काठमाडौंः रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका –२ टिमुरेमा माटोमुनि पुरिएकी ६ वर्षिया बालिकाको सशस्त्र प्रहरीले शुक्रबार साँझ उद्धार गरेको छ। भोटेकोशी बाढीमा परेकाहरुको खोजी तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले माटोमुनि बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजीकार्य सुरु गरी माटोमुनि पुरिएको अवस्थामा बालिकालाई फेला पारेको हो ।
उद्धार पश्चात उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टिमुरेमा ल्याइएको छ । उनको अवस्था कमजोर हुँदै गएपछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौ ल्याउने प्रयास गरिएको छ।
रातको समय र प्रतिकुल मौसमका कारण उनलाई उपचारको लागि काठमाडौ ल्याउन कठिन भएको प्रहरीको भनाइ छ । बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरुको खोज तथा उद्धार कार्यमा सशस्त्र प्रहरी बल नेपालको टोली निरन्तर परिचालन भएको छ ।




















