इटहरीः श्रम संस्कृति पार्टीभित्र पार्टी एकतापछि देखिएको आन्तरिक असन्तुष्टिका बीच वरिष्ठ श्रमदाता सुदन किरातीले नेता–कार्यकर्तालाई संयमित र एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन्।
किरातीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत काम गर्ने क्रममा भूल, गल्ती र कमजोरी हुनसक्ने भए पनि त्यसलाई खराब नियतसँग जोडेर हेर्न नहुने बताएका हुन्।
उनले देश अहिले शोक र संकटको घडीमा रहेको उल्लेख गर्दै यस्तो संवेदनशील समयमा सबै पक्ष अझ जिम्मेवार, संयमित र एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।
“काम गर्दै जाँदा भूल, गल्ती र कमजोरी हुन सक्छन् तर त्यसमा खराब नियत नै छ भन्नु हुँदैन,” किरातीले लेखेका छन्।
उनको यो अभिव्यक्ति श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठकलाई लिएर पार्टीभित्र देखिएको पछिल्लो असन्तुष्टिको पृष्ठभूमिमा आएको हो। चार महिनाअघि किराती नेतृत्वको समूह श्रम संस्कृति पार्टीमा समाहित भएको थियो। एकतापछि किरातीलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको थियो भने उनको समूहबाट एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यसहित १८ जना पार्टीमा समाहित भएका थिए। एकतापछि पार्टीको केन्द्रीय समिति २३ सदस्यबाट बढेर ४१ सदस्यीय बनेको थियो।
तर, धरानस्थित होटल गोर्खामा मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा किराती समूहलाई औपचारिक रूपमा नबोलाइएको भन्दै असन्तुष्टि देखिएको छ। किराती पक्षले बैठकबारे आफूहरूलाई जानकारी नगराइएको गुनासो गरेको छ। यही विषयलाई लिएर किराती निकट नेताहरूबीच छुट्टै छलफलसमेत भएको बताइएको छ।
यद्यपि, पार्टीका केही नेताहरूले भने एकता प्रक्रियालाई औपचारिक रूपमा अनुमोदन गरेपछि बुधबारको बैठकमा किराती समूहलाई सहभागी गराउने तयारी रहेको बताएका छन्। पार्टी केन्द्रीय समिति सदस्य शान्ति पाख्रिन गुरुङले समेत पहिलो दिनको बैठकबाट एकता अनुमोदन भएपछि दोस्रो दिन किराती समूहलाई बैठकमा बोलाइने बताएकी छन्।
यही परिस्थितिमा किरातीले सार्वजनिक गरेको पछिल्लो स्टाटसलाई पार्टीभित्रको विवादलाई थप चर्काउनुभन्दा संवाद, संयम र एकताको बाटो रोज्न गरिएको आग्रहका रूपमा हेरिएको छ।
किरातीले “देश र संस्थाभन्दा व्यक्ति वा समूह ठूलो हुन सक्दैन” भन्दै पार्टीको संस्थागत हितलाई व्यक्तिगत वा समूहगत आग्रह–पूर्वाग्रहभन्दा माथि राख्नुपर्ने बताएका छन्।
उनले लेखेका छन्, “देश र संस्थाभन्दा व्यक्ति वा समूह ठूलो हुन सक्दैन । त्यसैले सबै व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठ्नै पर्छ ।”
किरातीले भोलि हुने बैठकमा सबैको उपस्थितिका लागि आग्रह गर्दै पार्टीका आम सदस्य तथा कार्यकर्तालाई कुनै पनि प्रकारको भ्रममा नपर्नसमेत अपिल गरेका छन्।
उनको भनाइले पछिल्लो विवादलाई तत्काल विभाजन वा टकरावको दिशामा लैजानुभन्दा पार्टी एकतालाई कायम राख्दै संस्थागत छलफलमार्फत समस्या समाधान गर्नुपर्ने धारणा स्पष्ट गरेको देखिन्छ।
श्रम संस्कृति पार्टीको पछिल्लो आन्तरिक विवादमा मुख्यतः पार्टी सञ्चालनको शैली, छलफल तथा परामर्शको अभ्यास र एकतापछि बनेको संरचनालाई लिएर असन्तुष्टि देखिएको विभिन्न समाचारमा उल्लेख छ। किराती पक्षका नेताहरूले समस्या सैद्धान्तिक मतभेदभन्दा पनि पार्टी सञ्चालनको कार्यशैलीसँग जोडिएको बताउँदै आएका छन्।
यसैबीच, श्रम संस्कृति पार्टीले मंगलबारको बैठकबाट बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने तथा सुदन किराती समूहसँग भएको एकतालाई अनुमोदन गर्ने निर्णय गरेको समाचार सार्वजनिक भएको छ।
किरातीको पछिल्लो सन्देशले भने पार्टीभित्रको असन्तुष्टिबीच व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा माथि उठेर संस्थागत एकता र सामूहिक निर्णय प्रक्रियालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ। अब भोलिको बैठकमा किराती समूहको सहभागिता र त्यसपछि पार्टीभित्रको विवाद कसरी सम्बोधन हुन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।




















