इटहरीः विपतका वेला आयल निगमकै मिलेमतोमा उद्योगीहरूले ग्यासको भाउ बढाएका छन् । प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँमा बिक्री हुँदै आएको ग्यासको भाउ १०५ रुपैयाँ १८ पैसाले वृद्धि गरेर २१ सय ६५ रुपैयाँ १८ पैसा पुर्‍याइएको छ । यो मूल्य काठमाडौं उपत्यकामा आज (शुक्रबार)देखि लागू हुँदै छ । 

विगतमा ग्याससहित पेट्रोलियम पदार्थको मूल्य निर्धारण (थपघट) आयल निगमले गर्दै आएको थियो । निगमले नै मूल्यसहितको सूची सार्वजनिक गरेपछि उद्योगी र उपभोक्तामा लागू हुन्थ्यो । तर, अहिले निगमले होइन, उद्योगीले नै विज्ञप्ति जारी गरेर ग्यासको मूल्य बढाएको घोषणा गरेका हुन् । यसप्रति सरकार, उद्योगमन्त्री र आयल निगमले कुनै औपचारिक वक्तव्य दिएका छैनन् । यसले विपत्का वेला उद्योगीलाई मनोमानी गर्न सरकार र निगमकै साथ रहेको पुष्टि गर्छ ।

नियमित ढुवानी भइरहेको मुग्लिन–नागढुंगा सडक धादिङखण्डका कृष्णभिरलगायत ठाउँमा पहिरोले पूर्ण अवरोध भएपछि ग्यास ढुवानी हेटौँडा हुँदै त्रिभुवन राजपथबाट हुन थालेको छ । मुग्लिनको बाटो चल्दा ठुला बुटेलमा ग्यास ल्याइने गरेकामा त्रिभुवन राजपथबाट तराईमै सिलिन्डरमा रिफिल गरेर साना गाडीमा लोड गरेर ल्याउन थालिएको छ । यसले ढुवानी खर्च बढेको भन्दै उद्योगीले मूल्य बढाएको बताएका छन् । यसका लागि बिहीबार दिउँसो काठमाडौंमा ग्यास उद्योगीको भेला भएको थियो । ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले ढुवानी बढेको तुलनामा मूल्यवृद्धि अझ कम भएको दाबी गरे । उनले प्रतिसिलिन्डर ढुवानी लागत एक सय ८० रुपैयाँ बढेको, तर उपभोक्ताले तिर्ने मूल्य एक सय पाँच रुपैयाँ मात्र बढाइएको बताए । 

‘बुलेटमा ल्याउँदाको तुलनामा सिलिन्डरमा ट्रकमार्फत ओसार्दा लागत धेरै नै पर्ने भयो । त्यसपछि जिल्ला प्रशासन कार्यालय, मकवानपुरको समन्वयमा तराईबाट काठमाडौंसम्म ग्यास ढुवानी गर्नका लागि बैठक बसेको थियो । सोही बैठकबाट तय भएको भाडादर लागू गरेर काठमाडौंसम्म ग्यास ओसार्न थालिएको छ,’ घिमिरे भने, ‘सहमतिअनुसार काठमाडौंसम्मको ढुवानी भाडा कम्तीमा ८० हजार ९मूल्य अभिवृद्धि करबाहेक० दिने निर्णय भएको छ । यो भनेको प्रतिसिलिन्डर कम्तीमा एक सय ८० रुपैयाँ भाडा उठ्छ । हामीले अन्य खर्च र घाटासमेत व्यहोर्ने गरी प्रतिसिलिन्डर एक सय पाँच रुपैयाँ ३८ पैसा मात्रै उपभोक्तालाई तिराउने गरी मूल्य समायोजनको निर्णय गरेका हौँ ।’

भोटेकोशी बाढीअघि नै काठमाडौंमा हाहाकार रहेको ग्यास सहज अवस्थामा फर्किएको थिएन । बाढीले राजमार्गमा क्षति पुर्‍याएपछि ढुवानी थप बिथोलिएसँगै दुई दिनयता डिपोहरूमा फेरि रित्ता सिलिन्डरका लाइन लाग्न थालेका छन् । यही संकटलाई मौकाका रूपमा लिँदै उद्योगीले मूल्यवृद्धि गरेका हुन् । 

