इटहरीः थाइल्यान्डबाट हुलाकमार्फत नेपाल भित्र्याइएको करिब १ किलो ९१० ग्राम थाई गाँजासहित धरानबाट चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई महिला र दुई भारतीय नागरिक रहेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार भदौ ९ गते थाइल्यान्डबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै इटहरी पठाउन लागिएको एउटा पार्सल शंकास्पद देखिएपछि लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय डिल्लीबजारबाट खटिएको टोलीले जाँच गरेको थियो। जाँचका क्रममा पार्सलभित्र लुकाएर राखिएको ९१० ग्राम थाई गाँजा फेला परेको थियो।
पार्सल पठाउने तथा प्राप्त गर्ने व्यक्तिसम्म पुग्न प्रहरीले बरामद सामग्रीसहितको पार्सललाई निगरानीमा राखेर पठाउने रणनीति अपनाएको थियो। सोही क्रममा भदौ १६ गते पार्सल बुझेर लैजाने क्रममा धरान–२० की १९ वर्षीया जेसिका तामाङ र धनकुटा, छथरजोरपाटी–२ की २५ वर्षीया तारा मगर पक्राउ परेका हुन्।

पक्राउ परेका दुवै महिलाले प्रयोग गर्दै आएको धरान–१५, मिलनपथस्थित डेरामा प्रहरीले खानतलासी गर्दा थप १ किलो थाई गाँजा बरामद गरेको जनाएको छ। बरामद गाँजासहित दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको थियो।
अनुसन्धानका क्रममा उक्त गाँजा लिन आएका भारतीय नागरिकसमेत संलग्न रहेको खुलेपछि प्रहरीले उनीहरूको खोजी तीव्र बनाएको थियो। सोही क्रममा लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले भदौ १९ गते धरान–८ बाट भारतको केरलका २४ वर्षीय सारोन सुनिल तिया र २२ वर्षीय अमल आरलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार हुलाकमार्फत थाइल्यान्डबाट ल्याइएको गाँजा धरानसम्म पुर्याउने तथा प्राप्त गर्ने कार्यमा संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको छ। घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय धरान र लागुऔषध नियन्त्रण ब्यूरोले संयुक्त रूपमा गरिरहेको जनाएको छ।




















