हेटौँडाः लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने प्रयासले गति लिन थालेको छ । उद्योगको स्थलगत अवलोकन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गौरीकुमारी यादवले उद्योगलाई क्रमशः पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने बताएकी छन् ।

शनिबार उद्योगको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै राज्यमन्त्री यादवले हाल २० वटा लुम सफलतापूर्वक सञ्चालनमा आइसकेको र बाँकी मेसिनहरू मर्मत तथा तयारीको क्रममा रहेको जानकारी दिइन् । उनका अनुसार उद्योगमा रहेका कुल ४८८ वटा मेसिनलाई क्रमशः सञ्चालनमा ल्याउने सरकारको योजना छ ।

उनले विगतमा ठूलो रकम खर्च भए पनि उद्योग सञ्चालनमा आउन नसकेको उल्लेख गर्दै यसपटक भने सीमित स्रोतमा परिणाम देखाउने गरी काम भइरहेको दाबी गरिन् । उनका अनुसार ९ करोड रुपैयाँ खर्च हुँदा पनि विगतमा प्रशासनिक काममै ठूलो रकम सकिएको थियो भने अहिले ३३ लाख रुपैयाँको लगानीमा २० वटा लुम सञ्चालनयोग्य बनाइएको छ ।

‘अहिले हामीले २० वटा मेसिन सञ्चालनमा ल्याएका छौँ । बाँकी मेसिन पनि क्रमशः सञ्चालनमा ल्याउँछौँ,’ राज्यमन्त्री यादवले भनिन्, ‘यसलाई कतिपयले स्टन्टबाजी भन्न सक्छन् । तर हामीले काम गरेर देखाएका छौँ, यसको मूल्याङ्कन जनताले गर्नेछन् ।’

उद्योग पुनः सञ्चालनमा नेपाली सेनाले व्यवस्थापन तथा प्राविधिक पक्षमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनले बताइन् ।

राज्यमन्त्री यादवले उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ कपास स्वदेशमै विभिन्न स्थानबाट सङ्कलन गर्ने तयारी रहेको जानकारी दिइन् । स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै उद्योगलाई दीर्घकालीन र दिगो रूपमा सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ छ ।

उनले हेटौँडा कपडा उद्योगको पुनः सञ्चालन केवल सरकारी प्रयासबाट मात्र सम्भव नहुने भन्दै उद्योगलाई दिगो बनाउन आम नागरिकको साथ र सहयोग आवश्यक रहेको बताइन् ।

सरकारले बन्द अवस्थामा रहेको उद्योगलाई पुनर्जीवन दिने प्रयास अघि बढाएसँगै वर्षौँदेखि निष्क्रिय मेसिनहरू पुनः सञ्चालनमा आउन थालेका छन् । अब बाँकी मेसिनलाई समेत चरणबद्ध रूपमा सञ्चालनमा ल्याएर उद्योगलाई उत्पादनमुखी बनाउने चुनौती सरकारसामु छ ।