इटहरीः भोटेकोशी र त्रिशूलीमा बाढी गएको छैटौँ दिन कटिसक्दा पनि त्यस क्षेत्रका जलविद्युत् आयोजनाका सुरुङमा फसकेका श्रमिक, कर्मचारी र इन्जिनियरहरूको उद्धार हुन सकेको छैन । सोमबार पनि नेपाली सेनाले भारतीय र चिनियाँ टोलीलाई साथ लिएर उद्धारको प्रयास गरेकामा सुरुङबाट एकजनाको पनि उद्धार गर्न सकेन । विभिन्न जलविद्युत् परियोजनाका सुरुङमा पाँच सयहाराहारी व्यक्ति फसेको रिपोर्ट छ ।
माथिल्लो त्रिशूली १ मा उद्धार निकै कठिन रहेको सेनाको ब्रिफिङ छ भने माथिल्लो त्रिशूली ३ ‘ए’को सुरुङमा पानी भरिएको भेटिएपछि सोचेजस्तो प्रगति हुन सकेन । लाङटाङमा सुरुङको ६५ मिटरसम्म पुगेको उद्धार टोलीले एउटा शव भेटेकोमा अगाडि बढ्न नसकेपछि फर्किएको छ । अन्य परियोजनामा पनि सन्तोषजनक कुनै प्रगति भएको छैन ।
माथिल्लो त्रिशूली १ मा चिनियाँ विज्ञसहितको संयुक्त टोली खोज तथा उद्धारमा खटिएको थियो । सुरुङभित्र धेरै ठाउँमा बाक्लो लेदो र पानी जमेका कारण उद्धार कठिन हुँदै गएको त्यहाँ खटिएको सैनिक टोलीले मुख्यालयलाई ब्रिफिङ गरेको छ । निर्माणाधीन २१६ मेगावाटको यो परियोजनामा ४०४ चिनियाँसहित ५७३ जना बेपत्ता रहेको बताइएको छ । जसमध्ये करिब तीन सय सुरुङभित्र रहेको तथ्यांक छ । बाढी आउने दिन परियोजना इन्जिनियर, कर्मचारी, परामर्शदाता, श्रमिकलगायत एक हजार चार सय थिए । जसमध्ये आठ सय ७६ जनाको उद्धार भइसकेको छ भने १७० जना आफैँ सम्पर्कमा आएका थिए । सोमबार मात्रै पनि डिसेन्डर एरियाबाट तीनजनाको उद्धार भएको छ । तर, सुरुङबाट उद्धार गर्न सकेको छैन ।
परियोजनाका सुरुङमध्ये मैलुङतर्फ दुई सय मिटर र हाकुतर्फ तीन सय मिटरभित्र उद्धार टोली पुगेको सेनाले जनाएको छ । ‘हाम्रो सैनिक टोलीले उद्धारको प्रयास जारी राखेको छ,’ सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतले भने, ‘सुरुङभित्र निकै ठाउँमा लेदो र पानी जमेको रिपोर्ट आएको छ । हामीले प्रयास जारी राखेका छौँ ।’
परियोजनाका प्रोजेक्ट म्यानेजर गिरिराज अधिकारीले उद्धार टोलीले सक्दो प्रयास गरिरहेको बताए । ‘मुख्य सुरुङसहित तीनवटा अडिट सुरुङ छन् । सोमबार चिनियाँसहितको उद्धार टोलीले मैलुङतर्फबाट भित्र छिरेर अवलोकन गरेको छ । हाकुतर्फ भने सुरुको डिसेन्डरसम्म मात्रै पुग्न सफल भए । हाकुदेखि दुई किलोमिटर तल अडिट १ सुरुङ पनि अवलोकन गरे,’ उनले भने, ‘हाकु र अडिट १ मा लेदो जमेको रहेछ । मंगलबार पुनः उद्धारको प्रयास हुन्छ, हामीलाई अझै आशा छ ।’
उद्धारका लागि कोरियन टोलीले भने विशेषज्ञ सुझाव दिइरहेको छ । परियोजनाको सुरुङ १० किलोमिटर लामो छ । ब्रेक थ्रु भइसकेको सुरुङ भएकाले अक्सिजन प्रवाह भइरहेको हुन सक्ने अनुमान गरिएको छ । सुरुङमा काम गर्नेहरू बस्नका लागि बाहिर नै आउने गर्थे । यद्यपि, काम गर्दा आवश्यक पिउने पानी, खाजालगायत भने सुरुङभित्र पनि राख्ने गरिन्थ्यो ।
शुक्रबारदेखि उद्धारको प्रयास भएको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’मा सुरुङको हेड फेला परेको छ । कम्प्रेसरबाट हावा दिने कार्य भएको सेनाले जनाएको छ । यहाँ ४२ जना सम्पर्कविहीन भएकामा सुरुङभित्र ३५ जना फसेको अनुमान छ । सोमबार क्राउन ब्लास्ट गरी ढुंगा र लेदो हटाएर सुरुङ पहिचान गरिएकोमा अब सुरुङभित्र पानी जमेको भेटिएको छ । अब वाटर पम्पसेट गरी पानी निकाल्ने काम भइरहेको विद्युत् प्राधिकरणले जनाएको छ । त्यस्तै, तीनवटा एक्स्काभेटर प्रयोग गरेर पछाडितर्फको वैकल्पिक मार्ग पनि खोलिएको सेनाले जनाएको छ ।
विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले सुरुङमा फसेकाहरूलाई बचाउन सकिने आसले काम गरिरहेको, तर सुरुङभित्र पानी भरिएकाले चुनौती थपिएको बताए ।
२१३ जना सम्पर्कविहीन भएको त्रिशूली ३ ‘बी’मा चिनियाँ सेनाका विज्ञसहितको ३१ सदस्यीय टोलीले एक्स्काभेटरसमेत प्रयोग गरी खोज तथा उद्धार प्रक्रिया जारी राखेको छ । सम्पर्कविहीनमध्ये कति सुरुङभित्र छन् भन्ने यकिन छैन । ३७ मेगावाटको निर्माणाधीन परियोजनाका सबै संरचना बगेका कारण उद्धारमा कठिनाइ भएको विद्युत् प्राधिकरणले जनाएको छ । अहिलेसम्म सेनाले दुईजनाको उद्धार गरेको जनाएको छ ।
