इटहरीः भोटेकोशी बाढीको नवौँ दिन दुई जलविद्युत् आयोजनाका सुरुङमा फसेका तीन व्यक्तिलाई मृत अवस्थामा निकालिएको छ । बिहीबार लाङटाङ जलविद्युत्को सुरूङबाट दुई र माथिल्लो त्रिशूली १ को सुरुङबाट एकजनाको शव निकालिएको हो । सरकारले सम्बन्धित परियोजना सञ्चालकलाई पनि उद्धारमा अनुमति दिएपछि खटिएका प्राविधिकको सहयोगमा सेनाले उनीहरूको उद्धार गरेको हो । सुरुमा सरकारले विदेशी विज्ञ र परियोजना सञ्चालकलाई उद्धारमा अनुमति दिएको थिएन ।
लाङटाङमा बुधबारदेखि परियोजनाका प्राविधिकलाई उद्धारमा परिचालन गरिउको थियो । प्राविधिककै निर्देशअनुसार पेनस्टक पाइपमार्फत तत्काल सुरुङमार्ग जाने प्वाल बनाइएकोमा सोही दिन श्रमिक बसेको ठाउँको संकेत प्राप्त भएको थियो । त्यहिँबाट बिहीबार दुई शव निकालिएको हो ।
परियोजनाका प्रवर्द्धक मल्टी इनर्जी डेभलपमेन्ट प्रालिका प्रबन्ध निर्देशक बिजयमोहन भट्टराईले उद्धारमा सरकारले बेलैमा अनुमति दिएको भए सकारात्मक अतिजा आउने सम्भावना रहेको बताए । ‘उद्धारमा हाम्रो प्राविधिकहरूलाई सुरुदेखि नै आवद्ध गरेको भए सकारात्मक नतिजा आउने सम्भावना थियो । बिहीबार दुई शव निकालियो, यो दुःखद छ,’ उनले भने, ‘दक्ष प्राविधिकहरूले पेनस्टक पाइप काटेर बाटो बनाएपछि सेना र प्रहरीको टोली उद्धारका लागि सुरूङ छिर्न सकेको हो ।’ अझै ३९ जना सम्पर्कविहीन रहेको यो परियोजनाको टनेलमा विदेशीसहित २५ जनाको उद्धार टोलीले खोजी गरिरहेको छ ।
त्यस्तै, माथिल्लो त्रिशुली १ मा परियोजनाकै तीन इन्जिनियरको उपस्थितिमा खोजी भएकोमा बिहीबारै एउटा शवको उद्धार भएको छ । ‘आयोजनाका तीन इन्जिनियरसहित एक्सेस टनेल १ बाट रबर बोट लिइ डिसेन्टर बेसिन एन्सेस इलाकाको करिब २०० मिटर गएपश्चात टनेलको बन्द भाग फेला परेको र एक शव फेला परेको छ,’ सेनाले भनेको छ । खोजी जारी रहेको यआयोजनाको सुरूङमा तीन सय भन्दा धेरै फसेको अनुमान छ । यहाँ बुधबार आएका ४४ सदस्यीय कोरियाली विज्ञ टोली पनि बिहीबारदेखि खटिएको छ ।
माथिल्लो त्रिशुली ३ ‘ए’ को सुरूङमा उद्धार टोली ३० मिटरसम्म पुगेको छ । सेनाका अनुसार यहाँ ९३ जना उद्धछार टोली खोजीमा सक्रिय छ । ४२ जना सम्पर्कविहीन भएको यो परियोजनाको सुरूङमा मात्रै ३५ जना फसेको अनुमान छ । त्यस्तै, माथिल्लो त्रिशुली ३ ‘बी’मा उद्धार टोली अडिट टनेलबाट ४२६ मिटरसम्म पुगेको छ । ‘माथिल्लो त्रिशूली ३ ‘बी’मा नेपाली सेनाको ८९, गैरसैनिक ३ र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी उक्त इलाकासम्म पुग्न एक्स्काभेटरबाट बाटो बनाउन बोबकटको प्रयोग गरी खन्ने तथा माटो पन्छाउने कार्य भइरहेको छ,’ सेनाले भनेको छ ।
चिलिमेमा भने विदेशीसहितको संयुक्त टोलीले खोजी गरिरहे पनि उल्लेख्य प्रगति छैन । मैलुङ खोलामा पनि हराएकाहरूको कुनै पत्तो लाग्न सकेको छैन । आयोजना म्यानेजर विनय चिपालुले विद्युतगृह बाढीमा बगेकाले कर्मचारीहरू बाढीमै परेको हुनसक्ने बताए ।
रसुवागढी जलविद्युत् आयोजनामा खोजी जटिल बनेको छ । नदीको पानीको सतह बढेर भूमिगत विद्युत्गृह प्रवेश गर्ने सुरूङको मुखनजिकै हेलिकोप्टर अवतरण गर्न सकिएको छैन । आयोजना प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनीका अनुसार शुक्रबार पर्वतारोही शेपाहरूको समूह परिचालन गरी खोजी कार्यलाई थप तीव्र पार्ने तयारी छ । यसबाहेक रसुवा भोटेकोशी, त्रिशुली, देवीघाट, मिडल त्रिशुली, त्रिशुली ३ ‘बी’ हब सबस्टेसन, चिलिमे त्रिशुली प्रशारण लाइन र रसुवा वितरण केन्द्रका सम्पर्कविहीनको पनि पत्तो लाग्न सकेको छैन । यो खबर आजको नयाँपत्रिका दैनिकबाट लिइएको हो ।




















