विराटनगरः कोशी प्रदेश सरकार विस्तारसँगै तीन जना महिला मन्त्री बनेपछि प्रदेशसभामा त्यसको चर्चा चुलिएको छ। महिला सांसदहरूले मन्त्रिपरिषद्मा महिलाको बलियो उपस्थितिलाई ऐतिहासिक उपलब्धिका रूपमा स्वागत गरेका छन् भने एमालेका सांसद तथा पूर्वमन्त्री रामबहादुर मगरले भने व्यंग्यात्मक टिप्पणी गरेका छन्।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा विस्तार गरिएको मन्त्रिपरिषद्मा गीता तिम्सिनालाई सामाजिक विकासमन्त्री, खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरणमन्त्री र सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

महिला सहभागितालाई अधिकांश सांसदले सकारात्मक र गर्वको विषयका रूपमा व्याख्या गरेका छन्। तर, प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद मगरले भने महिला सहभागितामाथि व्यंग्य गरेका हुन्।

‘योचोटिको अर्को राम्रो पक्ष के छ भने धेरै महिला साथीहरू मन्त्रीमा आउनुभएको छ। उहाँहरूको माग पनि पूरा भएको छ,’ मगरले भने, ‘भालेहरूले मात्रै नेतृत्व गर्दा राम्रो चलेन अथवा पक्षपात भयो भन्ने उहाँहरूलाई लागेको थियो। पोथीहरू पनि सक्षम हुनुहुन्छ, अब फूल पार्ने, चल्ला निकाल्ने कामको जिम्मा पाउनुभएको छ।’

मगरले समानुपातिकतर्फबाट आएका सांसदहरूलाई समेत मन्त्री बनाइएको विषय उल्लेख गर्दै यसबाट अन्य दलले पनि सिक्नुपर्ने धारणा राखे।

उनको टिप्पणीभन्दा फरक धारणा महिला सांसदहरूले राखेका छन्। शून्य समयमा बोल्दै सांसद खगेश्वरी पौडेलले कार्यकालको अन्तिम चरणमा भए पनि तीन जना महिला मन्त्री बन्नु महत्वपूर्ण उपलब्धि भएको बताइन्।

‘कार्यकालको अन्तिममा भए पनि हामीले तीन जना महिला मन्त्री पाएका छौँ। अझ समानुपातिकबाट आएका माननीयले ठूलो मन्त्रालयको जिम्मेवारी पाउनु हाम्रो सान हो,’ उनले भनिन्, ‘महिलाले क्याबिनेट चलाउन सक्छन् भन्ने यो एउटा बलियो प्रमाण हो।’

सांसद तारादेवी ढकालले नेकपाले भाषणमा मात्र नभई व्यवहारमै महिलालाई नेतृत्वको अवसर दिएको भन्दै धन्यवाद दिइन्। कमला थापा मगरले नयाँ मन्त्रीहरूका लागि जिम्मेवारी चुनौतीपूर्ण भए पनि महत्वपूर्ण अवसर भएको बताउँदै सफल कार्यकालको शुभकामना दिइन्।

गाँजा खेती वैधानिक बनाउन माग

बैठकमा सांसद निरन राईले कोशी प्रदेशको आर्थिक समृद्धिका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने माग गरे।

उनले कोशी प्रदेशको माटो र हावापानी गाँजा खेतीका लागि उपयुक्त रहेको दाबी गर्दै कानुन बनाएर खेती खुला गर्नुपर्ने बताए। नेपालमा विगतमा गाँजा खेती वैधानिक रहेको र त्यसबाट राजस्वसमेत संकलन हुने गरेको उनले स्मरण गराए।

किसानलाई निःशुल्क विद्युत् दिन माग

सांसद गयानन्द मण्डलले नेपालमा जलविद्युत्को ठूलो सम्भावना भए पनि किसानले सिँचाइका लागि आवश्यक विद्युत् नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

भारत र बंगलादेशमा विद्युत् बेच्ने चर्चा भइरहे पनि आफ्नै किसानले बोरिङ सञ्चालन गर्न विद्युत् नपाउनु विडम्बना भएको उनको भनाइ थियो। उनले किसानलाई सिँचाइका लागि पाँच वर्षसम्म निःशुल्क विद्युत् उपलब्ध गराउन र प्रत्येक गाउँपालिकामा विद्युत् विस्तार गर्न माग गरे।

बालिका बलात्कार–हत्याबारे सांसदको आक्रोश

सांसद सुनिता गच्छदारले बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको बलात्कार तथा हत्याको घटनाप्रति आक्रोश व्यक्त गरिन्।

उनले महिलामाथि हुने यस्ता जघन्य अपराध रोक्न राज्य गम्भीर बन्नुपर्ने बताइन्। ‘आखिर कहिलेसम्म छोरी मान्छे भएकै कारणले बलात्कृत भएर मर्नुपर्ने ? यो अमानवीय अपराध सभ्य समाजका लागि स्वीकार्य छैन,’ उनले भनिन्।