चिलिमेमा सम्पर्कविहीन राष्ट्रसेवकका परिवारसँग मन्त्री श्रेष्ठको भेट, ‘सरकार तपाईंहरूको साथमा छ’
इटहरीः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चिलिमे जलविद्युत् परियोजनामा सम्पर्कविहीन रहेका राष्ट्रसेवकका परिवारजनसँग भेट गरी दुःखको यस घडीमा सरकार उनीहरूको साथमा रहेको बताएका छन्।
परिवारजनसँगको भेटमा मन्त्री श्रेष्ठले एक सातासम्म आफन्तको अवस्थाबारे कुनै जानकारी नपाउँदाको पीडा अत्यन्त गहिरो हुने भन्दै त्यसलाई शब्दमा व्यक्त गर्न नसकिने बताए। सम्पर्कविहीन नागरिक तथा राष्ट्रसेवकको अवस्थाबारे जानकारी पाउन नसक्दा सरकारसमेत उत्तिकै मर्माहत रहेको उनको भनाइ थियो।
“हरेक जीवन अमूल्य छ। एउटा पनि जीवनको खोजीमा राज्यले कुनै कसर बाँकी राख्नु हुँदैन र राखेको पनि छैन,” मन्त्री श्रेष्ठले भने।
उनका अनुसार सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र, दक्ष जनशक्ति, प्रविधि तथा उपलब्ध स्रोतसाधन परिचालन गरिएको छ। उद्धार प्रयासमा प्रविधि, दक्ष जनशक्ति र स्रोतको कुनै कमी हुन नदिइएको स्पष्ट पार्दै उनले एक सातासम्म पनि अपेक्षित परिणाम प्राप्त हुन नसक्दा चिन्ता बढ्दै गएको बताए।
मन्त्री श्रेष्ठले कठिन परिस्थितिका बाबजुद खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको उल्लेख गर्दै परिवारजनलाई धैर्य नगुमाउन आग्रह गरे।
“हामी अन्तिम सम्भावनासम्म प्रयास गरिरहनेछौँ। अझै आशा मार्ने बेला भएको छैन। प्रयास र प्रार्थना सँगसँगै गरौँ, आशा जीवित राखौँ,” उनले भने।

उनले सरकार आफ्ना नागरिक तथा राष्ट्रसेवकका परिवारसँगै रहेको उल्लेख गर्दै यस्तो कठिन घडीमा परिवारलाई एक्लो महसुस हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
सबै सम्भावित उपायबाट खोजी जारी
भेटका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले सरकारका विभिन्न निकायबीच समन्वय र सहकार्य गर्दै सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धार कार्य अघि बढिरहेको जानकारी दिइन्।
नागरिकको जीवन रक्षा गर्नु सरकारको प्रमुख दायित्व भएकाले उपलब्ध सबै उपाय र स्रोतसाधनको प्रयोग भइरहेको उनको भनाइ थियो।
सरकारी निकाय, सुरक्षा संयन्त्र, प्राविधिक जनशक्ति तथा सम्बन्धित आयोजनाबीच समन्वय गरी खोजीलाई प्रभावकारी बनाउने प्रयास भइरहेको उनले परिवारजनलाई जानकारी गराइन्।
कम्पनीका तर्फबाट पनि आवश्यक प्रयास
चिलिमे जलविद्युत् कम्पनीका अध्यक्षसमेत रहेका नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायू कुमार श्रेष्ठले हालसम्म भइरहेका खोजी तथा उद्धार प्रयासबारे परिवारजनलाई जानकारी गराए।
उनले सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन कम्पनीका तर्फबाट आवश्यक सबै प्रयास भइरहेको बताए।
भेटका क्रममा परिवारजनले सम्पर्कविहीन आफन्तको अवस्थाबारे यथाशीघ्र जानकारी पाउनुपर्ने, खोजी कार्यलाई थप तीव्र बनाउनुपर्ने तथा सरकारका सबै संयन्त्रबीच प्रभावकारी समन्वय हुनुपर्ने अपेक्षा राखेका थिए।
सम्पर्कविहीन व्यक्तिको अवस्थाबारे अहिलेसम्म ठोस जानकारी प्राप्त हुन नसके पनि सरकारले खोजी कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ। परिवारजनलाई आशा कायम राख्न आग्रह गर्दै मन्त्री श्रेष्ठले सम्भावित सबै उपाय प्रयोग गरेर खोजी जारी राख्ने प्रतिबद्धता दोहोर्याएका छन्।




















