काठमाडौं:प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले खोज, उद्धार, उपचार, राहत तथा नागरिकको सुरक्षित व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।
बाढी आएको छैटौँ दिनसम्म आइपुग्दा प्रभावित क्षेत्रमा सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, विभिन्न निकायका पदाधिकारी, स्वयंसेवी संस्था तथा आम नागरिकको उल्लेखनीय भूमिका रहेको प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत बताएका हुन्।
उनले विपद्को समयमा प्रदेश तथा स्थानीय सरकारले संघीय सरकारसँग गरेको समन्वय र सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै मित्रराष्ट्र, स्वदेशी तथा विदेशी संघसंस्था र सञ्चारमाध्यमप्रति पनि आभार व्यक्त गरेका छन्।
३६९६ जनासम्म राहत पुर्याइयो
सरकारले खोज तथा उद्धारसँगै प्रभावित नागरिकका लागि राहत संकलन र वितरणलाई पनि प्राथमिकतामा राखेको जनाएको छ। काठमाडौंलगायत देशका विभिन्न स्थानबाट संकलन गरिएको राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्याइएको छ।
सुरक्षाकर्मीले हवाई तथा सडकमार्गमार्फत रसुवा, नुवाकोट र धादिङका चारवटा संकलन केन्द्र हुँदै रसुवा र नुवाकोटका २७ वटा वितरण केन्द्रमार्फत ३ हजार ६९६ जना प्रभावित नागरिकसम्म राहत पुर्याइएको प्रधानमन्त्री शाहले बताएका छन्।
भारत, चीन, अमेरिका, यूएई, कतार, जापान, स्वीट्जरल्याण्ड, अष्ट्रेलियालगायत मित्रराष्ट्रबाट समेत राहत तथा सहयोग प्राप्त भइरहेको उनले उल्लेख गरेका छन्।
राहत कोषमा साढे ५ अर्बभन्दा बढी
सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष तथा प्रधानमन्त्री राहत कोषमार्फत पीडितका लागि आर्थिक सहयोग जुटाइरहेको जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सोमबार मध्यान्हसम्म नौवटा वाणिज्य बैंकका खातामा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको छ। त्यस्तै, हिमालयन र लक्ष्मी बैंकमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको जनाइएको छ।
नुवाकोट पुनः सडक सञ्जालमा जोडियो
बाढीका कारण सडक सम्पर्कविहीन बनेको नुवाकोटको त्रिशूलीपारिको भूभाग पुनः सडक सञ्जालमा जोडिएको छ।
गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसी हुँदै त्रिशूली बजारसम्म सडक सञ्चालनमा ल्याइएको हो।
यससँगै त्रिशूलीपारिका ठूलो संख्याका नागरिकको सदरमुकामसँग पुनः प्रत्यक्ष सडक पहुँच स्थापित भएको र उद्धार, राहत तथा अत्यावश्यक वस्तुको आपूर्तिमा सहज हुने सरकारले जनाएको छ।
बाढीले रसुवा, नुवाकोट र धादिङका अधिकांश पुलमा क्षति पुर्याएपछि सरकारले अस्थायी पुल निर्माणलाई पनि प्राथमिकता दिएको छ। नेपालसँग रहेका ४८ मिटरका ६ वटा र ७० मिटरको एउटा बेलिब्रिजमध्ये देवीघाटको तादी नदी, त्रिशूली बजार र बेत्रावती बजारमा जडानका लागि अध्ययन गरिएको छ।
भारतले २३० फिट लामो सिंगल लेन मोडुलर स्टिल ब्रिज उपलब्ध गराएको तथा थप सातवटा बेलिब्रिज पठाउने प्रतिबद्धता जनाएको छ। चीनबाट पनि ३० वटा बेलिब्रिज प्राप्त हुने प्रधानमन्त्री शाहले बताएका छन्।
११ हजार ३७९ जनाको उद्धार
सरकारका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ। अझै ३ हजार ९२५ जना सम्पर्कविहीन रहेको जनाइएको छ। सम्पर्कविहीनको संख्या खोज तथा उद्धारका क्रममा घटबढ भइरहेको सरकारले जनाएको छ।
विभिन्न अस्पतालमा भर्ना गरिएका २७९ जना घाइतेमध्ये १६८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
जलविद्युत् आयोजनाबाट २७९ जनाको उद्धार
बाढीबाट प्रभावित विभिन्न जलविद्युत् आयोजनाबाट नेपाली सेनाले हालसम्म २७९ जनाको उद्धार गरेको छ। आयोजनाका सुरुङभित्र समेत खोज तथा उद्धार जारी रहेको छ।
