काठमाडौं: सामाजिक सञ्जाल फेसबुकमार्फत शव व्यवस्थापनबारे आफ्नो धारणा सार्वजनिक गरेका कोशी प्रदेशका सचिव कोषहरि निरौलालाई संघीय सरकारले रसुवाको टिमुरेमा शव व्यवस्थापनको जिम्मेवारी दिएर काजमा खटाएको छ।

आइतबार बसेको मन्त्रीस्तरीय निर्णयबाट सचिव निरौलालाई रसुवा पठाउने निर्णय गरिएको हो। रसुवामा आएको विनाशकारी बाढीपछि टिमुरे क्षेत्रमा मृत्यु भएका तथा फेला परेका शवहरूको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा सरकारले त्यसका लागि निरौलालाई जिम्मेवारी दिएको हो।

संयोग के छ भने, निरौलाले शनिबार मात्रै आफ्नो फेसबुकमार्फत शव व्यवस्थापनको विषयमा धारणा सार्वजनिक गरेका थिए। उनले शवलाई गाड्नुको सट्टा सम्बन्धित धर्म तथा परम्पराअनुसार अन्तिम संस्कार गर्नुपर्ने आशयको धारणा सामाजिक सञ्जालमा राखेका थिए।

उनको उक्त स्टाटस सामाजिक सञ्जालमा चर्चामा आएपछि भने उनले पछि हटाएका छन्। स्टाटस हटाएपछि पनि सोही विषयमा धारणा सार्वजनिक गरेका व्यक्ति निरौलालाई सरकारले शव व्यवस्थापनकै जिम्मेवारी दिएर रसुवा पठाएको विषयलाई चासोका साथ हेरिएको छ।

f9739e2b-d216-44f1-bf18-9ca29089cc27

रसुवामा बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ। बाढी प्रभावित टिमुरे तथा आसपासका क्षेत्रमा उद्धारका क्रममा फेला परेका शवको पहिचान, व्यवस्थापन तथा सम्बन्धित परिवारलाई बुझाउने कार्यसमेत चुनौतीपूर्ण बनेको छ।

यस्तो अवस्थामा शव व्यवस्थापनलाई व्यवस्थित, सुरक्षित र धार्मिक तथा सामाजिक संवेदनशीलतासहित अघि बढाउन सरकारले सचिव निरौलालाई जिम्मेवारी दिएको हो।

निरौलालाई काजमा खटाउने निर्णयसँगै उनले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणा र सरकारले दिएको जिम्मेवारीबीचको संयोगबारे पनि चर्चा सुरु भएको छ। यद्यपि, सरकारले उनलाई कुन-कुन प्रक्रिया र जिम्मेवारीअन्तर्गत शव व्यवस्थापनका लागि खटाएको हो भन्ने विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।