इटहरीः सप्तकोशी नदीमा पानीको बहाव बढी भएसँगै कोशी ब्यारेजमा जलसतह खतराको तह पार गरेको छ । बिहिबार विहान राती साँझ १ः १५ बजेको पछिल्लो मापन अनुसार कोशी ब्यारेज भएर २ लाख २७ हजार २ सय ३० क्युसेक पानी बहिरहेको जनाएको छ ।
सप्तकोशीमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै नियन्त्रणका लागि ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खोलिएका छन् । जलसतह खतराको बिन्दु भन्दा माथि पुगेपछि स्थानीय प्रशासन तथा प्राविधिक टोलीले उच्च सतर्कता अपनाएका छन् ।
कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई सचेत गराउन खतराको सङ्केत स्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ ।
नदीमा पानीको बहाव उच्च रहेकाले कोशी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सजग रहन र उच्च सतर्कता अपनाउन स्थानिय प्रशासनले अनुरोध गरिएको छ । प्रशासनले नदी किनार आसपास नजान र त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।




















