इटहरीः १९औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर सुनसरीको इटहरीमा नरबहादुर कर्माचार्य स्मृति पुस्तकालयको शुभारम्भ गरिएको छ।

इटहरी–३, याक्थुम चोकस्थित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको आफ्नै भवनमा स्थापना गरिएको पुस्तकालयको शुभारम्भ भाद्र १५ गते गरिएको हो। पुस्तकालय स्थापनासँगै इटहरीजस्तो पूर्वको उदाउँदो सहरमा अध्ययन, अनुसन्धान, पठन संस्कृति तथा बौद्धिक गतिविधिलाई थप प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ।

पुस्तकालयको व्यवस्थापन नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले गर्ने प्रतिष्ठानका अध्यक्ष एकचन्द्र बरालले जानकारी दिनुभयो। उहाँका अनुसार पुस्तकालयलाई अध्ययन तथा अनुसन्धानमा रुचि राख्ने विद्यार्थी, शिक्षक, लेखक, अनुसन्धानकर्ता तथा सर्वसाधारणका लागि उपयोगी अध्ययन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

पुस्तकालय शुभारम्भ कार्यक्रममा संविधानसभा सदस्य अनिता परियार, इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरी, नागरिक अभिनन्दित व्यक्तित्व लेखनाथ घिमिरे, प्रा।डा। बद्रीविशाल पोखरेल, शिक्षासेवी ज्ञानेन्द्र दाहाल, डा। खगेन्द्र ओली, इटहरी–३ का वडाध्यक्ष उमेश सुवेदी, लेखक मोहन तिम्सिना, गीतकार गायत्री लम्साल, पुण्य चौलागाईं, समाजसेवी सुभद्रा प्याकुरेल, ज्ञान किराँती, रमेश खत्री तथा सञ्चारकर्मी एवं अध्येता हिमाल दाहाललगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको बृहत् उपस्थिति रहेको थियो।

5b74d26d-c657-4f16-b1d9-efd45bd313d5

कार्यक्रममा सहभागीहरूले पुस्तकालयलाई केवल पुस्तक पढ्ने स्थानका रूपमा सीमित नराखी ज्ञान, विचार, अध्ययन र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए। स्थानीयस्तरमा पठन संस्कृतिको विकाससँगै विद्यार्थी तथा नयाँ पुस्तालाई पुस्तक र ज्ञानसँग जोड्न यस्ता पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको धारणा थियो।

नरबहादुर कर्माचार्यको स्मृतिमा स्थापना गरिएको पुस्तकालयले इटहरीको शैक्षिक तथा बौद्धिक वातावरण निर्माणमा दीर्घकालीन योगदान पुर्‍याउने विश्वास गरिएको छ। पछिल्लो समय डिजिटल माध्यमको प्रयोग बढ्दै गए पनि पुस्तक तथा पुस्तकालयको महत्व कायमै रहेको भन्दै पुस्तकालयलाई समयअनुकूल प्रविधिसँग जोड्दै थप व्यवस्थित र स्रोतसम्पन्न बनाउने आवश्यकता पनि औँल्याइएको छ।

राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा भएको पुस्तकालय शुभारम्भले इटहरीमा पठन संस्कृति, ज्ञानको आदानप्रदान, अनुसन्धान र बौद्धिक बहसको वातावरण निर्माण गर्ने नयाँ आधार तयार गरेको आयोजकको विश्वास छ।

b007007e-ff44-46ce-8c9c-148753748dc0