इटहरीः सुनसरीको रामधुनी नगरपालिकाले सहायक कम्प्युटर अपरेटर पदका लागि लिएको लिखित परीक्षाको नतिजामाथि प्रश्न उठेपछि छानविन समिति गठन गर्ने भएको छ।
भूमि व्यवस्थापनतर्फ करार सेवामा ६ जना सहायक कम्प्युटर अपरेटर पदपूर्तिका लागि नगरपालिकाले गत आइतबार लिखित परीक्षा सञ्चालन गरेको थियो। नतिजा सार्वजनिक भएपछि परीक्षाको निष्पक्षता र छनोट प्रक्रियामाथि स्थानीयले प्रश्न उठाएका हुन्।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेज नारायण यादवले परीक्षाको नतिजाबारे सार्वजनिक रूपमा प्रश्न उठेकाले नगरपालिका गम्भीर रहेको बताए। उनका अनुसार सर्वदलीय बैठकले समेत छानविन समिति गठन गर्न सिफारिस गरेपछि समिति बनाउने प्रक्रिया अघि बढाइएको छ।
‘परीक्षाको नतिजाका सम्बन्धमा सार्वजनिक रूपमा प्रश्न उठेका छन्। ती प्रश्नहरूमा नगरपालिका गम्भीर छ,’ यादवले भने, ‘सर्वदलीय बैठकले समेत समिति बनाउने भनेको छ। त्यसैका आधारमा चाँडै छानविन समिति गठन हुन्छ।’
नगरपालिकाका सूचना अधिकारी सुमन पौडेलका अनुसार बुधबार बसेको नगर कार्यपालिकाको बैठकले सर्वदलीय बैठकबाट आएको तीन सदस्यीय छानविन समिति गठनसम्बन्धी सिफारिस र सुझाव ग्रहण गर्ने निर्णय गरेको छ। तर, बैठकले तत्काल समिति गठन भने नगरेको उनले बताए।
प्रमुख प्रशासकीय अधिकृत यादवका अनुसार प्रस्तावित समितिमा जिल्ला प्रशासन कार्यालयका एक जना प्रतिनिधि, नगरपालिकाका एक जना प्रतिनिधि र एक जना आईटी विज्ञ रहने सम्भावना छ। यद्यपि समितिमा रहने व्यक्तिहरूको अन्तिम टुंगो लाग्न बाँकी छ।
काम विशेषले काठमाडौंमा रहेका कारण आफू कार्यपालिका बैठकमा सहभागी हुन नसकेको यादवले बताए।
नतिजा रद्द गर्न स्थानीयको माग
परीक्षाको नतिजाप्रति असन्तुष्ट स्थानीयले मंगलबार नगर प्रमुख शंकरलाल चौधरी र प्रमुख प्रशासकीय अधिकृत यादवको कार्यकक्षमा तालाबन्दी गरेका थिए। छानविन समिति गठन गर्ने सहमति भएपछि बुधबार कार्यालयमा लगाइएको ताला खोलिएको छ।
नतिजामा नाम सार्वजनिक भएका उम्मेदवारमध्ये अधिकांश नगरपालिका निकट व्यक्तिका आफन्त रहेको भन्दै स्थानीयले प्रश्न उठाएका छन्। उनीहरूले परीक्षा तथा छनोट प्रक्रिया निष्पक्ष नभएको आरोप लगाउँदै नतिजा रद्द गरी निष्पक्ष छानविन गर्न माग गरेका छन्।
स्थानीयले छानविनबाट अनियमितता पुष्टि भए दोषीमाथि कारबाही गर्नसमेत माग गरेका छन्।
नगरपालिकाले मालपोत कार्यालयको सेवा सञ्चालन गर्ने तयारीस्वरूप आवश्यक जनशक्ति व्यवस्थापन गर्न सहायक कम्प्युटर अपरेटर पदपूर्ति प्रक्रिया अघि बढाएको हो। तर, लिखित परीक्षाको नतिजामाथि विवाद उत्पन्न भएपछि अब छानविन समितिको प्रतिवेदनले पदपूर्ति प्रक्रिया कसरी अघि बढ्ने भन्ने टुंगो लगाउने भएको छ।




