रसुवागढी जलविद्युत् आयोजनाबाट दुई जनाको उद्धार गरिएको छ। चिनियाँ र नेपाली सेनाको संयुक्त टोलीले सुरुङको भित्री भागसम्म खोजी गरे पनि थप व्यक्ति नभेटिएपछि टोली फर्किएको छ।
लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजनाका सुरुङ खोल्ने काम नेपाली सेना, भारतीय उद्धार टोली तथा नेपाली सहयोगीको सहभागितामा भइरहेको छ। मैलुङ खोला जलविद्युत् आयोजनाबाट नौ जना र माथिल्लो त्रिशूली–१ बाट २५४ जनाको उद्धार भइसकेको छ। माथिल्लो त्रिशूली–१ को सुरुङमा भने खोज तथा उद्धार जारी छ।
नुवाकोटको माथिल्लो त्रिशूली–३ ए आयोजनाको सुरुङमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ९० जनाको टोली परिचालन गरिएको छ। माथिल्लो त्रिशूली–३ बीबाट दुई जनाको उद्धार भइसकेको छ भने त्यहाँ थप सुरक्षाकर्मी परिचालन गरी खोजी जारी राखिएको छ।
त्रिशूली जलविद्युत् आयोजनाबाट तीन जना, सौर्य आयोजनाबाट चार जना तथा देवीघाट जलविद्युत् आयोजनाबाट चार जनाको उद्धार गरिएको सरकारले जनाएको छ।
९३९ शव फेला
बाढीका कारण मृत्यु भएकामध्ये हालसम्म ९३९ जनाको शव फेला परेको प्रधानमन्त्री शाहले बताएका छन्।
पहिचान हुन नसकेका तथा बेवारिसे शवलाई ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन भइरहेको छ।
सरकारले पहिचान गर्न नसकिने शवबाट डीएनएलगायत पहिचानमा सहयोग पुग्ने आधार सुरक्षित राखेर व्यवस्थापन गरिरहेको जनाएको छ। पहिचान भएका शव आफन्तको जिम्मा लगाउने काम भइरहेको छ।
रसुवामा ३० प्रतिशत घरधुरीमा विद्युत्
बाढीबाट प्रभावित रसुवामा विद्युत् पुनःस्थापनाको काम पनि अघि बढेको छ। कालिकास्थान, नौकुण्डको केही भाग, गोसाइँकुण्ड गाउँपालिका–५ र ६ का केही क्षेत्र तथा सदरमुकाम धुन्चेसहित करिब ३० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुनःस्थापित भएको छ।
रसुवाका बाँकी क्षेत्रमा घरायसी सोलारमार्फत विद्युत् सेवा उपलब्ध गराउन ५०० थान पोर्टेबल सोलार पठाइएको छ।
नुवाकोटमा भने ८५ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना भइसकेको छ। बाँकी क्षेत्रमा आगामी पाँच दिनभित्र विद्युत् पुर्याउने गरी काम भइरहेको छ।
धादिङमा पृथ्वीराजमार्ग आसपासको आदमघाटको केही क्षेत्रबाहेक ९८ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित भएको र आगामी दुई दिनभित्र सबै क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने लक्ष्य राखिएको छ।
सञ्चारतर्फ नेपाल टेलिकमका १२० मध्ये ११० वटा र एनसेलका ७८ मध्ये ७५ वटा टावरले सेवा दिन थालेका छन्।
पुनःस्थापनाका लागि विवरण संकलन
प्रधानमन्त्री शाहले खोज तथा उद्धारसँगै प्रभावित नागरिकको पुनःस्थापनाबारे समेत सरकारले काम अघि बढाएको बताएका छन्।
स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण संकलन सुरु भइसकेको उनले बताएका छन्। घर, परिवार, प्रियजन र जायजेथा गुमाएका नागरिकलाई मानसिक तथा शारीरिक रूपमा सशक्त बनाउँदै पुनःस्थापना गरी सामान्य जनजीवनमा फर्काउनु सरकारको अबको मुख्य जिम्मेवारी रहेको उनको भनाइ छ।
प्रधानमन्त्री शाहले भोटेकोशीमा आएको बाढी सामान्य बाढी नभई हिमालय क्षेत्रमा हिउँ–चट्टानको हिमपहिरोबाट सिर्जित ठूलो विपत्ति भएको बताएका छन्। जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा बढ्दै गएको जोखिमप्रति सतर्क हुनुपर्ने र अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपद्को विषय बलियो रूपमा उठाउनुपर्ने उनको धारणा छ।
सरकारले प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार, राहत, उपचार र पुनःस्थापनाको अवस्थाबारे सुरक्षा निकाय तथा प्रभावित क्षेत्रमा खटिएका मन्त्री, संघीय सांसद र अन्य अधिकारीबाट निरन्तर जानकारी लिइरहेको जनाएको छ।




















