इटहरीः भोटेकोशी बाढिबाट प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ ।  उद्धार तथा राहतका लागि अग्र भागमा रहेर अहोरात्र खटिरहेका छन् सुरक्षाकर्मी । रसुवा र नुवाकोटमा मात्रै चार हजार दुई सयभन्दा बढी सैनिक परिचालन गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी उद्धारका लागि करिब १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले प्रभावित क्षेत्रमा राहत तथा अस्थायी आवासका लागि आवश्यक पर्याप्त टेन्टलगायत सामग्री पठाइएको बताउनुभयो । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले रसुवागढी, घट्टेखोला र टिमुरे, गोसाइँकुण्ड–५ को स्याफ्रुबेँसी, आमाछोदिङ्मो–१ को हाकुबेँसी तथा उत्तरगया–४ को पैरेबेँसी र वडा नं। ५ को बेत्रावती बजारलगायत क्षेत्रमा बाढीले ठुलो जनधनको क्षति पुर्‍याएको बताए । घाइतेको उपचारका लागि नुवाकोटको त्रिशूलीमा आपत्कालीन उपचार केन्द्र स्थापना गरी काठमाडौँबाट विशेषज्ञ चिकित्सकसहित खटाइएको छ । धुन्चेमा फिल्ड एम्बुलेन्ससहित मेडिकल टोली खटाइएको छ हालसम्म करिब एक हजार जनाले स्वास्थ्य सेवा पाएका छन् । धुन्चे र विदुरमा उपचार तथा अस्थायी व्यवस्थापन केन्द्र स्थापना गरिएको छ । 

सात सयको हवाई उद्धार 

बाढीका कारण रसुवागढीदेखि नुवाकोटको त्रिशूली–बट्टारसम्मको करिब ८० देखि ८१ किलोमिटर सडकखण्डमा ठुलो क्षति पुगेपछि स्थलमार्ग पूर्ण रूपमा अवरुद्ध छ । पासाङल्हामु राजमार्ग अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउन कठिनाइ भएको छ । सडकमार्ग अवरुद्ध भएपछि नेपाली सेनाले हवाई उद्धारलाई तीव्र बनाएको छ । बिहीबार साँझसम्म टिमुरे, स्याफ्रुबेँसी, धुन्चे र मैलुङ क्षेत्रबाट ११९ जना विदेशी नागरिकसहित करिब सात सय जनाको हवाई उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

उद्धार तथा राहतका लागि नेपाली सेनाका सात र निजी क्षेत्रका आठ गरी १५ वटा हवाई साधन परिचालन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा खोज तथा उद्धार कार्य गरिरहेका छन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाढी प्रभावित क्षेत्रमा अलपत्र नागरिकको जीवन बचाउनु पहिलो प्राथमिकता रहेको बताए। उनले भने, “हाम्रो पहिलो प्राथमिकता बाढी प्रभावितको ज्यान बचाउनेमै केन्द्रित छ । यससँगै राहत र उपचारको काम पनि सँगसँगै अघि बढिरहेको छ ।” उनका अनुसार खोज तथा उद्धार कार्य निरन्तर जारी रहेसँगै शव सङ्कलन, व्यवस्थापन तथा पुनस्र्थापनाको काम अघि बढाइएको छ । यो खबर आज प्रकाशित गोरखापत्र दैनिकबाट लिइएको हो ।