इटहरीः इटहरी–१३ खिरखिरिया टोलका २४ वर्षीय विक्रम सरदार डेढ वर्षदेखि दुबईमा बेपत्ता भएका छन्। वैदेशिक रोजगारीका लागि विराटनगरका एक एजेन्टमार्फत दुबई पुगेका विक्रम सम्पर्कविहीन भएपछि उनका बुबा चन्द्रलाल सरदारले छोराको खोजी गरिदिन सरकारसँग आग्रह गरेका छन्।
चन्द्रलालका अनुसार विक्रम करिब दुई लाख रुपैयाँ खर्च गरेर रोजगारीका लागि दुबई पुगेका थिए। दुबई पुगेको केही सातापछि नै उनी परिवारसँग सम्पर्कविहीन भएका हुन्। त्यसयता छोराको अवस्था अज्ञात रहेको उनले बताए।
स्थानीय एक उद्योगमा काम गर्दै आएका चन्द्रलालले बुढेसकालको सहारा आफ्नो एकमात्र छोरा बेपत्ता भएपछि आफू निकै चिन्तित बनेको बताए।
छोराको अवस्थाबारे बुझ्न काठमाडौंमा रहेको म्यानपावर कम्पनी तथा विराटनगरका एजेन्टसँग पटक–पटक सम्पर्क गर्दा समेत बेवास्ता गरिएको उनको गुनासो छ।

“ठूलो आशा बोकेर छोरालाई वैदेशिक रोजगारीमा पठाएको थिएँ। तर दुबई पुगेको केही सातामै सम्पर्कविहीन भयो। डेढ वर्ष भइसक्दा पनि उसको अवस्था थाहा पाउन सकेका छैनौँ,” चन्द्रलालले भने।
उनले आफ्नो छोराको खोजी गरी सकुशल नेपाल फर्काउन आवश्यक पहल गरिदिन आफ्नो क्षेत्रका सांसद, श्रममन्त्री, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग विशेष आग्रह गरेका छन्।
छोराको अवस्था पत्ता लगाएर सकुशल घर फर्काइदिन सरकारसँग गुहार माग्दै चन्द्रलालले सम्बन्धित निकायले तत्काल पहल गरिदिने अपेक्षा व्यक्त गरेका छन्।





