उद्योगी घिमिरेले ग्यास नै नपाउने स्थिति बन्नुभन्दा अलि बढी मूल्य तिरेर ग्यास पाइन्छ भने उपभोक्ता खुसी नै हुने तर्क गरे । ‘बाटो बन्द भएकाले ग्यास नै नपाउने स्थिति छ । यो हुनुभन्दा केही बढी मूल्य तिरेर ग्यास पाउनेतर्फ उपभोक्ताले सोच्नुहुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘पुरानै रागमार्गबाट ढुवानी हुन थालेपछि फेरि पुरानै दरमा ग्यास पाइन्छ । हाम्रो विचारमा १०–१५ दिनमा पृथ्वी राजमार्ग सञ्चालनमा आइहाल्छ ।’ अहिलेको मूल्यवृद्धिपछि पनि उद्योगी भने अझै घाटामै हुने उनको दाबी छ ।

मूल्य बढाउनैपर्ने अवस्थामा निगमले नै निर्णय लिनुपर्ने नियम तोडेर उद्योगीलाई आफूखुसी गर्न दिएकोप्रति गम्भीर प्रश्न उठेको छ । तर, उद्योगीलाई भाउ बढाउन सहजीकरण भने निगमले मंगलबारै गरिदिएको थियो । निगमले विज्ञप्ति नै निकालेर उद्योगभन्दा ५० किलोमिटर टाढा सिलिन्डर ढुवानी गर्दा लागतअनुसार मूल्य बढाउन सक्ने सहमति दिएको थियो । निगमका कार्यकारी निर्देशक नागेन्द्र साह भन्छन्, ‘उद्योगको ५० किलोमिटरभन्दा परको दूरीमा बिक्री हुने ग्यासको भाउ ढुवानी लागतअनुसार समायोजन गर्न पाउने उद्योगीलाई अधिकार छ । त्यही अधिकार अहिले प्रयोग भएको हुन सक्छ । तर, सकेसम्म यस्तो विपत्को वेला धेरै भाउ बढ्ने गरीचाहिँ मूल्य समायोजन नगर्नुस् भनेर हामीले निर्देशन दिएका छौँ ।’ तर, यसअघि निगमले पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यासको भाउ निर्धारण गर्दा देशभर एउटै भाउ निर्धारण गर्थ्यो ।

आयल निगमले दुई दिनअघि नै दिएको थियो स्वीकृति

आयल निगमले ग्यासको भाउ बढाउन दुई दिनअघि नै स्वीकृति दिएको थियो । निगमले पेट्रोलियम पदार्थको मूल्य आगामी १५ दिनलाई यथावत् राखेको जानकारी दिन मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा एलपी ग्यासको हकमा उद्योगदेखि ५० किलोमिटरसम्मका लागि दुई हजार ६० रुपैयाँ प्रतिसिलिन्डर मूल्य कायम गरिएको उल्लेख थियो । यसको अर्थ, ग्यास उद्योगदेखि ५० किलोमिटरभन्दा टाढाका उपभोक्तालाई भने ढुवानी लागतअनुसार मूल्य तोक्न स्वीकृति दिएको थियो । त्यसअघिका कुनै पनि विज्ञप्तिमा निगमले ग्यासको भाउ ५० किलोमिटरभन्दा परको दूरीमा ढुवानी लागतअनुसार निर्धारण हुनेबारे उल्लेख गरेको पाइँदैन । 

निगमले मंगलबार साँझ यस्तो विज्ञप्ति निकाल्नुअघि आइतबार कृष्णभिरमा पहिरो गएकै दिन ग्यास उद्योगीसँग छलफल गरेर तराईका बोटलिङ प्लान्टमा सिलिन्डर भरेर वैकल्पिक मार्गबाट ग्यास ल्याउन छलफल गरेको थियो । उक्त छलफलमा पनि निगम अधिकारीहरूले ढुवानी लागतअनुसार ग्यासको भाउ समायोजन गर्न दिने संकेत गरेका थिए । निगमले ढुवानी लागत जोडेर मूल्य तोक्न स्वीकृति दिएपछि मात्रै उद्योगीहरू तराईबाट ग्यास ल्याउन तयार भएका थिए । यो खबर आजको नयाँपत्रिका दैनिकबाट लिइएको हो ।