इटहरीः रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीमा फसेका कोशी प्रदेशका पाँच जनाको सकुशल उद्धार गरिएको छ भने २७ जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन्। यद्यपि, बाढी प्रभावित क्षेत्रमा पुगेका कोशी प्रदेशका १५९ जना अझै सम्पर्कविहीन रहेको प्रदेश प्रहरीले जनाएको छ।


कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बाढी आउनुअघि रोजगारी, व्यापार, पर्यटन, धार्मिक भ्रमण तथा अन्य कामका लागि प्रदेशका विभिन्न जिल्लाबाट रसुवालगायत भोटेकोशी प्रभावित क्षेत्रमा पुगेका १९३ जनाको विवरण संकलन गरिएको थियो। तीमध्ये हालसम्म पाँच जनाको जीवित उद्धार भएको, २७ जना परिवारको सम्पर्कमा आएको र एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाँकीको अवस्था भने अझै अज्ञात छ।


प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक शेखर खनालका अनुसार प्रभावितमध्ये सोलुखुम्बुका नागरिकको संख्या सबैभन्दा बढी रहेको छ। प्रहरीको विवरणअनुसार सोलुखुम्बुका ४५ जनामध्ये तीन जना सम्पर्कमा आएका छन् भने ४२ जना अझै सम्पर्कविहीन छन्।


त्यस्तै, ओखलढुङ्गाका ३८ जनामध्ये तीन जनाको उद्धार गरिएको छ भने २५ जना अझै सम्पर्कविहीन छन्। उदयपुरबाट प्रभावित क्षेत्रमा पुगेका २१ जनामध्ये पाँच जना परिवारको सम्पर्कमा आएका छन्।


सुनसरीका २१ जनामध्ये पाँच जना सम्पर्कमा आएका छन् भने १६ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। मोरङका १७ जनाको अवस्थाबारे भने अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।


प्रहरीका अनुसार झापाका १४ जनामध्ये एक जनाको सकुशल उद्धार गरिएको छ भने १३ जना अझै सम्पर्कविहीन छन्। इलामका १२ जनामध्ये एक जनाको उद्धार गरिएको, एक जना उपचाररत रहेको र एक जनाको मृत्यु भएको विवरणमा उल्लेख छ।


यसैगरी, खोटाङका ११ जनामध्ये एक जना सम्पर्कमा आएका छन्। ताप्लेजुङका पाँच जनामध्ये दुई जना अझै सम्पर्कविहीन छन्। सङ्खुवासभाका तीन जना, धनकुटाका दुई जना, भोजपुरका एक जना र पाँचथरका एक जनाको अवस्थासमेत अज्ञात रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा सम्पर्क स्थापनाको काम जारी रहेको प्रहरीले जनाएको छ। प्रतिकूल भौगोलिक अवस्था, सञ्चार तथा यातायात सम्पर्कमा आएको अवरोधका कारण बेपत्ता तथा सम्पर्कविहीन नागरिकको यकिन अवस्था पत्ता लगाउन कठिनाइ भइरहेको बताइएको छ।


प्रहरीले प्रभावित क्षेत्रमा रहेका नागरिकको खोजी तथा आफन्तसँग सम्पर्क गराउने प्रयास जारी राखेको जनाएको छ। खोज तथा उद्धार टोलीले थप विवरण संकलन गरिरहेकाले सम्पर्कविहीन नागरिकको संख्या र उनीहरूको अवस्थासम्बन्धी तथ्याङ्क थप अद्यावधिक हुन सक्ने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।