काठमाडौँः नेपाल प्रहरीका अनुसार अविरल वर्षा र सम्भावित बाढीका कारण देशभरका दश राजमार्ग पूर्णरुपमा अवरोध भएको छ ।
उपत्यका अन्तर्गत पहिरोका कारण ललितपुरको कान्तिलोकपथ सडक खण्ड आइतबार दिउँसोदेखि पूर्ण रुपमा अवरुद्ध छ । कोशी प्रदेश अन्तर्गत इलामको मेची राजमार्ग अविरल वर्षाका कारण पूर्ण रुपमा अवरोध छ ।
बागमती प्रदेश अन्तर्गत बाढीका कारण रसुवाको त्रिशुली मैलुङ स्याफ्रुवेशी सडक खण्ड, र सबै मुख्य राजमार्ग अर्को सूचना नभएसम्मको लागि पूर्ण रुपमा अवरोध छ । यसैगरी, नुवाकोटको पासाङ ल्हामु सडक खण्ड बाढीका कारण पूर्ण रुपमा अवरोध छ ।
पहिरोका कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ कोदारी क्षेत्रको अरनिको राजमार्ग, धादिङको गजुरी गाउँपालिका २ स्थित पृथ्वी लोकमार्ग पूर्ण रुपमा अवरोध छ ।
गण्डकी प्रदेश अन्तर्गत म्याग्दीमा पहिरोका कारण रघुगंगा गाउँपालिका २ स्थित बेनी जोमसोम सडक खण्ड र कर्णाली प्रदेश अन्तर्गत छाँयानाथ रारा नगरपालिकास्थित नाग्मदेखि मुगु गमगढी आउने सडक खण्ड पहिरोका कारण पूर्ण रुपमा अवरोध रहेको प्रहरीले जानकारी दिएको छ ।



















