काठमाडौँः प्रधानमन्त्री वालेन्द्र शाहले देश कठिन घडीमा रहेको उल्लेख गर्दै बाढी प्रभावित प्रत्येक नागरिकमा सरकार पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भोटेकोशीमा गएको बाढीको पछिल्लो अवस्थाबारे आफ्नो सामाजिक सञ्जाल (फेसबुक) मार्फत सुक्रबार साँझ जानकारी गराउँदै उनले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।     


“यस कठिन घडीमा विपत्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य छ,” प्रधानमन्त्री शाहले भनेका छन् , “उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने छ ।” उनले बाढी तथा पहिरो प्रभावित रसुवा, नुवाकोटसहितका क्षेत्रमा खोज तथा उद्धारका लागि १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीका चार हजार ४७३, नेपाली सेनाका छ हजार ७५५ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ जना सुरक्षाकर्मी उद्धार तथा राहतमा खटिएका छन् ।     


“हालसम्म चार हजार ४५१ जनाको उद्धार गरिएको छ । उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका १६ हेलिकोप्टर परिचालन गरी धुन्चे, त्रिशूली, टिमुरे र स्याफ्रुबेँसीलगायत क्षेत्रमा ९९ हवाई उडान भएका छन्,” प्रधानमन्त्रीले भनेका छन्, “प्रभावित क्षेत्रमा हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य राहत सामग्री पठाइएको छ भने हेलिकोप्टरबाट समेत राहत सामग्री ढुवानी गरिएको छ । सुरुङमा फसेका नागरिक तथा कामदारको खोज तथा उद्धारलाई उच्च प्राथमिकता दिइएको छ ।” बेपत्ता नागरिक तथा शवको खोजी कार्य रसुवादेखि नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्म त्रिशूली–नारायणी नदी कोरिडोरमा विस्तार गरिएको जानकारी दिँदै उहाँले हालसम्म १२९ जना विदेशीपर्यटक तथा नागरिकको उद्धार तथा पहिचान गरिएको उल्लेख गरेका छन् ।     


यसै गरी प्रभावित क्षेत्रमा सडक, विद्युत्, दूरसञ्चार र खानेपानी सेवा पुनर्स्थापनाको काम तीव्र पारिएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । उनका अनुसार रसुवालाई वैकल्पिक सडकमार्फत पुनः सडक सञ्जालमा जोडिएको छ भने प्रभावित १९८ दूरसञ्चार साइटमध्ये १४५ वटा सञ्चालनमा आएका छन् । नुवाकोटमा करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा सुचारु भएको छ । “बाढी तथा विपत्बाट प्रभावित १५ स्थानीय तहलाई राहत, उद्धार तथा व्यवस्थापनका लागि छ करोड ७५ लाख रुपियाँ उपलब्ध गराइएको छ,” उनले भनेका छन्, “प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा रु एक अर्ब ९० करोडभन्दा बढी रकम सङ्कलन भएको छ ।”      


प्रधानमन्त्री शाहले भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनः बाढीको जोखिमको निगरानी जारी राख्दै जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्  । उनका अनुसार हालसम्म दुई लाखभन्दा बढी एसएमएसमार्फत पूर्वसूचना पठाइएको छ ।   रासस