भारतीय र चिनियाँ विज्ञसहित नेपाली सेनाको उद्धार टोली २० मेगावाटको लाङटाङ जलविद्युत् परियोजनाको सुरुङको ६५ मिटरसम्म पुगेर थप अगाडि बढ्न नसक्ने निष्कर्षसहित फर्किएको छ । ४१ जना सम्पर्कविहीन भएको यहाँ सोमबार एउटा शव भेटिएको छ । यो परियोजनाको सुरुङमा उद्धारका लागि सहयोग गर्न भारतबाट ११ र चीनबाट नौजना आएका छन् । सैनिक टोलीले उद्धार असम्भव भनेर फर्किए पनि मंगलबार आयोजनाले आफ्नै ढंगले उद्धार अघि बढाउने इप्पानले जनाएको छ ।
रसुवागढी हाइड्रोको चार किमी लामो सुरुङमध्ये सोमबार सेनाको टोली २५० मिटरसम्म पुगेको थियो । त्यसउताको भाग बन्द थियो । त्यहाँसम्म पुग्दा कसैलाई फेला नपारेको सेनाले जनाएको छ । ९३ जना सम्पर्कविहीन भएको यो आयोजनाको सुरुङमा सेनासँगै चिनियाँ प्राविधिक टोली पनि खटिएको थियो । सुरूङ बाहिरबाट भने २ जनाको उद्धार गरिएको छ ।
चिलिमे हाइड्रोमा भारतीय प्राविधिकसहित नेपाली सेनाको टोली लेदो र ढुंगा हटाउँदै सुरुङको ९० मिटरभित्रसम्म पुगे पनि कसैलाई भेट्टाउन सकेको छैन । २५० मिटर लामो यो परियोजनाको सुरुङमा आठजना बेपत्ता छन् । परियोजनाका कार्यकारी निर्देशक बाबुराजा महर्जनले मागअनुसारकै उपकरणहरू लगेर काम भइरहेको छ ।
मैलुङ खोला जलविद्युत्मा बेपत्ताहरूको खोजीका लागि उद्धार टोली सोमबार दिनभर खटियो । यहाँ नौजनाको उद्धार भएको नेपाली सेनाले जनाएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान०का अनुसार यो परियोजनामा अझै सातजना हराइरहेका छन् ।
१२० मेगावाटको रसुवा भोटेकोशी जलविद्युत्का चार, २४ मेगावाटको त्रिशूली जलविद्युत्का एक, १४।१ मेगावाटको देवीघाट जलविद्युत्का एक र १५।६ मेगावाटको मिडिल त्रिशूलीका दुईजना सम्पर्कविहीन छन् । यस्तै, त्रिशूली ३ ‘बी’ हव सबस्टेसनका १६, चिलिमे त्रिशूली २२० केभी प्रसारणलाइनका दुई र रसुवा वितरण केन्द्रका एकजना सम्पर्कविहीन छन् । उनीहरूको खोजी हुन सकेको छैन । नुवाकोटको त्रिशूली जलविद्युत् आयोजनाबाट तीन, सौर्य आयोजनाबाट चार र देवीघाट आयोजनाबाट चारजनाको उद्धार भइसकेको सेनाले जनाएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले सेनाले विभिन्न जलविदुत् परियोजनाबाट हालसम्म २७९ जनाको उद्धार गरेको जनाएका छन् । ‘नेपाली सेनाले विभिन्न जलविद्युत् परियोजनाबाट हालसम्म २७९ जनाको उद्धार गरिसकेको छ । सबै आयोजनाको सुरुङमा पनि खोज तथा उद्धार जारी राखेको छ,’ उनले मंगलबार साँझ फेसबुकमा लेखेका छन् । प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा काम भइरहेको पनि बताएका छन् । उनले सोमबारै प्रधानसेनापति अशोकराज सिग्देल, सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग बेग्लाबेग्लै ब्रिफिङ लिएका थिए । ‘उहाँहरूले हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका सम्बन्धमा जानकारी गराउनुभएको छ,’ उनले लेखेका छन्, ‘हामीले प्रभावित क्षेत्रमा खटिरहनुभएका मन्त्रिपरिषद्का सदस्यहरू, संघीय सांसदहरूलगायत अन्य साथीहरूबाट पनि निरन्तर जानकारी लिइरहेका छौँ ।’
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले पनि जलविद्युत्का सुरुङमा फसेकाहरूको उद्धार जारी रहेको बताइन् । ‘नेपाली सेनाले उद्धारमा काम गरिरहेको छ,’ उनले भनिन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० का अध्यक्ष मोहनकुमार डाँगीले छैटौँ दिनसम्म पनि उद्धारको विषयमा सुखद समाचार नआएको भन्दै समीक्षा आवश्यक भएको बताए । ‘६ दिन बित्यो, तर जलविद्युत्का सुरुङमा फसेकाहरूको उद्धारको विषयमा सुखद समाचार आएन,’ उनले भने, ‘यो समीक्षा गर्नुपर्ने विषय हो । सायद, हामीले विदेशी टोलीलाई परिचालन गर्न ढिलाइ गर्यौँ । यसको हामी समीक्षा गर्छौँ ।’ यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।




















