सुनसरी । सोमबार बिहान सुनसरीको बर्जु गाउँपालिका ७ सितागंजबाट प्रहरीले तस्करीको करिब एक लाख ३२ हजार रुपैयाँको लत्ताकपडासहित अटो नियन्त्रणमा लियो । लत्ताकपडा मात्र नभई प्रहरीले दुहबी १२ का दीपक पासवान अटो चालकलाई समेत नियन्त्रणमा लिइएको थियो । प्रहरी अनुसन्धानको क्रममा उक्त लत्ताकपडा भारतबाट तस्करी गरी ल्याउने कार्यको नाइके दुहवीकी हजरा खातुन रहेको खुलेको छ । पासवान भने खातुनका तस्करीका साझेदार रहेको बताइएको छ।


सोमबार बिहान भने आफ्नो साझेदार र बरामद भएको कपडा र अटोलाई छुटाउन हजरा सकृया भईन । भन्सार बुझाउनु अघि नै मान्छे, अटो र सामान छुटाउन हजरा हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीलाई सहयोग मागिन् । फोन मार्फत दुई लाख ५० हजार रुपैयाँमा सबै छाड्ने सङ्केत पाएपछि हजार नगद बोकेर बिहान ९ बजेदेखि जिल्ला प्रहरी कार्यालय अगाडी बसिन । त्यहाँ उनको घुमुवा प्रहरी सद्धाम हुसेनसँग पटक भेट भएको थियो । 


स्रोतका अनुसार नियन्त्रणमा लिइएको गाडी, सामान र पासवानलाई भन्सार नबुझाउने सर्तमा केही दिनमा छाड्न प्रहरी समेत राजी भएको दाबी छ । तर प्रदेश पोर्टलले कपडा, अटो र पासवानलाई छाड्न आर्थिक चलखेल भइरहेको सूचना जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी पुष्पराज मल्ललाई उपलब्ध गराएको थियो । 


“पत्रकारले एसपीलाई आर्थिक चलखेलको सूचना समयमै नदिएको भए यहाँ जिल्ला प्रहरीमा राजनीतिक दलको आडमा चल्दै आएको पुरानो ‘सेटिङ’को प्रवृत्तिले निरन्तरता पाउने थियो,” स्रोतले भन्यो। “एसपी साहेब यस विषयमा अपडेट थिए वा थिएनन्, थाहा भएन। तर जिल्लाका तीन प्रहरी अधिकृत यस प्रकरणमा प्रत्यक्ष संलग्न छन्। उनीहरूमाथि छानबिन हुनुपर्छ।”


स्रोतका अनुसार सेटिङको राज खुलेपछि जिल्ला प्रहरी कार्यालयले प्रेस विज्ञप्ति निकालेर अटो, कपडा र चालक पासवानलाई सुनसरी भन्सार कार्यालय पठाइएको उल्लेख गरेको छ । त्यसो त, अहिले पनि भन्सार मुल्याकन कम गरेर लत्ताकपडा, अटो र पासवान छुटाउने चलखेल भइरहेको स्रोतको दाबी छ । 


हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले “आफ्नो मान्छे हो ” भन्दै जिल्ला प्रहरी कार्यालयका दुई प्रहरी अधिकृत र घुमुवा प्रहरी हुसेनसँग यसको सेटिङ गरेको गम्भीर आरोप छ । यद्धपी अन्सारीले यो आरोप गलत भएको दाबी गरे । “म हजरा भन्ने महिलालाई चिन्दिनँ। यो प्रकरणमा मेरो कुनै संलग्नता छ भने अनुसन्धान होस्। आरोप पुष्टि भए राजनीतिबाट सन्यास लिन्छु,” अन्सारीले भने। यता एसपी पुष्पराज मल्लले भने यस प्रकरणमा आवश्यक विषयहरू बुझ्ने काम भइरहेको मात्र प्रतिक्रिया दिएका छन्।


प्रहरी स्रोतका अनुसार हजरा र हाल पक्राउ परेका पासवान सुनसरीमा लामो समयदेखि लागुऔषध गाँजा, लत्ताकपडा तथा खाद्यान्न तस्करीमा संलग्न व्यक्ति हुन । हजराका श्रीमान् समेत लागुऔषध मुद्दामा हाल प्रहरी नियन्त्रणमा छन् । हजरा र पासवनको समूहले नेपालबाट भारत तर्फ गाँजा लिएर जाने र फकर्दा अन्य तस्करीको सामान ल्याउने गरेको स्रोतको दाबी छ । 

Temp