटना भएको सुनिन्छ। विद्यार्थीलाई त्यसले नछुने त कुरै भएन। जतिसक्दो चाँडो यो समस्या समाधान गर्न सकिएन भने अवस्था विकराल बन्नेछ।’

सर्वसाधारणले लागुऔषध प्रयोगकर्ता प्रायः धेरैतिर देखिएको भन्दै प्रयोगकर्ता र कारोबारीको सञ्जाल फैलिरहनुलाई गम्भीर चुनौतीका रूपमा लिएका छन्। प्रहरी भने छिटफुट रूपमा यसका प्रयोगकर्ता पक्राउ गरी लागुऔषध ‘नियन्त्रणमा सकेसम्म लागिपरेको’ जबाफ दिइरहेको छ।

जिल्ला प्रहरीको तथ्यांकले यसको प्रयोग र कारोबारमा युवाको संख्या बढी देखाउँछ, तर यसको प्रयोग गर्ने सबैको तथ्यांक नहुने भएकाले पक्राउ परेकाबाहेकको रेकर्ड नहुने गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारी बताउँछन्। ‘विगत वर्षभन्दा यो वर्ष लागुऔषधि प्रयोगकर्ता नियन्त्रणको संख्या केही कम देखिन्छ, तर प्रयोगकर्ता कति छन् भन्ने यकिन विवरण हुँदैन’, उनले भने, ‘प्रहरीले सूचना पाएसम्म नियन्त्रण गर्छ तर प्रहरी मात्रैको नियन्त्रणले यो समस्या समाधान हुँदैन, व्यक्ति स्वयं, परिवार र समाजको सहयोग आवश्यक पर्छ।’

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहेका डिएसपी भण्डारीले लागुऔषध नियन्त्रणका लागि प्रहरीले समेत स्कुलहरूमा सचेतना अभियान सञ्चालन गरिरहेको बताए। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।