इटहरीः प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले उपलब्ध स्रोत–साधनको प्रयोग गरी सरकार अहोरात्र प्रभावित क्षेत्रमा खटिरहेको बताएका हुन्।
प्रधानमन्त्री शाहका अनुसार बाढीपछि हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको छ। विपद्का कारण १ हजार २५९ जनाले ज्यान गुमाएका छन् भने ५ हजार ८३ जना अझै सम्पर्कविहीन रहेको उनले बताएका छन्। सम्पर्कविहीन नागरिकको खोजी कार्य निरन्तर भइरहेको छ।
प्रभावित नागरिकलाई सुरक्षित राख्न विभिन्न स्थानमा होल्डिङ सेन्टर सञ्चालन गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। उनका अनुसार नुवाकोटका २४ होल्डिङ सेन्टरमा २ हजार ७९६ जना, रसुवाका पाँच केन्द्रमा १९५ जना र काठमाडौंका दुई केन्द्रमा रसुवाका प्रभावित क्षेत्रका ३०० जना बसोबास गरिरहेका छन्। रसुवाका विभिन्न क्षेत्रमा रहेका करिब ४ हजार ५०० नागरिकलाई दैनिक हेलिकप्टरमार्फत राहत सामग्री पुर्याइरहेको पनि उनले बताएका छन्।
पूर्वाधार पुनःस्थापनालाई प्राथमिकता
बाढीबाट क्षतिग्रस्त सञ्चार, विद्युत्, खानेपानी, सडक, पुल, स्वास्थ्य तथा शैक्षिक संस्थालगायतका पूर्वाधार पुनःस्थापनालाई सरकारले प्राथमिकतामा राखेको प्रधानमन्त्री शाहले बताएका छन्। उनका अनुसार प्रभावित क्षेत्रमा सञ्चार सेवा र ५।७७ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुर्याउन बाँकी छ।
गल्छी–मुग्लिन सडकखण्डको कृष्णभीरमा सडक सञ्चालन गर्न रुख कटान तथा भित्ता काटेर ट्रयाक खोल्ने काम सुरु भएको उनले बताएका छन्। भदौभित्र उक्त सडकखण्डमा यातायात सञ्चालन गर्ने लक्ष्य रहेको उनको भनाइ छ। परेवाभीरमा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा आइसकेको र स्तरोन्नतिको काम भइरहेको छ।
त्यस्तै, त्रिशूली–वेत्रावती सडकखण्डको १० किलोमिटरमध्ये ८ किलोमिटरबाट लेदो हटाइसकिएको र बाँकी दुई किलोमिटरमा काम भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्। थप क्षतिग्रस्त ३५ किलोमिटर सडक मर्मतका लागि आपत्कालीन बोलपत्र आह्वान गरिएको छ।
तादीमा बेलिब्रिज राख्न फाउण्डेसन निर्माण सुरु भएको तथा बेत्रावतीमा पनि सर्वेक्षणपछि फाउण्डेसन निर्माण भइरहेको उनले जानकारी दिएका छन्। त्रिशूलीमा १२० मिटर लामो बेलिब्रिज आवश्यक देखिएको भन्दै बेलायतसँग ७० मिटरभन्दा लामो र डबल लेन भएका १० वटा बेलिब्रिज अनुदानमा उपलब्ध गराउन अनुरोध गरिएको उनले बताएका छन्।
विदेशी विज्ञसहित जलविद्युत् आयोजनामा खोजी
बाढी प्रभावित जलविद्युत् आयोजनामा मानिस फसेको आशंकामा खोज तथा उद्धार जारी रहेको प्रधानमन्त्री शाहले बताएका छन्। नेपाली सेनाको नेतृत्वमा भारत, चीन र कोरियाका विज्ञहरू समेत प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिएको उनले उल्लेख गरेका छन्।
चीनको केरुङमा फसेका नेपाली नागरिक तथा व्यवसायीमध्ये ११४ जनालाई तातोपानी नाका हुँदै नेपाल ल्याउन सहजीकरण भइरहेको र मालवाहक कन्टेनरलाई कोरला नाकाबाट ल्याउने तयारी भइरहेको उनले बताएका छन्।
जलवायु परिवर्तनप्रति विश्व समुदायको ध्यानाकर्षण
प्रधानमन्त्री शाहले भोटेकोशी बाढीलाई जलवायु परिवर्तनसँग जोड्दै हिमालय क्षेत्रमा यसको गम्भीर प्रभाव देखिएको बताएका छन्। हिमाल पग्लिँदै जाँदा त्यसको असर हिमालय क्षेत्रमा मात्रै सीमित नरही समुद्री तटसम्म पुगिरहेको उनको भनाइ छ।
उनले यस्तो विपद्को जवाफ नेपालले विश्व समुदायसँग खोज्नुपर्ने र मानव सभ्यताप्रति समेत आफ्नो जिम्मेवारी रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय सहयोग जारी
प्रधानमन्त्रीका अनुसार बाढीपछि विभिन्न मित्रराष्ट्रबाट राहत तथा उद्धारका लागि सहयोग प्राप्त भइरहेको छ। भारतले पाँच चरणमा ७४ टन राहत तथा उद्धार सामग्री, चीनले ३० करोड रुपैयाँ र ५० टन राहत सामग्री उपलब्ध गराइसकेको उनले बताएका छन्।
त्यस्तै, पाकिस्तानबाट ८६ टन, यूएईबाट ८३ टन, कतारबाट ४० टन राहत सामग्री प्राप्त हुँदैरभइसकेको तथा विभिन्न देशले आर्थिक सहयोगको प्रतिबद्धता जनाएका छन्। बेलायतले ५ मिलियन पाउण्ड, युरोपेली संघले २ मिलियन युरो, अमेरिकाले ५ लाख अमेरिकी डलर र अष्ट्रेलियाले १ मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रधानमन्त्री शाहले बताएका छन्।
विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा तथा एसियाली विकास बैंक (एडीबी) बाट बजेटरी सहयोग र प्राविधिक सहायताका लागि थप रकम उपलब्ध गराउने प्रतिबद्धता आएको पनि उनले जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहले सरकार, प्रदेश तथा स्थानीय तहको समन्वयमा उद्धार, राहत र पुनःस्थापनाको काम अघि बढिरहेको बताउँदै नेपाल यो विपद्बाट चाँडै उठ्ने विश्वास व्यक्त गरेका छन्।




















