सुनसरीः आकर्षक बगैँचा, लटरम्म फलेका ड्रागन फ्रुट र ओठमा मीठो मुस्कान—सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङको परिचय अहिले सफल कृषकका रूपमा स्थापित भएको छ।
करिब २८ वर्ष भारतीय सेनामा सेवा गरेका घले अवकाशपछि कृषि व्यवसायमा लागे। उनले विसं २०७४ मा ‘सर्जुमा ड्रागन फ्रुट कृषि फार्म’ स्थापना गरी व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती सुरु गरेका हुन्।
दुई बिघा क्षेत्रफलमा गरिएको ड्रागन फ्रुट खेतीबाट उनले वार्षिक ५५ लाखदेखि ६० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। करिब २२ वर्षअघि मलेसियाबाट ल्याइएको रातो पिङ प्रजातिको एउटा बिरुवाबाट उनले खेती सुरु गरेका थिए।
सुरुआतमा ड्रागन फ्रुटको बजार र स्वास्थ्यसम्बन्धी उपयोगिताबारे धेरै जानकारी नभए पनि बिस्तारै यसको माग र मूल्य बढ्दै गएपछि उनले खेती विस्तार गरे। हाल उनको फार्ममा करिब ५०० ड्रागन फ्रुटका बोट छन्।
अन्य फलफूलले वर्षमा एकपटक मात्र उत्पादन दिने भए पनि ड्रागन फ्रुटले मौसममा नौदेखि १० पटकसम्म उत्पादन दिने भएकाले आम्दानी नियमित हुने घले बताउँछन्। गत वर्ष फार्ममा २७ मेट्रिक टन ड्रागन फ्रुट उत्पादन भएको थियो भने यस वर्ष ३० मेट्रिक टनभन्दा बढी उत्पादन हुने अनुमान गरिएको छ।
फार्म सञ्चालन, मल, औजार र मजदुरका लागि वार्षिक करिब आठदेखि नौ लाख रुपैयाँ खर्च हुने गरेको छ। फल उत्पादनसँगै बिरुवा बिक्रीबाट पनि आम्दानी हुने गरेको घलेले बताए। उनका अनुसार वार्षिक चार लाख रुपैयाँभन्दा बढीको बिरुवा बिक्री हुन्छ।
पहिले प्रतिबोट चारदेखि पाँच रुपैयाँमा बिक्री हुने बिरुवा अहिले मागअनुसार ५० देखि ७० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। फार्मबाट ड्रागन फ्रुट खुद्रा प्रतिकिलो ३५० रुपैयाँ र थोकमा ३०० रुपैयाँमा बिक्री हुन्छ। बेमौसममा भने प्रतिकिलो ४५० देखि ५०० रुपैयाँसम्ममा बिक्री हुने गरेको घलेले बताए।
फार्ममा मासिक १६ हजार रुपैयाँ तलब पाउने दुई जना स्थायी कर्मचारी छन् भने दैनिक ८०० रुपैयाँ ज्यालामा आठदेखि नौ जना मजदुरले काम गर्छन्। फल टिप्ने र मल हाल्ने समयमा मजदुरको सङ्ख्या थपिने गरेको छ।
फार्ममा उत्पादित ड्रागन फ्रुट काठमाडौं, पोखरा, हेटौँडा र बुटवल पठाउने गरिएको छ। धरान, इटहरी, इनरुवा र विराटनगरलगायत स्थानीय बजारमा पनि बिक्री हुने गरेको छ। धेरै व्यापारी फार्ममै आएर फल खरिद गर्ने गरेका छन्।
घलेका अनुसार ड्रागन फ्रुट खेतीका लागि पानी नजम्ने, खुला र अत्यधिक चिसो नहुने स्थान उपयुक्त हुन्छ। कहिलेकाहीँ ढुसी तथा फङ्गस रोगका कारण उत्पादनमा असर पर्ने भए पनि नियमित निगरानी र व्यवस्थापन गर्न सके राम्रो उत्पादन लिन सकिन्छ।
ड्रागन फ्रुटमा वैशाखदेखि फूल लाग्न सुरु हुन्छ भने जेठको अन्तिम सातादेखि फल टिप्न सुरु गरेर कात्तिकसम्म लगातार उत्पादन हुने गरेको घलेले बताए। बत्ती जडान गरी बेमौसममा तीनदेखि चार पटकसम्म फल उत्पादन गर्न सकिने र त्यस समयमा मूल्यसमेत बढ्ने उनको भनाइ छ।
‘अल्छी नगरी मेहनत गर्दा नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ,’ घलेले भने, ‘दैनिक विदेश पलायन भइरहेका युवाले आफ्नै देशमा व्यवसाय गरेर राम्रो आम्दानी गर्न सक्छन्। अर्काको देशमा दुःख गर्नुपर्ने अवस्था आउँदैन।’
उनका अनुसार सुरुआतमा केही मेहनत गरेपछि ड्रागन फ्रुट खेतीमा ठूलो लगानी र धेरै मेहनत आवश्यक पर्दैन। बिरुवा रोपेको एक वर्षदेखि नै फल दिन सुरु गर्ने भएकाले छोटो समयमा राम्रो आम्दानी लिन सकिने उनको अनुभव छ।
ड्रागन फ्रुट खेतीमा योगदान पुर्याएबापत घलेले उत्कृष्ट किसानका रूपमा विभिन्न सङ्घसंस्थाबाट एक दर्जनभन्दा बढी सम्मान प्राप्त गरिसकेका छन्। पछिल्लो समय युवापुस्तामा पनि ड्रागन फ्रुट खेतीप्रति आकर्षण बढ्दै गएको उनले बताए।
रामधुनी नगरपालिका–७ मा मात्रै हाल १० भन्दा बढी घरधुरीले ड्रागन फ्रुट खेती गर्दै आएका छन्। विदेशबाट फर्किएका युवाले समेत यसबाट राम्रो आम्दानी गरिरहेको घलेले बताए।रासस




















