इटहरीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, वितरण केन्द्र इटहरीमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादवलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

आयोगका अनुसार इटहरी उपमहानगरपालिका–८ स्थित वितरण केन्द्र इटहरीमा कार्यरत सातौँ तहका इन्जिनियर यादवले गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत् लाइन जडानका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुसररिसवत माग गरेको सूचना एवं उजुरी प्राप्त भएको थियो।

उक्त सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट घुसबापत ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा भदौ १७ गते इटहरी उपमहानगरपालिका–९ बाट नियन्त्रणमा लिएको हो।

a614e346-a299-4c3d-a9fa-f5ee15360e74

अख्तियारका अनुसार यादवको साथबाट घुसबापत लिएको ५० हजार रुपैयाँका अतिरिक्त स्रोत नखुलेको १२ हजार ८५ रुपैयाँ समेत बरामद गरिएको छ। यसरी उनको साथबाट कुल ६२ हजार ८५ रुपैयाँ बरामद भएको आयोगले जनाएको छ।

पक्राउ परेका यादवविरुद्ध घुसररिसवत तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ। आयोगका अनुसार भदौ १८ गते विशेष अदालतको आदेशबाट म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।